एटलान्टामा आइतबार सम्पन्न ‘मिस युनिभर्स’ को ताज दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीले जितेकी छन् ।

पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया तुन्जीले मिस युनिभर्सको ताज जितेकी हुन् ।

तुन्जीले आफ्नो समापन भाषणमा युवायुवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन् । ‘म यस्तो संसारमा हुर्कें, जहाँ मेरोजस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ’ –प्रतियोगितामा उनले भनेकी थिइन् ।

एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित भव्य प्रतियोगितामा तुन्जीले मिस युनिभर्सको लागि भेला भएका ९० भन्दा बढी प्रतियोगीलाई हराएकी थिइन् । मिस युनिभर्स २०१८ विजेता फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज पहिराइदिएकी थिइन् ।