उदयपुर/ उदयपुरको रौतामाई होमस्टेमा आउने पर्यटकहरूले हिमालको मनोरम दृश्यसँगै स्थानीय परिकारको स्वादमा बढि रुचि राख्ने गरेका छन् । रौतामाई गाउँपालिका–६ निकासमा रहेको रौतामाई विकास सामुदायिक होमस्टेमा आएका पाहुनाहरूले मनोरम हिमशृङ्खलाको दृश्य नियाल्दै स्थानीय उत्पादन अर्गानिक खानाको स्वादमा बढी रुचि राख्ने गरेका हुन् ।

जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौता पोखरीमा प्रवेशद्वार निकासमा अवस्थित होमस्टेमा पर्यटकहरूले स्थानीय जातका कुुखुराको परिकार, मकैको भात, सिस्नुको दाल, कोदोको ढिँडो, कोदोको रोटी, भुटेको मकै भटमास, गुन्द्रुकको अचारलगायतका स्थानीय उत्पादनमा तयार बनाइएका अग्र्यानिक खानाको परिकार प्रति बढी रुचि राख्ने गरेको रौतामाई विकास सामुदायिक होमस्टेका अध्यक्ष जितशेर राईले बताए ।

२०७२ सालमा ११ घरलाई समेटेर होमस्टेको स्थापना भएको थियो । सदरमुकाम गाईघाटबाट रौता होमस्टे पुग्नकालागि करिब ४२ किलोमिटर सडकको यात्रा गर्नु पर्ने अध्यक्ष राईले बताए । हामस्टेमा चिसोमा भन्दा बढी गर्मीमा पर्यटकहरू आउने गरेका छन् । गार्मी छल्नकै लागि भए पनि रौताको दर्शनसँगै होमस्टेमा बस्न आउने गरेको उनले बताए ।

सर्वोच्च शिखर सगरमाथा, चोयु, कञ्चनजङ्घा, मकालु, ल्होसे, कुम्भकर्ण लगायतका विश्वका चर्चित हिमशृङ्खलाको प्रत्यक्ष अवलोकनसँगै स्थानीय उत्पादन अर्गानिक खाना र लोकल कुखुराको परिकारप्रति पर्यटकहरू आकर्षित हुने गरेको अध्यक्ष राईले बताए । कच्ची सडकले थकाइ लागे पनि उक्त क्षेत्रमा आएपछि देखिने रमणीय दृश्यले गर्दा सबै बिर्सने गरेको उनले बताए ।

अहिलेसम्म होमस्टेमा आन्तरिक पर्यटकहरू मात्रै आउने भएकाले बाह्य पर्यटक भित्र्याउनका लागि रौता पोखरीसँगै होमस्टेको पनि प्रचार प्रसारमा कमी भएको हो कि भन्ने लागेको अध्यक्ष राईले बताए । उनले भने ‘होमस्टेलाई अझै राम्रो बनाउँदै लैजाने सोचमा छौँ । अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउन लागी परेका छौँ ।’

जिल्लाको सदरमुकाम गाईघाट, बेल्टार, रामपुर, कटारी र छिमेकी जिल्ला सिराहा, सप्तरी, सुनसरी, खोटाङ, झापा, मोरङ र काठमाण्डौबाट समेत पर्यटकहरू रौता पोखरीको दर्शन गर्न आउने गरेका छन् । तर, होमस्टेमा जिल्ला र छिमेकी जिल्लाको मात्रै पर्यटकहरू आउने गरेको अध्यक्ष राईले बताए ।

जिल्लामै पहिलो होमस्टे उदयपुरगढीमा स्थापना भएको हो भने दोस्रोमा रौतामाई होमस्टे स्थापना भएको अध्यक्ष राईले बताए । उनले भने ‘होमस्टेको लागि हामीले पालिका समक्ष माग गरेको छैनौँ र पालिकाले पनि दिएको छैन ।’

११ वटा होमस्टे स्थापना भए पनि अहिले सक्रिय रूपमा करिब ९ वटा मात्रै सञ्चालन भएको रौतामाई विकास सामुदायिक होमस्टेका सचिव उम्ब राईले बताइन् । प्रत्येक घरमा आगन्तुक पाहुनाहरूलाई ४ जनादेखि १५ जनालाई समेत सुताउन सक्ने व्यवस्था भएको उनले बताइन् ।

पाहुनाहरूले खानामा स्थानीय मकैको भात र सिस्नुको दाल, गुन्दु्रकको अचार अनि लोकल कुखुराको परिकार खोज्ने गरका छन् भने खाजामा कोदोको रोटी र भुटेको मकै भटमास नै रुचाउने गरेको सचिव राईले बताइन् । उनले भनिन् ‘उहाँहरूले पनि स्थानीय उत्पादनलाई नै जोड दिन आग्रह गर्नुहुन्छ । हामीले पनि स्थानीय उत्पादन अर्गानिक खानालाई नै पहिलो प्रथामिकतामा राखेका छौँ ।’

वर्षायाममा अत्याधिक वर्षा हुँदा सडक केही दिनसम्म अवरुद्ध हुने भएकाले पर्यटकहरूलाई समस्या हुने गरेको छ । अन्य बेला कच्ची सडकको प्रयोग गर्दै पर्यटकीय स्थल रौता पोखरीको दर्शन र दृश्यावलोकन गर्नका लागि सहज रूपले आउन सकिने सचिव राईले बताइन् । चिसो मौसम हुने भएकाले गर्मीयाममा पनि खान बस्नको लागि सहज हुने उनले बताइन् ।

यहाँ विद्युत् लाईन नभएकाले सोलारबाट नै बत्ती बालिएको छ । खानेपानीको कुनै समस्या नभएको सचिव राईले बताइन् । स्थानीय जातको मकै र कोदो तथा खाद्य वस्तु खरिद गर्नका लागि कुनै समस्या नभएपनि हरियो तरकारीका लागि अलिक समस्या हुने गरको उनले बताइन् । वर्षामा वर्षाले मर्ने र हिउँदमा तुसारोले मार्ने गरेको उनले बताइन् ।

यहाँ प्रायः सबै खालको हरियो सागपात उत्पादन हुन्छ । तर, हिउँदमा तुसारो र किराले समस्या पर्ने गरेको सचिव राईले बताइन् । रासायनिक मल प्रयोग नगरी गाई, भैंसीको गोठे मल प्रयोग गरेर आफले उत्पादन गरी होमस्टेमा प्रयोग गर्ने गरेको उनले बताइन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रौता पोखरीको दर्शन तथा दृश्यावलोकन गर्नका लागि शुक्रबार र शनिबार बढी आउने गरेको सचिव राईले बताइन् । नयाँ भन्दा पनि होमस्टेसँग परिचित पर्यटकहरू नै बढी आउने गरेका छन् । प्रचार प्रसारको कर्मीले गर्दा सोचे जति पर्यटक भिœयाउन नसकिएको हुन सक्ने उनले बताईन् ।