पथरीशनिश्चरे / प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशमा हुने सबै प्रकारका हिंसाको अन्त्य गर्न मन्त्रालयबाट हुने पहलमा कुनै कसूर बाँकी नराख्ने बताएका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका, शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) र लुथरन विश्व फेडेरेशन ( एलडब्लुएफ) द्वारा पथरी क्याम्पसमा आयोजित समापन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको समेत सन्दर्भको कार्यक्रममा युएनएचसीआर दमक सव– अफिस प्रमुख खालिद फान्साले लैङ्गिक हिंसा अन्त्य गर्दै मानव अधिकार स्थापना गर्नमा सबै लाग्नुपर्नेमा जोड दिए । उनले भुटानी शरणार्थीहरूसँगको समन्वय तथा रेखदेखमा सघाएको भन्दै पथरीशनिश्चरे नगरप्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट बास्तोलालाई सम्मान–पत्रले सम्मानित गरेका छन् ।

त्यसक्रममा सन्देशमूलक कचहरी नाटक प्रस्तुत गर्नुका साथै विद्यालयस्तरीय कविता, म्युजिकल चियर्स र हण्डिफोर प्रतियोगितासमेत सम्पन्न भएका छन् । वडानम्बर १, २, ३, ७ र १० का विद्यालय, सङ्घ–संस्थाहरू सहभागी कार्यक्रममध्ये कविता प्रतियोगितामा खुलातर्फ बालकृष्ण अधिकारी प्रथम, प्रेमकला ढुङ्गाना द्वितीय तथा विद्यालयस्तरतर्फ रेडस्टार बोर्डिङका त्रियुगा लिम्बू पुरस्कृत भएकी छन् ।
म्युजिकल चियर्सतर्फ एभरेष्ट बोर्डिङका एल्सन राई, कृतिका खनाल र लक्ष्मी पाठक क्रमशः प्रथम, द्वितीय र तृतीय बनेका छन् । हण्डिफोरतर्फ एभरेष्ट बोर्डिङकै दीपेश खनाल, सन्दीप राई र विशाल मोक्तान क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।