पथरी/ गतवर्ष झैं यस वर्ष पनि मोरङको पथरीशनिश्चरेमा चासोक तङ्नाम (उँधौली पर्व) भव्यताका साथ मनाउने भएको छ ।

किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगरसमिति र सिरिजङ्गा स्मृति धार्मिक वन समितिको संयुक्त आयोजनामा मङ्सिर २३ देखि २६ गतेसम्म पर्व मनाउन लागेको हो ।

चासोक तङ्नाममा विभिन्न सांस्कृतिक कार्यक्रमसहित खेलकुद कार्यक्रम हुने भएको छ । चासोक तङ्नामको अवसरमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, धनुष–वाण हान्ने, छेलो, लङ्जम्प प्रतियोगिता राखिएको किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगरसमिति सचिव विक्रम लिम्बूले बताए ।

कार्यक्रममा लिम्बू समुदायको माङ्लाङ, केलाङ, येवालाङ, हाक्पारे ख्याली प्रस्तुत हुने र गायक ताराप्रकाश लिम्बूलगायत कलाकारहरूको प्रस्तुतिमा साङ्गीतिक मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष पर्शुराम चोङ्बाङले बताए ।

कार्यक्रमको समापनमा १ नम्बर प्रदेशका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो लिम्बू प्रमुख अतिथि रहने र चासोक तङ्नामको उद्घाटन पथरीशनिश्चरे नगरप्रमुख दिलिपकुमार राईको उपस्थितिमा कार्यक्रम हुने भएको छ । पथरीशनिश्चरे–१० स्थित सिरिजङ्गा स्मृति वनमा हुने कार्यक्रममा रोटेपिङलगायतका मनोरञ्जनात्मक खेल हुने बताइएको छ ।

प्रतियोगितामा भलिबल विजेतालाई पुरुषतर्फ ५५ हजार, उपविजेतालाई ३५ हजार र भलिबल विजेता महिला टिमलाई ३५ हजार, उपविजेता टिमलाई २५ हजार नगद, ट्रफी र प्रमाण–पत्र वितरण गरिने सिरिजङ्गा स्मृति धार्मिक वन समितिका उपाध्यक्ष सन्तोष सेरेङले बताए ।