विराटनगर /  विराटनगर– २ शनिहाटमा शनिबार राति ग्यास लिक भइ आगलागी भएर मृत्यु भएको भनिएको घटना शंकास्पद रहेकोले प्रहरीले गहन रूपमा अनुसन्धान सुरु गरेको छ ।
पुराना पत्रकार ७४ वर्षीय जयप्रकास दाहालको ग्यास लिक भएर मृत्यु भएको घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
काठमाडौं बसोबास गर्दै आएका दाहाल शनिबार दिउँसो घरयासी कामले विराटनगर आएका थिए । उनको घर काठमाण्डौस्थित ज्ञानेश्वर र विराटनगर दुवै ठाउँमा रहेको छ । काठमाण्डौदेखि विराटनगर आए पछि उनी शनिहाट बजारदेखि उत्तर पट्टी रहेको घरमा एक्लै बस्दै आएको अवस्थामा आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएका हुन ।
दाहालको कम्बरदेखि मुनिको भाग पूर्ण रूपमा जलेर मृत अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान रहे पनि घटनाको विस्तृत अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए । घटना स्थलमा स्वयम एसपी अधिकारी, डिएसपीद्धय राजकुमार खिउँजु, घनश्याम श्रेष्ठ पनि उपस्थिति थिए । ‘घटनाबारे हामीले विस्तृत रूपमा अनुसन्धान सुरु गरेका छौं,’ एसपी अधिकारीले भने, ‘अहिले हामी अनुसन्धानको क्रममा रहेका छौं ।’ धरानस्थित संघिय प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा ल्याएर अनुसन्धान सुरु गरिएको छ । आधा शरिर जलेको दाहालको घाँटीमा गहिरो चोट देखिएका कारण घटना शंकास्पद भएको प्रहरीले जनाएको छ । आधा जलेको शरिरमा चोट पटक भएका कारण दुर्घटना नभइ हत्या भएको हुनसक्ने भएकोले प्रहरीले घहन रुपमा अनुसन्धान सुरु गरेको हो । घटना स्थल नजिकै चक्कु पनि भेटिएको प्रहरीले जनाएको छ ।
मृत अवस्थमा भेटिएको दाहालको दुई तले घर रहेको छ । उनको शव पहिलो तलाको बिच कोठामा रहेको थियो । उनको शव भएको कोठाको अगाडी भान्सा रहेको छ । जब कि भान्सा कोठा अगाडी हुदा हुदै कसरी उनी सुत्ने कोठा भित्र ग्यास सिलेण्डर पुग्यो ? ‘यो नै अनुसन्धानको विषय हो,’ एसपी अधिकारीले ब्लाष्टसँग भने, ‘हामीले सबै कोणबाट अनुसन्धान सुरू गरेका छौ ।’ कोठामा सुतेका दाहालको ओछ्यान नजिकै ग्यासको सिलिण्डर केही नहुनु र पाइप मात्र जलेको अवस्थामा भेटिनुले पनि घटना शंकास्पद देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । घटनास्थलमा ग्यासको पाइप जलेको अवस्थामा कोशी ग्यासको सिलिण्डर छ । पाइप जलेर पग्लिए पनि सिलेण्डर सुरक्षीत छ । आइतवार बिहान दाहाललाई भेट्न राधेश्याम दराक आएका थिए । राधेश्यामले आफ्नो कोठामा खाना खुवाएपछि शनिबार साझ जयप्रसादलाई मोटरसाइकलमा हालेर घरमा छोडिदिएका थिए । आइतबार बिहान पुनः राधेश्याम जयप्रकासको घरमा आएका थिए । जयप्रकासलाई राधेश्यामलाई बोलाउँदा नउठेपछि घरको पहिलो तलामा धुवा बलेको देखे र उनले स्थानियलाई खबर गरेका थिए । बोलाउँदा नउठेपछि भित्रबाट लगाएको ताल्चा तोडेर ढोका खुलेपछि राधेश्यामसहित स्थानियहरूले हेर्दा जलेको अवस्थामा शव भेटिएको थियो । त्यसपछि मोरङ प्रहरीलाई उनीहरूले खबर गरेका थिए । धानको व्यापार गर्ने राधेश्याम करिब २७ वर्षदेखि दाहलको घर भाडामा लिएर बस्दै आएका थिए । दाहलले घर बेच्ने भएपछि गत मंसिर १ गतेदेखि राधेश्यामले घर खाली गरेका थिए । दाहाल कटहरीमा रहेको खेती र विराटनगरको घर बिक्रीका लागि विराटनगर आएको बताइएको छ । थप अनुसन्धानको लागि विराटनरस्थित कोशी अञ्चल अस्पतालमा दाहलको शव पोष्मार्टको लागि पठाएको प्रहरीले जनाएको छ ।
को हुन् जयप्रकास दाहाल ?
२००२ सालमा जन्मिएका हुन् जयप्रकास दाहाल । श्रीमित सावित्रा र २ छोरा छन् । सम्पादक समाजका कोषाध्यक्ष ७४ वर्षिय दाहाल २०२५ सालदेखि विराटनगरलाई कार्यथलो बनाएर पत्रकारिता गर्ने पुराना पत्रकारमा हुन् । तत्कालिन मातृभूमि साप्ताहिकका पत्रकार डम्बर थापालाई समाचार लेखेको आरोपमा राजकाज मुद्दा लागेपछि थापा, जीवेश्वर लाखे र मृतक दाहालसहितको समूहले विराटनगर प्रेस क्लव समेत गठन गरेका थिए । दाहालले २०३९ सालदेखि नेपाल खबर दैनिक र मायालु साप्ताहिकको सम्पादकको रुपमा रहेर काम गरेका थिए । २०५८ सालदेखि उनले काठमाण्डौंलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आउनु भएको पुराना पत्रकार रामरिझन यादवले जानकारी दिए ।