धरान/ भोजपुर रामप्रसाद गाउँपालिका बासीखोरा–३ का राजकुमार राई ६४ वर्षका भए । उमेरले ६४ काटे पनि अझै लक्का जवान देखिन्छन् । गाउँमा त्यति बेला स्कुल थिएन । भोजपुर सदरमुकाको विद्योदय माविबाट २०३५ सालमा कक्षा १० पास गर्ने उनी गाउँका एक्ला किराती हुन् ।

सम्पन्न परिवारका राईलाई उनका बुबा जसप्रसाद राईले भोजपुर लगेर पढाए । पाँचवटा आमाका १८ भाइमध्येका माइली पटिकी माइला भाइ राजकुमार साँचिकै राजकुमार थिए । उनका बुवा २००७ सालको क्रान्तिका अगुवा थिए । मैनामैनी, रामपुर, धनकुटाको कमाण्ड समालेका जसप्रसाद रामप्रसाद राईको नेतृत्वमा आन्दोलनमा होमिएका थिए । राजा महेन्द्रको निगाहामा उनी गाउँपञ्चायतको प्रधानमञ्च पनि भए । बुवा र काका रामप्रसाद राईको प्रभावमा राजकुमार राई पनि सानैदेखि क्रान्तिकारी भए । पढ्दै गर्दा उनी आन्दोलनको मोर्चामा सहभागी थिए । अन्याय अत्याचार सानैदेखि नसहने राजकुमारले २०२५ सालमा सिडियो कार्यालय जलाएका थिए ।

कयांै दिन जेल बसेको उनीसँग अनुभव छ । बासीखोराबाट सामल बोकेर भोजपुर सदरमुकाम पढेका राई पढ्दै गर्दा राजनीतिमा लागेका थिए । गाउँ घरमा हुने सामान्ती प्रवृत्तिको उनी कट्टर विरोधी थिए । गाउँलेहरूलाई ऋण दिएर वर्षौं व्याज स्वरूप कोदो रोपाउने, मकै गोडाउने सामान्तीहरूलाई उनले कुटेर तह लगाएका थिए । बुवा पनि ब्रिटिस लाहुरे भएका कारण राजकुमार पनि भारतीय सेनामा २०३६ सालमा भर्ती भए । सानैदेखि बक्सिङ खेलमा चासो देखाउने राजकुमार भारतीय सेनामा भर्ती भए पछि औपचारिक रूपमा बक्सिङको प्रशिक्षण लिएर खेल क्षेत्रमा लागे ।

रिगरुटबाट जागिर शुरु गरेका राजकुमार नायकको रूपमा २०५४ सालमा पेन्सन पकाए । भारतीय भूमि रक्षाका लागि कोसोभो कारगिल युद्ध लडे । जम्मु–काश्मीरमा लामो समय बसे । उनको पल्टनको नं. ९४१६०३६ थियो । पल्टनमा उनलाई ३६ भनेर चिनिन्छ । ३६ उनसँग संयोग मिलेको छ । स्कुल पढ्दा उनको रोल नं. पनि ३६ थियो । आर्मी नं.पनि ३६ पाए । अहिले मोवाईल नं. पनि ३६ अन्तिममा भएको बोक्छन् । सेनामा जागिर पनि ३६ सालदेखि खाने अवसर जु¥यो । उनी पेन्सन पकाएर पनि भारतको लखनउमा स्टेट बैङ्क अफ इण्डियाको सुरक्षा गार्डमा कार्यरत छन् ।

२०५५ सालमै उनी सरकारी बैङ्कमा भर्ती भएका हुन । भारतले सेनामा अवकास प्राप्त सैनिकहरूलाई बैङ्कहरूमा सुरक्षा गार्डको जागिर दिने गर्छ । पेन्सन पाकेको एक वर्षमै उनले बैङ्कमा जागिर पाए । बुवा जसबहादुर राईले छोरो पनि राजनीति गरोस् भनेर चाहेका थिए तर उनी सेनामा भर्ती भए । सेनाबाट अवकास लिएर नेपाल फर्किएराजनीति गर्न चाहेका थिए । त्यो पनि भारतीय सरकारले अर्को जागिर दिएर अल्झाई थियो । भरखर पेन्सन पट्टा मिलाउन धरानस्थित भारतीय बेस क्याम्प आएका राजकुमार राई भन्छन्–‘काम गर्ने इमान्दार व्यक्तिलाई भारत सरकारले छाड्दैन । नेपाल आउने र बाबुको सपना पूरा गर्न मैले पाएको छैन ।’

बैङ्कको जागिरबाट अवकास पाउन उनको अब ७ महिना बाँकी छ । कागजमा उनी अब ७ महिना पछि ६०वर्ष पुग्दै छन् । तर, उमेरले उनी अरू तीन वर्ष अगाडि छन् । नेपाल ७ महिनापछि भने नेपाल फर्केर केही गर्ने उनको सोच छ । २०४० सालमा विवाह गरेका राईका तीन छोराहरू छन् । तीनै जना भरतीय सेनामा भर्ती गरिसकेका छन् । श्रीमती आशासँगै उनी लखनऊको १४ फर्लानमा बस्छन् । भारत सरकारले उनलाई जमिन दिएको छ ।

त्यहीँ घर बनाएर बस्दै.आएका छन् । हक्की स्वभावका राई अन्याय अत्याचार सहँदैनथे । त्यो उनको वंशानुगत गुण थियो । सानैदेखि सामान्ती प्रवृतिको विरोधी थिए । सिडियो, प्रहरी, सरकारी व्यक्तिलाई कुटेर उनी गाउँमा पनि निकै चर्चित थिए । राजकुमार भन्ने बितिकै बासीखोरामा मान्छेहरू सर्तक हुने गर्थे । पछि पल्टनमा पनि हाकिमहरूको हुुकुमी शैलीको विरोध गरे । अन्यायमा परेका सिपाहीँको पक्षमा लडे । त्यही भएर उनले योग्यता अनुसारको बढुवा पाएनन् ।

यति बेला उनी लखनऊमा बस्दैं आएका छन् । लखनऊको १४ फर्लानमा उनीजस्ता दोहोरो पेन्सन पकाउन लागेका एक दर्जन नेपालीहरू छन् । बैङ्कमा पेन्सन पकाएर धरान आएर बस्ने उनको सोच छ । २०३६ सालमा भारतीय रुपैयाँ १७५ बाट जागिर शुरु गरेका उनले सेनाको पेन्सन नेपाली ३२ हजार आउँछ । बैङ्कबाट उनले अब ५६ हजार पेन्सन पाउँदै छन् । ७ महिनापछि नेपाल फर्केर समाजसेवा गर्ने इच्छा भएको उनले बताए ।