विराटनगर/ सप्तरी घर भएका ३० वर्षीय जितेन्द्रकुमार साह कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गर्दै आएका कैदी हुन् । दुई वर्षदेखि उनी विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका छन् । उनको शरीरको विभिन्न भागमा लुतो र दादले भरिभराउ छ । कारागार आएपछि चिलाउने लुतो र दाद आएको उनले सुनाए । ‘शरीर चिलाएर सुत्न सकेको छैन’ उनले ब्लाष्टसँग दुःखेसो पोख्दै भने, ‘सुत्न खोज्छु शरीरको भाग चिलाएर हैरान बनाइसक्योे ।’

दिउँसोभन्दा राति र बिहानीपख शरीर चिलाउने गरेको उनले बताए । ‘कारागार आउनुभन्दा अगाडि एक ठाउँमात्र दाद आएको थियो’ उनले भने, ‘अहिले शरीर भरि लुतो र दाद फैलियो । साँझ परेपछि सुत्न ओछ्यानमा पल्टेको मात्र हुन्छु । शरीर चिलाउन शुरू हुन्छ ।’ रातभरि शरीर कन्याएर रात काट्ने गरेको उनले बताए । ‘लुतो र दाद आएको ठाउँमा लगाउने मलहम पनि छ । लगाएको केही बेरसम्म ठीक भए पनि त्यसपछि फेरि उस्तै चिलाउन शुरू हुन्छ’ उनले भने, ‘हातको नङले कन्याउँदा शरीरबाट रगत निस्कन्छ ।’

मोरङ कारागारमा छाला रोगीका बिरामी जितेन्द्र प्रतिनिधि मात्र हुन् । यहाँ सुन्दै अचम्म लाग्ने छाला रोगीका बिरामीहरू छन् । क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा ९० प्रतिशत छाला रोगीका बिरामी रहेका छन् । लागूऔषध मुद्दामा कैद भुक्तान गर्दै आएका धरान–८ का ३४ वर्षीय सन्दीप साहको शरीरमा पनि रातो फोका भएका दादहरू शरीरभरि छन् । चिकित्सकले लुतो भएको जानकारी दिएपछि औषधि सेवन गर्दै आएका साहले विगतमा भन्दा अलिक जाति हुँदै गएको बताए । ‘चिकित्सक आएर औषधि दिएपछि अहिले अलिक ठीक भएको छ’ –उनले भने ।

हालै विराटनगर महानगरपालिकाले मोरङ कारागारका कैदी बन्दीहरूको लागि स्वास्थ्य शिविर आयोजना गरेको थियो । महानगरले आयोजना गरेको शिविरमा ९० प्रतिशत कैदीबन्दीमा छालासम्बन्धी रोगका बिरामी भेटिएको विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । शिविरमा ३ सय ९६ जना कैदी बन्दीको स्वास्थ्य जाँच गर्दा ३ सय ५० जनामा छालासम्बन्धी रोग भेटिएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

अन्य ४६ जनाको आँखामा समस्या भेटिएको थियो । तीन सय जनाको क्षमता भएको कारागारमा सोमबारसम्म ९ सय २६ जना कैदीबन्दी छन् । ८८ जना महिला र ८ सय ३१ जना पुरूष कैदी बन्दी र ७ जना बालबालिका रहेको कारागारका जेलर सुवासकुमार लामिछानेले जानकारी दिए । समय अभावले गर्दा सबै कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्न नसकिएको जनस्वास्थ्य महाशाखाका प्रमुख कार्कीले बताए । बाँकी रहेका कैदीबन्दीको स्वास्थ्य जाँच पुनः गरी महानगरपालिकाले औषधि पनि वितरण गर्ने बताए । पहिलो पटक महानगरले आयोजना गरेको शिवरमा १ लाख ५० हजारको औषधि वितरण गरेकोे कार्कीले बताए ।

सरसफाइको कमीले कारागारमा छाला रोगी बढेको छाला रोग विशेषज्ञ डा. राजीव यादवले बताए । उनका अनुसार लुतो, दाद र एलर्जीका बिरामी बढी रहेको जानकारी दिए । सरसफाइको कमी र नियमित औषधि सेवन नगर्नाले छाला रोगी बढेको उनले बताए । ‘छाला रोग सरूवा हो’ उनले भने, ‘साँघुरो कोठामा छाला रोगीका बिरामीहरू छन् । एकबाट अर्कोमा यो रोग सर्दछ ।’ मुख्य कुरा सरसफाइमा ध्यान नदिँदा कारागारमा छाला रोगी बढी देखिएको उनले बताए । ‘छाला रोगीले घाममा निस्कनु पर्दछ । घामको किरणले छालाको सङ्क्रमण नष्ट गर्दछ’ उनले भने, ‘सफा कपडा प्रयोग गरी तीन हप्तासम्म नियमित औषधि सेवन गरेमा यो रोग ठीक हुन्छ ।’ पर्याप्त मात्रामा पानी पिउने, सागसब्जीको बढी प्रयोग गर्नुको साथै घाममा निस्किँदा सनस्क्रिम र मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नाले पनि छालाको समस्याबाट बच्न सकिने उनको भनाइ छ ।

स्वास्थ्य जाँच र औषधिको माग
क्षमताभन्दा बढी कैदीबन्दी भएको कारणले गर्दा पनि मोरङ कारागारमा विभिन्न रोगका बिरामीहरू छन् । यहाँका कैदीबन्दीहरूले मासिक रूपमा स्वास्थ्य जाँच र नियमित औषधिको व्यवस्था गरिदिन राज्यसँग माग गरेका छन् । बिरामी परेका र सिकिस्त बिरामी भएका कैदीबन्दीलाई उपचारको लागि कोशी अस्पताल लैजाने गरिएको छ । ‘कैदी बन्दीको स्वास्थ्य अवस्था कस्तो छ ? भनेर स्वास्थ्य परीक्षण हुने गरेको छैन’ कारागारका नाइके सूर्यविक्रम नेपालले भने, ‘मासिक रूपमा चिकित्सकबाट कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण भए कैदी बन्दीले स्वास्थ्य लाभ लिन्थे ।’

अहिले आँखा र छाला रोगीका बिरामी बढी देखिएकोले तत्काल स्वास्थ्य परीक्षण गरी औषधि आवश्यक रहेको उनले बताए । कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी भएकोले विभिन्नखाले रोग देखापरेकोले आवश्यकता हेरी स्वास्थ्य परीक्षण गरिनुपर्ने उनको भनाइ थियो । कैदीबन्दीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कारागारमा एकजना अहेवको दरबन्दी रहेको छ । एक वर्षदेखि दरबन्दीमा अहेव मन्त्रालयले पठाएको छैन । दरबन्दीमा रहेका पदमा चिकित्सक पठाउन पहल गर्दै आएको जेलर लामिछानेले बताए ।