रङ्गेली/ प्राकृतिक चिकित्सा पद्दतिबाट उपचार गर्ने उद्धेश्यका साथ विराटनगरमा ओम वेलनेस अस्पताल आइतबारबाट सञ्चालनमा आएको छ ।

अस्पतालको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । प्रदेश १ को राजधानी विराटनगरमा साढे ७ करोडको लगानीमा अस्पताल शुरु भएको हो । मुख्यमन्त्री राईले छिमेकी मुलुक र प्रदेशका जनतालाई पनि सेवा दिन सक्ने गरी अस्पताल सञ्चालनमा आएको बताए । उनले समृद्ध र सुखी नेपालीको नारामा पनि अस्पतालले टेवा पु¥याउने बताए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्राकृतिक चिकित्सा पद्दति हाम्रो आफ्नो चिकित्सा पद्दति भएको जिकिर गरे ।

त्यसैगरी विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्राकृतिक चिकित्साको विश्वभरि नै माग बढिरहेको बताए । विराटनगर–२ सौगातमार्ग वरगाछीमा ओम वेलनेस हस्पिटल सञ्चालनमा आएको हो । हस्पिटल चार महिलाले सञ्चालनमा ल्याएका हुन् । जसको अध्यक्ष शिवा उपाध्याय (अञ्जु) रहेकी छन् । सञ्चालकहरूमा नमिता न्यौपाने, राधा ढकाल (अधिकारी) र बिना कार्की छिन् । अस्पतालमा प्राकृतिक चिकित्सा एवम् वैकल्पिक चिकित्सा विज्ञानका माध्यमबाट अनुभवी, विज्ञ र दक्ष चिकित्सकबाट सेवा दिइने सञ्चालक नमिता न्यौपानेले जानकारी दिइन् । तीन कठ्ठा क्षेत्रफलमा फैलिएको छ । हस्पिटल १० शय्याको रहेको छ ।

अस्पतालमा प्राकृतिक चिकित्सा एवम् वैकल्पिक चिकित्सा विज्ञानमा रहेर शिरोधारा, योगामड थेरापी, जाकुजी, स्टीम बाथ, साउना बाथ, अकुप्रेसर, अकुपञ्चर, फिजियोथेरापी, डाइट तथा न्युट्रिसन आदिको माध्यमबाट विभिन्न रोगहरूको सर्वसुलभ र प्रभावकारी उपचार गरिने सञ्चालक न्यौपानेले बताइन् । रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने अस्पतालको उद्देश्य रहेको छ । जीवनशैली, हाडजोर्नी तथा नशासम्बन्धी सफल उपचारको लागि सुविधा सम्पन्न योग तथा प्राकृतिक चिकित्सा हस्पिटलले उपलब्ध गराउने बताइएको छ । अस्पतालमा कन्सल्टेण्ट फिजियोथेरापिष्ट डा. मो. जावेद र प्राकृतिक चिकित्सक डा. प्रकृति सिंहले सेवा प्रदान गर्ने भएका छन् । हस्पिटलमा विभिन्न प्रकारका उपचार प्राकृतिक चिकित्सा पद्दतिबाट हुने अध्यक्ष उपाध्यायले जानकारी दिइन् ।

अस्पतालमा ढाड, कम्मर, गर्धन, घुँडा तथा अन्य जोर्नीहरू दुख्ने, हड्डी खिइएको, नशा च्यापिएको, साइटिका र अन्य रेडिकुलोपेथी, बाथ रोगहरूको उपचार हुनेछ । त्यस्तै पिनास, एलर्जी, दम, पुरानो खोकी, टाउको दुख्ने, माइग्रेन, मानसिक तनाव, अनिद्रा (स्लिप क्लिनिक), सर्जरीपश्चात् चाहिने फिजियोथेरापी र पुनस्र्थापना, मोटोपन, कोलेस्टेरोल, उच्च रक्तचाप तथा मधुमेह, ग्याष्टिक, कब्जियत, अपच, अल्सर र पाइल्सको उपचार पनि अस्पतालमा हुने व्यवस्थापनले जनाएको छ ।