पथरीशनिश्चरे/ भारतसँगको व्यापारिक नाकाबाट उत्तरपूर्वी मोरङको पहाडी क्षेत्रहुँदै चीनसँग जोड्ने योजनाको पथरी–जाँते–ज्यामिरे सडक कालोपत्रे हुने भएको छ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सोमबार लेटाङ नगरको पूर्वी क्षेत्र जाँतेमा आयोजित एक कार्यक्रममाझ सो सडकको शिलान्यास गर्दै धनकुटाको भेडेटारबाट आउने तेर्साे सडकसँग सो सडक जोडेर कालोपत्रे गरेरै छाड्ने बताए । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयले आयोजना गरेको सो कार्यक्रममा उनले भने ‘यस क्षेत्रको ज्यादै महत्वको यो सडकलाई तोकिएको मितिमा सम्पन्न गरी त्यसभन्दा माथिको ६ नम्बर बुधबारेसम्मको योजनासमेत बनाएर लान्छौं ।

यसमा ढुक्क हुनुहोस् ।’ उनले गाउँ गाउँ वस्ती वस्तीसम्म सडक विस्तार गर्दै स्वास्थ्य, शिक्षाको प्रवद्र्धन गरेर गरिबी निवारण गर्ने अभियानमार्फत साझा सङ्कल्प पूरा गर्न प्रदेश सरकार लागि परेको सुनाए । उनले सडकको प्रसङ्गमा थपे ‘१० वर्षे प्रादेशिक सडक गुरुयोजना निर्माण गरेका छौं । यस अवधिमा ७ हजार २ सय २६ किलोमिटर सडक व्यवस्थित गर्छौं । अनि ८१ वटा योजना मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम अघि बढिसकेको छ ।’ कार्यक्रममा मोरङ निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेश सांसद कुलप्रसाद साम्बाले निकै जोसिलो रूपमा बोल्दै भने ‘प्रदेश सरकार यसरी विकासको लहर ल्याएर गाउँको मुहार फेर्न लागि परेको छ ।’

पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले विकासको दृष्टिले ज्यादै महत्व राख्ने सो सडक वर्षाैंको प्रतिक्षामा यसबेला निर्माण थालिएको कुराले खुशी लागेको बताए । लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौलाले सडक निर्माणमा सघाउन सधैं नगरपालिका तयार रहेको बताइन् । लेटाङ ९ का अध्यक्ष कृष्णप्रसाद लुइटेलले ०५० सालदेखि स्थानीयले पथरीसम्मको साढे ८ किलोमिटर ३ सय मिटर जङ्गल क्षेत्र छिचोलेर बाटो निर्माण गरेको इतिहास जोडे । साथै उनले सो सडकलाई गुणस्तरीय रूपमा तोकिएको समयमा सम्पन्न गरी दुर्गम क्षेत्रको विकास विशेष ध्यान दिने अनुरोधको ज्ञापनपत्र मुख्यमन्त्री राईलाई बुझाए ।

मन्त्रालयका सचिव राजेशप्रसाद घिमिरेले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत ०७८ असोजभित्र सम्पन्न गर्ने गरी १९ दशमलव ६ किलोमिटर लम्बाइ र २२ फिट चौडाइको ५० एमएम अस्पल प्रविधिबाट कालोपत्रे गरिने जनाए । उनले ७२ करोड ५० लाखको टेण्डरमा २५ प्रतिशत कम बोलकबोल गरी श्रेष्ठ कन्ट्रक्सन कम्पनी काठमाडौंले भ्याटसहित ५४ करोड ४८ लाख ४५ हजार १ सय २५ रुपैयाँ ९६ पैसामा ठेक्का पाएको जानकारी गराए ।

सो सडकले भारतको दक्षिणी सिमानाको सिक्टीबाट पथरी, जाँते हुँदै पूर्वको प्रचूर पर्यटकीय सम्भावना भएको ऐतिहासिक महŒवको मिक्लाजुङ्बाट पाँचथर, ताप्लेजुङ उक्लिएर चीन जोड्छ । मोरङ निर्वाचन क्षेत्र नम्बर २ को भारतसँगको सिमाना जोडिएको छोटी भन्सारसमेत रहेको सुनवर्षीको सिक्टी नाका हँुदै ३ नम्बरको पथरीशनिश्चरे, १ नम्बरको लेटाङको जाँते, मिक्लाजुङ्बाट मोरङ, धनकुटा, इलाम र पाँचथरको सीमामा पर्ने पूर्वको पर्यटकीय स्थल मिक्लाजुङ्सम्म जोड्ने महत्वपूर्ण सडक हो यो ।

कालोपत्रे सडक निर्माण गरी पहाडी जिल्ला हुँदै चीनसम्मको र यता भारतसम्मको व्यापार प्रवद्र्धन गर्न सिक्टी नाका महŒवपूर्ण हुने सुनवर्षी नगर प्रमुख कालिप्रसाद दासले कुरा उठाउँदै आएका छन् । सुनवर्षी ८ सिक्टीस्थित हर्चनगढी भन्सार जीर्ण र सुस्त अवस्थामा सामान्य काम कारवाहीमा छ । सिक्टीबाट १६ किलोमिटर उत्तर पथरीशनिश्चरे, त्यहाँबाट १२ किलोमिटर उत्तरमा पूर्वपश्चिम लोकमार्गमा पर्ने पथरीको जाँतेमोड आउँछ । त्यसबाट साढे ११ किलोमिटरमा जाँते पुगिन्छ । सिक्टीदेखि जाँतेसम्म ४१ र त्यसमाथि ज्यामिरेसम्म साढे ६ तथा धनकुटाको चौबिसे गाउँपालिको ६ नम्बर बुधबारेसम्म साढे १८ किलोमिटर गरी कुल साढे ६६ किलोमिटर दूरी रहेको छ ।