– २०७२ माघ २१ गते इटहरी चौकमै रहेको रामबहादुर लिम्बूको घरमा रहेको न्यू भेराइटी फेन्सीमा आगलागी भयो । १ करोड ९० लाखभन्दा माथि क्षति भएको थियो । १ करोडको इन्सुरेन्समा ७ लाख मात्र पाएको सञ्चालक श्याम भण्डारी बताउँछन् ।

– एक वर्षअगाडि इटहरी चौक विराटनगरलाइनमा रहेको इन्द्र फेन्सीमा ठूलो आगलागी भयो । फेन्सीको सञ्चालक इन्द्रबहादुर कार्कीको करोडभन्दा माथि क्षति भयो ।

– एक वर्षअगाडि नै धरान लाइनमा रहेको सप्तकोशी इलोक्ट्रोनिक्समा आगलागी भयो । नेत्र भट्टराईले सञ्चालन गरेको पसलमा टिभी तथा फ्रिजहरू जलेर नष्ट भए । भट्टराईको पसलसँगै घर पनि जलेर खरानी भयो ।

इटहरी/ इटहरीको मुख्य चौकमा शनिबार मध्यरातमा इटहरीको मुख्य चौकमा रहेको सूर्य कम्प्लेक्समा भीषण आगलागी भयो । राति १ बजे बिग बार रेष्टुरेण्टबाट शुरु भएको आगलागीबाट करिब ४ करोडको क्षति भएको अनुमान गरिएको छ । पूर्व नेपाल प्रहरीका एसपी नरेन्द्र उप्रेतीको घरको चौथो तल्लामा आगलागी भएको हो ।

विद्युत् सट भएर आगलागी भएको बिग बारका सञ्चालक किरण बुढाथोकीले ४ करोडको क्षति भएको बताए । आफ्नो बारसँगै कम्प्लेक्समा समेत क्षति पुगेको बुढाथोकीले बताए । विद्युत् सट भएर आगलागी भएको उनी बताउँछन् । बार पूर्ण रूपमा क्षति पुगेको कारण समस्यामा परेको बुढाथोकीले बताए ।

बिग बारबाट आगोको मुस्लो देखिएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा आगो निभाएको थियो । चौथो तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको बताइएको छ । इटहरी, धरान, इनरुवा, दमक सप्तरी, विराटनगर, दुहबी, महेन्द्रनगर र सुन्दरहरैंचालगायतका ९ वटा दमकल आएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

बिग बार रेष्टुरेण्टबाट आगो सल्किएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । आगलागी भएको साढे ३ घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीबाट ३५ जना, १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट १० जना ट्राफिक, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट ७ जना, पूर्वी पृतना हेडक्वार्टरबाट ३६ जना, गुल्म सशस्त्र प्रहरी बल राजश्व ढाटबाट ३० जना र दङ्गा नियन्त्रण दुहबीबाट ४० जना गरी १ सय ५८ जना सुरक्षाकर्मी खटिएको प्रहरीले जनाएको छ ।

यसरी बर्सेनी आगलागीको घटना बढे पनि इटहरी उपमहानगरपालिकाको दमकल चुस्त–दुरुस्त नभएको भन्दै आलोचना भएको छ । आगलागी भएको स्थानमा इटहरी उपमहानगरपालिकाको दमकलले पानी फाल्न नसकेको स्थानीयले बताए । पाइप फुटेको कारण चार तलामाथि पानी फ्याँक्न नसकेको कारण अन्य ठाउँबाट आएका दमकलको सहायता लिनु परेको थियो ।

२ वटा बिग्रिएर थन्किए
हावाहुरीको यो मौसममा आगलागीका घटना दैनिक बढेका छन् । यो बेला आगोले बर्सेनी करोडौंको धनमाल क्षति हुने गरेको छ । कतिपयको ज्यानैसमेत जाने गरेको छ । आगो लागेमा नियन्त्रणका लागि सरोकारवाला निकाय तयार र उपकरण दुरुस्त हुनुपर्नेमा त्यस्तो अवस्था भने छैन ।

‘दमकल आउला र निभाउला’ भन्दै स्थानीयस्तरमा नियन्त्रणको प्रयास नहुने हो भने क्षति धेरै हुन्छ । जानकारी प्राप्त हुनासाथ घटनास्थल पुगिहाल्नुपर्ने वारुणयन्त्र (दमकल) को अवस्था नाजुक हुँदा छिटो सेवा दिन सकिरहेका छैनन् ।

इटहरी उमहानगरपालिकामा रहेका २ वटा दमकलमध्ये यतिबेला एउटा मात्र चालू अवस्थामा छ । बिग्रिएको नयाँ दमकल उपमहानगरपालिकाको मेची–काली पोखरीभन्दा पूर्वतर्फ पुराना सवारी साधन राखेको ठाउँमा ६ महिनादेखि राखिएको छ । मर्मतको पर्खाइमा बसेको दमकल नयाँ भए पनि पुराना सामान राख्ने ग्यारेजमा थन्किएको छ ।

यता इटहरी उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख राजेन्द्र धिमालले २ वटा दमकल बिग्रिएर थन्किएको बताए । पुरानो दमकल भएको कारण खर्चिलो भएको कारण मर्मत नगरिएको बताए । उनले इटहरी उपमहानगरपालिकामा एक मात्र दमकल रहेको उनी बताउँछन । चल्दै आएको दमकल पनि पाइप फुटेको छ रे नि ? भन्ने जिज्ञासामा उनले सानातिना कुरा त भइहाल्छ भन्दै गैरजिम्मेवार उत्तर दिए ।