लाल किलाको दम्भ धरानमा करिब चार दशकपछि तोडिएको छ । निकै जोडले गल्र्याम गुुर्लुम्मै तासपत्ताको घर जस्तै ढलेको छ । अहिले नेकपा समर्थक, नेता कार्यकर्ता नुन खाएको कुखुरा जस्तै भएका छन् । उदास अनुहार बनाएर नेकपाका नेता कार्यकर्ता, समर्थकहरू शायद घरमा मनमनै गमेर बसेका छन् ।

बामपन्थीले धरानमा इतिहासकालदेखि जित्दै आएकाले ‘यहाँ जो सुकै उठाए पनि सजिलै जितिन्छ’ भन्ने परम्परागत मनोविज्ञानको विधि यसपटक नेकपाको लागि असफल सावित भएको छ । अहिलेको उपचुनाव खास गरी म्यादी चुनाव हो । यो म्यादी चुनावलाई ख्याल नगरी नेकपाले उम्मेदवार चयनमा कतै न कतै गल्ती गर्न पुग्यो । काङ्ग्रेसले धरानमा इतिहास उल्टाउन सफल हुनका पछाडि अनेक कारण छन् । देखिएको मुख्य कारण भनेको कर वृद्धि नै हो । त्यसपछिको अर्को कारणमा स्थानीय तहको चुनावपछि विजयी बनेका नेकपाका जनप्रनिधिहरूले व्यक्तिगत दम्भ, अर्को पार्टीको समर्थक भए उसको कामै नगरी दिने, उपमहानगरपालिकाको कर्मचारी तन्त्रले जनप्रतिनिधिलाई अलमल्याउने, आर्थिक अपारदर्शिता, नगरपालिकाले पत्रिकालाई दिने विज्ञापनमा समेत कमिसन लिने, नीतिगत भ्रष्टाचारमा लिप्त हुने, जनसहभागिताको नाममा बनेका विकास निर्माणमा कुनै पनि सडक निर्माण सम्पन्न हुनु अगाडि गोप्य रूपमा निर्माण सम्पन्नको प्रमाणपत्र लिएर आर्थिक घोटाला गर्ने जस्ता गतिविधि बढेको विषय भित्र भित्रै भुसको आगो झै सल्किएको यथार्थलाई नेकपाले समीक्षा नै गर्न सकेन ।

धरानमा नेकपाले आफ्नो विरासत गुमाउँदा शोक त होला । तर, यो शोक नेकपालाई त्यसै आइपरेको होइन । चर्चा छ, काङ्ग्रेसले यसपटक मेहेनतले जित्यो । तर, काङ्ग्रेसले खासै मेहेनत भने गरेको थिएन । तिलक राई र उनका कार्यकर्ता अनि काङ्ग्रेसका शिर्षस्थ नेताहरूले नियमित आएर घरदैलो गरी मतदतालाई कन्भिन्स गर्नुु पनि एउटा जितको कारण रह्यो । जब कि नेकपाले आफ्ना शिर्षस्थ नेता कोही पनि ल्याएनन् वा आएनन् । शिर्षस्थ नेताहरू नआउनुका पछाडि पनि इतिहासकालदेखि जित्दै आएको, मनमोहन अधिकारीलाई जिताएर प्रधानमन्त्री बनाएको क्षेत्र, लीला श्रेष्ठ सुब्बालाई जिताएर मुुलुककै प्रथम उपसभामुख बनाएको धरान, कुन्ता शर्मा, राप्रपाबाट प्रवेश गरेलगतै कृष्णकुमार राईलाई जिताएको ठाउँ भनेर पुरानै मनोविज्ञानको सहारा लिएर आत्मरतिमा रमाउँदा परिणाम उल्टियो । धरानका मतदाता लाटा छैनन् चलाख छन् । नेता कार्यकर्ताहरूले के के कहाँ कहाँ कस्तो काम गरिरहेका छन् भनेर सबै थाहा पाउन सक्ने भएका छन् भन्ने ज्ञान नेकपालाई हुनुपर्छ अब । नेकपाको विरासतलाई उल्टाएर काङ्ग्रेसले इतिहास बनाएको बेला तिलक राई अल्पमतमा छन् । तर, उनले आफूलाई योग्य सावित गर्नका लागि चुनौती र अवसर दुवै पाएका छन् । धरानका मुख्य समस्याहरू खानेपानी, बसपार्क, धरान एयरपोर्ट, सर्दु र सेउती करिडोरलाई समाधान गर्न सके पनि उनी धरानबासीका लागि योग्य ठहरिने छन् ।