झापा/ च्याउमा पाइने र्याटिन नामक पोषण पदार्थले क्यान्सरसँग लड्न सक्ने क्षमता वृद्धि गर्ने प्राविधिकले बताएका छन् ।

च्याउमा क्यान्सरसँग लड्ने क्षमतावृद्धि तथा प्रोटिन, भिटामिन, खनिज पदार्थ र र्याटिन भन्ने पोषण तत्व पाइने गरेको छ । यसले क्यान्सर रोग लाग्नबाट रोक्न मदत गर्छ । च्याउ बालबालिका, महिला, वृद्धवृद्धा र बिरामीहरूको स्वास्थ्यका लागि धेरै नै उपयोगी हुने प्राविधिकहरूको भनाइ छ । कृषि विकास कार्यालय झापाका पूर्व बाली संरक्षक अधिकृत राजेन्द्र खरेलले माछा, मासु तथा अन्य गेडागुडीमा नपाइने प्रोटिन च्याउमा पाइने भएकाले च्याउ सेवन गर्न सबैलाई आग्रह गरे ।

पोषणको कमीले उमेर कम हुने र महिला तथा बालबालिकाको स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई च्याउ सेवन गर्नाले नियन्त्रण गर्न सकिने सहारा नेपालका कृषि प्राविधिक लक्ष्मी भण्डारीले जानकारी दिए । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रद्वारा झापाको अर्जुनधारास्थित बिहीबारे सामुदायिक भवनमा आयोजित २ दिने च्याउ खेती प्रविधि तालिमका क्रममा पूर्व बाली संरक्षक अधिकृत खरेलले सो कुरा जानकारी गराएका हुन् ।

जाडो मौसम च्याउ उत्पादनका लागि उपयुक्त हुने सहारा नेपाल लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले बताए । बजारमा प्रतिकेजी च्याउ २ सय रुपैयाँ रहेको बताउँदै महिलाहरूलाई आयआर्जन गर्ने र व्यवसायी बनाउने उदेश्यले तालिमको आयोजना गरेको प्रमुख भारतीको भनाइ छ । तालिममा ३२ जना संस्थाका शेयर सदस्य र लघुवित्तका सदस्यको सहभागिता रहेको थियो ।