भद्रपुर/ ठेकेदारले निर्माणाधीन अवस्थामा अलपत्र छाडेको सामुदायिक विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बन्ने गरेको छ ।

भारतीय सहयोगमा निर्माणाधीन झापाको साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयको अलपत्र अवस्थामा छाडिएको भवनमा यस्तो हुँदै आएको हो । अधुरो भवनमा विद्यार्थीहरू वर्षौंदेखि पठन–पाठन गर्न बाध्य छन् । भवन विगत एक वर्षदेखि अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनीका ठेकेदार बेपत्ता भएका छन् । अधुरो विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बन्ने गरेको विद्यालयका शिक्षक तथा अभिभावक बताउँछन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठन–पाठनका लागि अनुकूल वातावरण नहुनुका साथै कक्षा कोठाहरूमा झ्याल, ढोका र घेराबारासमेत छैन ।

३२ कोठे दुई तले विद्यालय भवन अधुरो छाडेर विगत एक वर्षदेखि निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन बनेका छन् । भवन नबनेकाले कक्षाकोठामा विजुली बत्ती, पङ्खा जडान हुन सकेको छैन, खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ, विद्यालयको गेटसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षकले असुरक्षित महसुस गर्न थालेका छन् । वि.सं. २०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तरोन्नतिका लागि भारत सरकार तथा भारतीय राजदूतावासले चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

२०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएका थिए । ठेक्का लिएको करिब चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन निर्माणको काम शुरु गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले बताए । तत्कालीन जिल्ला विकास समिति झापाको प्राविधिक रेखदेखमा शुरु भएको विद्यालय भवनको निर्माण कार्य विगत एक वर्षदेखि ठप्प बनेको उनले बताए । २०७१ सालमा भवन निर्माण कार्य शुरु हुँदा पुराना भवन भत्किँदो टिन र टाटी बेराले बनाइएको अस्थायी कक्षाकोठामा राखेर विद्यार्थीलाई अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले बताए ।

प्रधानाध्यापक खरेलले भने, ‘ठेकेदारले भवन निर्माण कार्यमा शुरुदेखि नै ढिलासुस्ती गरेकै हो, भवन निर्माण पूरा नभएपछि झ्याल, ढोका नभएकै कक्षाकोठामा सर्न बाध्य भयौं ।’ भवन निर्माणको विषयमा पटक–पटक तत्कालीन जिल्ला विकास समितिलाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको उनको भनाइ छ । भवन निर्माण नहुँदा बेलुका ५ बजेपछि विद्यालय भवन नै डेटिङस्थल हुने गरेको उनले बताए । साँझ परेपछि विद्यालयमा कोही पनि हुँदैन, विद्यालयमा गेट र कम्पाउण्ड वाल पनि छैन, अनि टाढा टाढाबाट केटाकेटी आउने गरेको उनले बताए । कक्षाकोठामा पानी पस्छ, गर्मीले बस्न सकिँदैन, ठेकेदारले विद्यालय भवन अलपत्र छाडेर भागेपछि पठन–पाठनमा समस्या उत्पन्न भएको कक्षा १० मा अध्ययनरत विद्यार्थी सरोज बास्केले बताए ।

‘झ्याल, ढोका छैन, वर्षामा पानी पस्छ, गर्मीमा बस्न सकिँदैन’–उनले भने । सुरक्षित विद्यालयमा पठन–पाठन गर्नबाट बञ्चित हुनुपरेको विद्यार्थी भूमिका शर्माले बताइन् । पानी पर्दा र हावाहुरी चल्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था रहेको विद्यार्थीहरू बताउँछन् । गर्मीमा पङ्खा चलाउन विजुलीको व्यवस्था पनि नभएको शिक्षक खेमराज चिमरियाले बताए । ठेकेदारको लापरबाहीले विद्यार्थी र शिक्षकले समस्या भोग्नुपरेको उनको गुनासो छ ।

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेको भवन अहिलेसम्म बन्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप सुवेदी बताउँछन् । निर्माण कम्पनीका ठेकेदार लामाले भवनको ठेक्का लिए पनि एक पटक मात्र विद्यालय आएको उनले बताए । ठेकेदारकै लापरबाहीले भवनको हालत यस्तो भएको उनले आरोप लगाए । ठेकेदार लामाले भवनको जिम्मा पेटी ठेकेदार प्रकाश सिंहलाई दिएको उनले बताए । हालसम्म बनाइएको विद्यालय भवनको निरीक्षण गर्दै भारतीय राजदूतावासका प्रतिनिधिले पनि भवनको गुणस्तरमा प्रश्नचिन्ह उठाएको उनको भनाइ छ ।

एक वर्षदेखि पेटी ठेकेदार सिंह विद्यालयमा नआएको उनको भनाइ छ । समितिका पदाधिकारीहरू तत्कालीन जिविस हालको जिसस, प्रजिअ कार्यालय, शिक्षा कार्यालय र भद्रपुर नगरपालिकालाई लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराए पनि हालसम्म काम सुचारु हुन नसकेको प्रअ सिटौलाले जनाएका छन् । २०६७ सालमा लागेको भवनको ठेक्का १० वर्ष बित्न लाग्दासमेत जस्ताको त्यस्तै छ । भारतीय सहयोगमा बन्ने विद्यालय भवनको निर्माण कार्य सम्पन्न गराउन जिल्ला समन्वयन समिति झापाले पहल गरिरहेको अध्यक्ष सोमनाथ पोर्तेलले बताए । भवनको अनुगमन गरेर सम्बन्धित निकायलाई जानकारी गराइसकेको उनले बताए आउँदो २०७७ वैशाखसम्म अधुरो काम सम्पन्न गराइने उनले बताए ।