धरान/ एक दशकअघिसम्म एक–दुई बोटमात्र रोपिने किवी फल अहिले इलामको कुल भू–भागको साढे १ प्रतिशतभन्दा बढी जमिनमा खेती हुन थालेको छ ।

किवीबाट मात्रै इलामले करिब २ करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (किवी जोन) का महासचिव गङ्गाबहादुर विष्टका अनुसार इलाममा एक सिजनमा करिब १ लाख केजीभन्दा बढी किवी उत्पादन हुन्छ । औषतमा २ सय ५० रुपैयाँ केजी बिक्री गर्दा पनि अढाई करोडभन्दा बढी आम्दानी हुने उनको भनाइ छ । उनले भने, ‘इलाममा झण्डै २० हजार रोपनीमा किवी खेती हुन थालेको छ । दशकअघिबाट मात्रै व्यवसायिक खेती हुन थालेको हो ।’ हाल इलाम जिल्लाको १० दशमलव १७ वर्ग किलोमिटरमा किवी खेती हुने गरेको छ ।

इलाममा रातो र हरियो दुई प्रजातिका किवी खेती हुने गरेको छ । ‘रातो असोज अन्तिमसम्ममा पाकिसक्छ भने हरियो चाहिँ मङ्सिरको अन्तिमसम्ममा पाकिसक्छ’–इलाम उद्योग वाणिज्य सङ्घका सचिवसमेत रहेका व्यवसायी श्रीबहादुर विष्ट भन्छन् । पछिल्लो समय हेवार्ड जातको किवीको पनि व्यवसायिक खेती शुरु भएको छ । जुन विश्वस्तरमै उच्च माग रहेको छ । किवी खेती हुनुपूर्व त्यहाँ परम्परागत मकै, कोदोलगायत रोपिँदै आएको थियो । अहिले किवी जोनमा मात्रै ५ सयभन्दा बढी कृषक, सहकारीहरू दर्ता भइसकेका छन् । २० रोपनीमा किवी खेती गर्ने कृषकले वार्षिक १५ देखि २० लाख रुपैयाँ आम्दानी लिने गरेको उनको भनाइ छ ।

किवी खेती समुद्र सतहबाट १ हजार २ सय मिटरभन्दा माथि मात्रै किवी खेती हुने गरेको उवासङ्घका सचिव विष्ट बताउँछन् । इलामको सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ नगरपालिका, रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, माईजोगमाईमा खेती गरिँदै आएको छ ।

त्यसमध्ये किवीको लागि हाल सन्दकपुर पहिलो नम्बरमा पर्न आउने किवी कृषकसमेत रहेका किवी जोनका महासचिव विष्टले बताए । त्यहाँको किवीको माग काठमाडौंपछि झापाको बिर्तामोडलगायतमा बढी हुने गरेको जनाउँदै केही अंश भारतमा समेत पुग्ने गरेको उनले बताए । पछिल्लो समय चीनको विशेष प्रशासनिक क्षेत्र हङ्कङमा पनि माग हुन थालेको छ । किवीको बजार प्रवद्र्धन गर्नका लागि पुषको ३ र ४ गते धरानमा किवी फल एक्स्पो हुन लागेको छ । जहाँ ७ हजार केजी किवी बिक्री गरिसक्ने लक्ष्य आयोजक इलाम उद्योग वाणिज्य सङ्घले लिएको छ ।

एक्स्पोमा १० वटा स्टलमध्ये ७ वटा स्टल किवी फलको स्टल हुनेछ भने तीनवटा स्टलमा चिया, ललीपप, घ्यूलगायतको परिकारको स्टल रहने पर्यटन व्यवसायी कृष्ण साहले बताए । इलामका उच्च गुणस्तरीय तीनवटा वर्गीकरण गरेर किवी बिक्रीका लागि ल्याउन लागिएको छ । जसलाई हेवार्ड जातको किवी एकसय ग्रामभन्दा माथिको र ७० ग्रामभन्दा माथिको किवी बिक्रीका लागि ल्याइन लागेको छ । एक्स्पोमा किवी खेतीको सम्भावनाबारे पनि कृषक तथा व्यापारीहरूसँग छलफल हुने बताइएको छ ।