भोजपुर / टक्सार भोजपुर सडक कालोपत्रेको काम ५० प्रतिशत सम्पन्न भएको छ । जिल्लाको एकमात्र टक्सार विमानस्थलदेखि भोजपुर बजार सम्मको सडक कालोपत्रे गर्ने काम निर्माण शुरु भएको ७ महिनामा ५० प्रतिशत सम्पन्न भएको हो । कामले तिब्रता पाएसँगै अहिले बाटो चौडा गर्ने , रिटनिङवाल लगाउने , नाली बनाउने , सर्फेस मिलाउने काम सकिएको छ ।

अब ग्राभेल गर्ने र पिच गर्ने काम मात्र वाँकी रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । उनले भने –“निर्माण शुरु भएको ७ महिनामा सन्तोष जनक रुपमा काम भैरहेको छ , यही गतिमा काम भएमा सम्झौता भएको मिति अगाडी नै सडक निर्माणको काम सकिने सम्भावना छ ।” सकड निर्माणको काम १८ महिना भित्र सक्ने गरि ठेकेदार कम्पनी रायमाझी जगदम्बा मार्सेली जेभीले १३ करोड ५३ लाख ५८ हजार २ सय ७७ मा पाएको हो । १८ महिनामा सक्ने गरि सम्झौता भएको सडकको दुरी ५ किलोमिटर रहेको पुर्वाधार विकाश कार्यालय भोजपुरले जनाएको छ ।

अहिले सडक निर्माणको काम गुणस्तरिय ढंगबाट भैरहेको ईन्जिनियर आशिष न्यौपानेले जानकारी दिए । सकड कालोपत्रेको शिलान्यास प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले गत बैशाख महिनामा गरेका थिए ।