रङ्गेली/ संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विराटनगर विमानस्थल मध्यम स्तरको मात्र बन्ने बताएका छन् ।

विराटनगर विमानस्थलको गुरुयोजना माथि भएको छलफल कार्यक्रममा सोमबार मन्त्री भट्टराईले पूर्ण रूपमा अन्तर्राष्ट्रिय स्तरको बन्न नसक्ने बताए । उनले क्षेत्रिय अन्तर्राष्ट्रि विमानस्थल बनाउन प्रदेश १ सरकार र विराटनगर महानगरपालिकासँग सहयोगको अपेक्षा गरे । उनले जग्गा अधिग्रहणलगायतका विषयमा प्रदेश र स्थानीय सरकारले सहयोग गरे विमानस्थल निर्माणको काम सङ्घीय सरकारको उड्डयन प्रधिकरणले गर्ने जिकिर गरे । उनले पोखरा र लुम्बिनीको जस्तो अन्तराष्ट्रिय स्तरको नभएर मध्यम खालको विराटनगर विमानस्थल बन्ने पनि प्रष्ट पारे ।

प्रदेशवासीले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन माग गरिहेका बेला मन्त्री भट्टराईले २५ सय मिटरको धावन मार्ग बन्ने बताए । उनले ५ वर्ष भित्रमा विराटनगर विमानस्थल मध्यम स्तरको बन्ने जनाउँदै अन्तर्राष्ट्रिय स्तरको विमान स्थाल निर्माणको लागि ३ हजार मिटरको धावन मार्ग आवश्यक पर्ने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थलको गुरुयोजना निर्माणको चरणमा रहेको छ । प्राधिकरणले सोमाबार गुरुयोजना परिमार्जनका लागि सुझाव सङ्कलन गर्ने गरी प्रदेश १ सरकार, स्थानीय सरकार र सरोकारवालाहरूसँग छलफल गरेको थियो । प्रधिकरणले सन् २०४० भित्रमा मात्र विराटनगर विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बन्ने गुरुयोजना प्रस्तुत गरेको थियो ।

मन्त्री भट्टराईले साना विमानलाई काठमाण्डौ प्रवेशमा रोक लगाउने तयारी भइरहेको पनि बताए । त्यसैगरी काठमाण्डौ बाहिर ‘बेस’ बनाउने भनेर अनुमति लिएर काठमाण्डौमै बस्तै आएका विमान कम्पनीलाई पनि कडाइ गरिने बताए । ‘जुन एयरपोर्टमा रात बस्ने अनुमति लिएको छ त्यहीँ बस्नुपर्छ ।’ उनले भने ‘विभिन्न बहानामा काठमाण्डौमा फर्कन पाईंदैन,एरपोर्टमा आवश्यक पूर्वाधार हामी बनाइदिन्छौँ ।’ नेपाल वायुसेवा निगमले कम्तीमा ५ वटा साना जहाज थप्ने योजना रहेको पनि उनले जानकारी दिए । उनले त्यस्ता जहाज प्रदेशको राजधानीका विमानस्थलमा राख्ने र प्रदेशका अन्य विमान स्थलमा उडान भर्ने व्यवस्था मिलाइने जानकारी दिए ।

अन्तरक्रियामा प्रदेश १ का मख्य मन्त्री शेरधन राईले ३ हजार मिटर धावन मार्गको लागि आवश्यक जग्गा अधिग्रहणका लागि तत्काल मन्त्रीपरिषद्बाट पास गराउन आग्रह गरेका थिए । उनले २५ सय मिटर धावन मार्ग निर्माणको कामलाई पनि तत्काल अगाडि बढाउन पनि मन्त्री भट्टराईलाई आग्रह गरेका थिए । ‘प्रदेश १ सरकार विराटनगर विमानस्थल निर्माणको लागि साझेदारी गर्न तयार छ ।’ उनले भने ‘तोकिएको सीमाभित्र रहेर सघाउन सरकार तयार छ ।’ उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको विमानस्थल नबन्ने भनिरहँदा मुख्य मन्त्री राईले सिङ्गापुर र चाइनाले अन्तराष्ट्रि स्तरको बनाइदिने प्रस्ताव आइरहेको सुनाएका थिए । उनले भने ‘सबै प्रक्रिया पूरा गरे अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाइ दिने त्यतिकै उनीहरूले नभनेको होला ।’
नेपाल उड्डयन प्रधिकरणका महानिर्देशक राजन पोखरेलले विराटनगर विमान स्थलमा तत्काल १ सय ४० मिटर धावन मार्ग थपिने बताए । उनले विराटनगर क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमात्र बन्न सक्ने बताए । इयर स्पेसको कारणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विस्तार गर्न नसकिने बताए । भारतसँगको सीमा नजिक भएकाले ठूला जहाज अवतरण गराउँदा भारत सँग अनुमति लिनुपर्ने हुन्छ । उनले विराटनगर विमान स्थलमा राडारकाको काम गर्ने ए डि एस बि उपकरण जडान गर्न लागिएको पनि बताए । उनले विराटनगर विमान स्थलमा भू उपग्रहमा आधारित प्रणली जडान गर्न लागिएको पनि जानकारी दिए । उनले नेपालका ५० वटा विमानस्थालमध्ये ३५ वटा मात्र सञ्चालनमा रहेको जानकारी दिए । त्यसैगरी नेपालका ३३ वटा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिसकेको बताए ।

प्रदेश १ का वन, पर्यटन, उद्योग तथा वातावरण मन्त्री जगदीश कुसियतले ३ हजार मिटर धावनमार्ग निर्माणको लागि आवश्यक जग्गा पहिले नै अधिग्रहण गरिनुपर्ने बताए । उनले खुल्ला सिमाना भएको कारणले भारतीय यात्रुले पनि सुविधा लिन सक्ने बताए । अहिले विराटनगर विमानस्थल १ सय २० बिघाहा जमिनमा फैलिएको छ । जहाँ ५ वटा जहाज पार्किङ गर्न सकिनेछ । यसको धावन मार्ग १५ सय मिटर रहेको छ । सुरक्षाको पनि चुनौती रहेको इन्जिनियर गुरुदत्त अधिकारीले कार्यपत्रमा प्रस्तुत गरेका थिए । उनले इयर स्पेसको पनि समस्या रहेको प्रस्तुतिमा जानकारी दिए ।

विराटनगर विमानस्थलमा यात्रुको आवागमन ८ प्रतिशतले बढिरहेको छ । विराटनगर विमानस्थललाई धावनमार्ग २५ सय मिटर बनाउन अझै ८३ बिघाहा जग्गा अधिग्रहण गर्नु पर्ने हुन्छ । अन्तरक्रियामा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली,नेकपा मोरङ अध्यक्ष ऋषीकेश पोखरेल, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, पर्यटन व्यवसायी पुण्य भट्टराईलगायतले माउण्टेन फ्लाइट विराटनगर विमानस्थालबाट गराउन पर्नेमा जोड दिएका थिए ।