इटहरी/ पूर्व–पश्चिम राजमार्गका खाल्डाखुल्डी नपुरेको भन्दै सुन्दरहरैंचाबासी आन्दोलित बनेका छन् ।

सडक मर्मत नगरेको आक्रोसमा सुन्दरहरैंचा–४ र ५ का स्थानीयबासी आन्दोलित बनेका हुन् । बाँसबारी चौकमा लामो समयदेखि पूर्व–पश्चिम राजमार्ग भत्किएको छ । भत्किएको राजमार्गका कारण धुलोका साथै सानातिना दुर्घटना बारम्बार हुने गरेको स्थानीय दीपेश श्रेष्ठले बताए । सडक डिभिजन कार्यालय विराटनगरलाई बारम्बार ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

दुई वर्षअघि आएको बाढीले बिगारेको सडक हालसम्म पनि मर्मत हुन नसकेको स्थानीय तेजबहादुर पुरीले बताए । राजमार्गमा दैनिक हजारौंको सङ्ख्यामा सवारी साधन गुड्ने सडकको झण्डै पाँचसय मिटर सडक–खण्ड बिग्रिएको छ ।

स्थानीयको दबावका कारण केही महिना सडक डिभिजन कार्यालय विराटनगरले पानी हाले पनि अहिले त्यो पनि बन्द गरेकाले स्थानीय आक्रोसित बनेको स्थानीय हर्कनारायण देवकोटाले बताए । स्थानीयले दैनिक बाटो अवरुद्ध पार्ने चेतावनीसमेत दिएका छन् । उनका अनुसार पहिलो दिन १५ मिनेट अवरुद्ध गर्नुका साथै दोस्रो दिनबाट बढाउँदै लाने स्थानीयले बताएका छन् ।

यता इटहरी उपमहानगरपालिका क्षेत्रका हाई–वे सडक पनि मर्मत नहुँदा समस्या भएको बताउँदै इटहरी उपमहानरपालिकाले पनि सडक मर्मत गर्न सडक डिभिजन कार्यालयलाई ध्यानाकर्षण गराएको छ । सडक निर्माणमा खेलाँची भइरहेको भन्दै इटहरीका उपमेयर लक्ष्मी गौतमले डिभिजन कार्यालयलाई पत्र पठाई ध्यानाकर्षण गराएको बताइन् ।