धरान/ सङ्घाई उपनामले परिचित धरानलाई प्रजातान्त्रिक दलले ६ दशकपछि भत्काउन सफल भएको छ ।

बाम नेता केदारनाथ खनालले २०१७ सालमा पहिलो पटक मेयरमा निर्वाचित भएपछि वीजारोपण भएको ‘बाम किल्ला’ लाई तिलक राईको नेतृत्वको नेपाली काङ्ग्रेसले तोड्न सफल भएको हो । पहिलो पटक बाम विरासत तोड्ने क्रममा नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले काङ्ग्रेस उम्मेदवार तिलक राईले पराजित गरे । तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गर्दा प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरे । तिलक राईले धरानमा ऐतिहासिक जित हासिल गरेका छन् ।

जुन २०७४ को स्थानीय तहको निर्वाचनमा मेयर तारा सुब्बाले ल्याएको मतभन्दा २ हजार ९ सय ३९ मतले बढी हो । तर, यसपटक २०७४ को चुनावभन्दा १३ हजार ५ सय ६३ मत बढेको थियो । ९२ हजार ८ सय ५३ कुल मतको ५९ प्रतिशत मत खसेकोमध्ये ४३.६० प्रतिशत मत नेकपाले प्राप्त गरेको हो । काङ्ग्रेसका उम्मेदवारले ४८.७० प्रतिशत मत प्राप्त गरेको हो । यस उपनिर्वाचनमा ५४ हजार ८ सय ४८ मत खसेको थियो । पञ्चायतकालमा पनि जनपक्षीय मेयर जित्दै आएको धरानमा २०३६ को जनमत सङ्ग्रहपछि भने ‘लाल किल्ला’ को परिभाषा थप सार्थक बन्दै गएको थियो ।

त्यो कालमा २०४२ सालमा जनपक्षीय मेयर निर्वाचित भएका बम देवानले त्यो कालखण्डमा पनि ९ हजार ५ सय मत प्राप्त गरेका थिए । उनीपछि २०४८ सालमा साविक एमालेबाट ध्यानबहादुर राई, मनोजकुमार मेन्याङ्बोले बाम विरासतलाई निरन्तरता दिएका थिए । स्थानीय तहमा मात्रै नभई केन्द्रीय तहको निर्वाचनमा पनि बाम वर्चश्वमाथि धावा बोल्न सकेको छैन । पछिल्लो निर्वाचनमा पनि प्रदेश तथा प्रतिनिधिसभामा पनि बामबाटै जित हासिल गरेका थिए । २०७४ को निर्वाचनमा मेयर तारा सुब्बाले काङ्ग्रेसबाट मेयरका प्रत्यासी रहेका तिलक राईलाई ४ हजार ८ सय ७३ मतान्तरले पराजित गरेका थिए । तर, उनको २०७५ साउन १ गते निधन भएपश्चात् रिक्त रहेको मेयर पदका लागि उपनिर्वाचन भएको हो ।

नेपालको सङ्घाई उपनाम पाएको धरानमा काङ्ग्रेसले पहिलो पटक किल्ला भत्काउन सफल भएको छ । तर, मेयरमा निर्वाचित तिलक राईले स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष नहुने भएकाले धरानको विकासमा आफू लागिपर्ने प्रतिबद्धता गरेका छन् । राजनीतिक विश्लेषकहरू भने धरानको विद्रोही स्वभाव फेरि एकपटक प्रस्तुत गरेको बताउँछन् । जनपक्षीय मेयर बनेका बम देवान भने, ‘लठ्ठी उठाएर पनि जित्छ’ भन्ने भ्रम र ‘ओभर स्टिमेट’ का कारणले नेतृत्व पराजित भएको हो ।’ उनले त्यो मानसिकता तोड्न नेतृत्व तहलाई आग्रह गरे । विद्रोही स्वभावकै कारण पनि धरान विकासमा सधैँ पछि पर्दै आएको छ । हरेक पटक विपक्षी पार्टीपङ्क्तिले जित्दै आएको छ । यसपटक पनि त्यही घटना दोहोरिएको छ । किनकी सत्ता नेकपाको पक्षमा छ भने धरानमा प्रतिपक्षले नेतृत्व गरेको छ ।

ऐतिहासिक जितपछि काङ्ग्रेसले विजय जुलुस निकालेको छ । निर्वाचन अधिकृतको कार्यालय धरानले जितको प्रमाण–पत्रपछि पद तथा गोपनीयताको शपथ ग्रहणपश्चात् नै धरान–१५ पुष्पलाल मार्ग हेर्नलायक बनेको थियो । चारतारे अङ्कित झण्डा बोकेका समर्थकहरू नाराबाजीसहित नगर परिक्रमा गर्दै निर्वाचित मेयर तिलक राईको घरमा पुगेर टुङ्गिएको थियो । उनले आफ्नो मात्रै जित नभई धरानको जित भएको बताएका थिए । यता धरान–७ मा भने नेकपाका जीवनराज सुवेदीले १ मतान्तरले विजयको पताका फह¥याएका थिए ।

सुवेदीले ६ सय २२ मत प्राप्त गर्दा काङ्ग्रेसका उम्मेदवार सुवर्णमोहन पलिखेले ६ सय २१ मत प्राप्त गरेका थिए । उक्त जित निकै रोमाञ्चक बनेको थियो । केही समय अघिसम्म अनौपचारिक रूपमा काङ्ग्रेसका उम्मेदवार विजयी भएको बताइएपछि अविरजात्रा गर्दै खुशीयाली मनाएको केही क्षणमै सुवेदी विजयी भएको औपचारिक घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरेको थियो । सोही कारण केही समय विवादसमेत चर्किएको थियो भने पुनः मतगणना गर्नुपर्ने चर्को आवाजसहित निवेदन दिने बताएका थिए । त्यसका लागि अदालतसम्म जाने दाबी पलिखेले गरेका छन् ।

(स्मरणरहोस्, हामीले ५० मतभन्दा बढी प्राप्त गर्ने उम्मेदवारको मात्रै मतसङ्ख्या उल्लेख गरेका छौं–सं.)