धरान/ कोशी पहाडी करिडोरमा उत्पादन हुँदै आएको मसलाजन्य नगदेबाली तेजपत्ता केही साता भारतीय बजारमा निर्यात रोकिए पनि हाल कच्चा पदार्थको रूपमा पुनः निर्यात हुन थालेको छ । यसअघि तेजपत्ता भारतीय बजारमा निर्यात बन्द भएको थियो । भारत निर्यात हुन बन्द भएपछि धरानस्थित कृषिउपज बजारमा करिब करोड रुपैयाँ बराबरको तेजपत्ता कुहिने अवस्थामा पुगेको थियो ।

सरकारले गत कात्तिकदेखि भिसिटिएस अनलाइन दर्ता लागू गरेपछि भारतीय बजारमा तेजपत्ता निर्यात गर्न समस्या उत्पन्न भएको थियो । राजश्व अनुसन्धान विभागको भेहिकल कन्साइन्मेण्ट ट्रयाकिङ सिस्टम भिसिटिएसलाई अनिवार्य अनलाइन दर्ता लागू गरेपछि तेजपत्ता निर्यातमा समस्या देखिएको थियो ।

आर्थिक वर्ष ०७४/७५ मा पूर्वी पहाडमा ३ हजार २ सय ५० मेट्रिक टन (१६ करोड रुपैयाँ) को तेजपत्ताको कारोबार भएको थियो भने आ.व.०७५/७६ को अन्तमा करिब ३ हजार ७ सय मेट्रिक टन (२० करोड रुपैयाँ बराबर)को कारोबार हुने अनुमान छ । कात्तिक, मङ्सिर दोस्रो सातासम्ममा धरानस्थित कृषिउपज बजारबाट २ हजार मेट्रिक टन अर्थात् करिब साढे आठ करोड रुपैयाँ बराबरको तेजपत्ताको कारोबार भइसकेको बजार व्यवस्थापक भट्टराईले बताए ।

भारतीय बजारमा खपत हुने नेपाली तेजपत्ता नेपालमै रोकिएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि सरकारले भारत निर्यात गर्न केही खुकुलो बनाएकाले हाल कच्चापदार्थको रूपमा निर्यात हुन थालेको धरानस्थित कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनले भने, ‘पूर्वी पहाडमा उत्पादित तेजपत्ता पछिल्लो केही सातायता भारतीय बजारमा निर्यात हुन थालेको छ । निर्यात नेपालबाटै रोकिँदा उत्पादकहरू निराश हुन थालेका थिए ।’

धरानस्थित कृषिउपज बजारबाट वार्षिक रूपमा करिब ४ सय मेट्रिक टन अर्थात् करिब २० करोड रुपैयाँ बराबरको तेजपत्ता भारतीय व्यापारीहरूले लैजाने गरेका छन् । उनले भारतीय बजारमा निर्यात हुने तेजपत्ता भारतीय बजारमा निर्यात गर्नका लागि सरकारले सहज वातावरण बनाउनुपर्ने बताए । उनले भने, ‘निर्यात समस्या समाधानका लागि सरकारले सहजीकरण गर्नुपर्ने जरुरी देखियो । अन्यथा वार्षिक २० करोडको आयस्रोत गुम्न सक्छ ।’

तेजपत्तालाई नेपालमा खाद्यपदार्थमा पातै हालेर सुगन्धको रूपमा मात्र प्रयोग गर्ने चलन भए पनि अन्य मुलुकमा तेजपत्ताबाट विभिन्न रोगको औषधि पनि निर्माण हुने गरेको छ । तेजपत्ताबाट एक प्रकारको महँगो युजेनोल तेलसमेत निकालिने भएकाले भारत र तेस्रो मुलुकमा नेपालको तेजपत्ताको माग बढेको हो ।

साँगुरीगढी–६ जिमी गाउँका तेजपत्ताका व्यवसायिक कृषक धनबहादुर राईले कृषकले आफ्नो खेतबारीमा तेजपत्ताको व्यवसायिक खेती गरिरहेको बताए । उनले तेजपत्ताको खेतीबारे कृषि मन्त्रालयलाई समेत अझै थाहा नभएको बताए । उनले भने, ‘सरकारले तेजपत्ताका कृषकलाई कुनै प्राविधिक सहयोग र कुनै सुविधा नै नदिए पनि परम्परागत खेतीको रूपमा उत्पादन भएको तेजपत्ता निर्यातका लागि विशेष पहल गरेर कृषकहरूलाई राहत दिनु जरुरी छ ।’

उनले दुई दशकदेखि आफ्नो स्वामित्वको पाखाभित्तामा पाँच सय बोट तेजपत्ताको रुख रोपेको बताएका छन् । साँगुरीगढीमा तेजपत्ता खेती गर्नेहरू सय जनाभन्दा बढी छन् । अधिकांशले सय बोटदेखि ६ सय बोटसम्म रोपेका छन् ।