विराटनगर/ धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्था लि. को विराटनगरस्थित शाखा कार्यालयका प्रमुखसहित सातजना कर्मचारीले फर्जी सदस्य खडा गरी करोडौं रुपैयाँ अपचलन गरेको रहस्य सार्वजनिक भएको छ ।

नाडेपको शाखा कार्यालय विराटनगर अन्तर्गत केन्द्र नम्बर २१ र २४ का प्रमुखसहित सातजना कर्मचारीले सर्वसाधारणलाई नक्कली ऋणी देखाउँदै १ करोड ९३ लाख २३ हजार १ सय १९ रुपैयाँ अपचलन गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो । ऋणीले पत्तै नपाई फर्जी कागजात मिलाएर तत्कालीन विराटनगर शाखा प्रमुख बाराका ५२ वर्षीय विजयचन्द्र प्रसाद, वर्तमान प्रमुख रङ्गेली नगरपालिका–१ का ३९ वर्षीय इन्द्रमणि बस्नेत, लेखा सहायक अधिकृत विराटनगर–३ का ४७ वर्षीय नारायण खराल, सोही ठाउँकी ३२ वर्षीय लुना पराजुली, फिल्ड सहायक विराटनगर–१ का ३५ वर्षीय दीपक भट्टराई, लघुवित्त विराटनगर शाखाका २१ नम्बर केन्द्र प्रमुख विराटनगर –१४ की ४५ वर्षीया मञ्जुलादेवी यादव र २४ नम्बर केन्द्र प्रमुख सोही ठाउँकी ४९ वर्षीया बेबीकुमारी यादवले नाडेप लघुवित्तको रकम अपचलन गरेको अभियोग पत्रमा उल्लेख छ ।

लुघवित्तको ठूलो रकम अपचलन गर्ने लेखा सहायक अधिकृत विराटनगर–३ का नारायण खराल र लेखा सहायक अधिकृत सोही ठाउँकी लुना पराजुलीलाई मोरङ प्रहरीले कात्तिक २१ गते नै पक्राउ गरेको थियो । नाडेपको केन्द्रीय कार्यालयमा गरेको उजुरीका आधारमा छानबिनपछिको निष्कर्षसहित नाडेपका प्रमुख कार्यकारी अधिकृत उपेन्द्रबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका थिए । पीडितले दिएको जाहेरीको आधारमा लघुवित्तको सहायक लेखा अधिकृतहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए ।

प्रहरीले सहायक लेखा अधिकृत पराजुली र खराललाई पक्राउ गरी उच्च अदालत विराटनगरमा ‘बैङ्किङ कसूर’ मुद्दामा म्याद थप गरी अनुसन्धान गरेको थियो । प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरेपछि शाखा प्रमुखसहित ५ जनालाई फरार र पक्राउ परी हिरासतमा रहेका दुईजना गरी ७ जनालाई प्रतिवादी बनाएर उच्चअदालत विराटनगरमा बैङ्किङ कसूर अभियोगमा मुद्दा दर्ता गरेको थियो । उच्चअदालतको वाणिज्य इजलासमा भएको थुनछेक बहसपछि मङ्गलबार उच्चअदालत विराटनगरका न्यायाधीशद्वय लेखनाथ घिमिरे र महेश शर्माको संयुक्त इजलासले पराजुली र खराललाई जनही १५–१५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । अदालतले तोकेको धरौटी रकम बुझाएर मङ्गलबार पराजुली र खराल रिहा भएको उच्चअदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए ।

बैङ्किङ कसूर मुद्दामा फरार भएका विराटनगर शाखाका प्रमुख चन्द्रप्रसादसहित अन्य ५ जना कर्मचारी फरार छन् । फरार भएका पाँचजनाको हकमा पनि अदालतले उपस्थित हुन म्याद जारी गरेको छ । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् उच्चअदालत विराटनगरमा दायर गरेको अभियोग पत्रअनुसार लुघवित्तका ७ जना कर्मचारीले १ सय ६ जना नक्कली सदस्य खडा गरेर ऋणी बनाउँदै ठूलो रकम अपचलन गरेको देखिएको छ । विराटनगर–१४ (तत्कालीन–१८) जतुवाका सर्वसाधारणलाई ऋण प्रवाह गरेको देखाएर कर्मचारीले नै रकम लिने गरेको रहस्य प्रहरीको अनुसन्धानबाट खुलेको हो । उनीहरूले नाडेप लघुवित्त संस्थाको केन्द्र नं. २१ बाट ८७ लाख २५ हजार २ सय २३ रुपैयाँ र केन्द्र नं. २४ बाट १ करोड ५ लाख ९७ हजार ८ सय ९६ रुपैयाँ अपचलन गरेको अभियोग पत्रमा उल्लेख छ ।

ऋण नलिँदै ऋणी बन्नुपरेको गुनासो सर्वसाधारणले गरेपछि नाडेपको केन्द्रीय कार्यालयले तीन सदस्यीय छानबिन समिति गत वैशाख १९ गते गठन गरेर फिल्डमा पठाएको थियो । शाखा कार्यालय र दुईवटा केन्द्रका अधिकारीमाथि छानबिन गर्दा सर्वसाधारणको नाममा रकम झिकेर अपचलन गरेको देखिएको थियो । लघुवित्तमाथि नेपाल राष्ट्र बैङ्कले समेत अनुगमन गरी कर्मचारीको मिलेमतोमा अपचलन गरिएको ठहर गरेकोको अभियोग पत्रमा उल्लेख छ । सर्वसाधारणले लिँदै नलिएको ऋणको भारलाई तत्काल हटाउनका लागि मागसमेत गरेका छन् ।