सङ्खुवासभा / सङ्खुवासभा जिल्लाको खाँदबारीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा विद्यार्थी र प्रहरीले सडक नाटक प्रस्तुत गरेका छन् ।
बरुण बहुमुखी क्याम्पस खाँदबारी र जिल्ला प्रहरी कार्यालयका साथै मकालु नाट्य समाजले नाटक प्रस्तुत गरेको हो । बरुण क्याम्पसमा अध्ययनरत पेमा टि शेर्पाद्वारा लिखित एवम् निर्देशित नाटकमा विद्यार्थीहरूदेखि प्रहरीसम्मको भूमिका समेटिएको थियो ।

कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी चित्ररेखा अधिकारीले लैङ्गिक हिंसाको उत्पत्ति र समाधानका उपायसम्मका कुरा नाटकले छर्लङ्ग पारेको बताइन् । उनले घरैबाट हिंसा शुरु हुने भएकोले जसको निराकरणमा सबैको ध्यान जान जरुरी रहेको बताइन् । जिल्लाका सरोकारवालाहरू तथा विद्यार्थीहरूको उपस्थितिमा सडक नाटक प्रस्तुत गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले यस प्रकारका कार्यक्रमहरू समाजका विभिन्न तहसम्म गर्नुपर्ने बताएका छन् ।

समाजलाई सकारात्मकतातर्फ उन्मुख गराउन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने उनले बताए । मकालु नाट्य समाजका संस्थापक ताराबहादुर बुढाथोकीले कार्यक्रममा बोल्दै यस्ता नाटकले समाज परिवर्तनमा महŒवपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताए । उनले स्थानीय तहहरूले यस्ता क्रियाकलापमा ध्यान दिनुपर्ने विषय पनि सुझाएका छन् ।

समाजिक विकासका क्षेत्रमा कम ध्यान जाने गुनासो आइरहेको समयमा सडक नाटकले महŒवपूर्ण भूमिका खेल्ने विश्वास रहेको प्रजिअ जीवनप्रसाद दुलालले बताए । हिंसाको शुरुवात घरैबाट हुने र अन्त्य पनि घरमा नै गर्न सकिने कुरा नाटकले सन्देश दिएको उनको भनाइ छ ।

घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज भन्ने नाराका साथ गत मङ्सिर १० गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालित छ । पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले १६ दिने अभियान सञ्चालन गरिएको हो ।