भण्टाबारी / सुनसरीको कोशी गाउँपालिकामा आगलागी हुँदा ३६ लाख बराबरको क्षति भएको छ । शुक्रबार कोशी गाउँपालिका–६ स्थित श्रीपुरमा घुरबाट आगलागी हुँदा सो बराबरको क्षति भएको स्थानीय प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल बिओपी लाहीका अनुसार स्थानीय दुखी यादवको जस्ताले छाएको गाई गोठबाट घुर बाल्ने क्रममा आगलागी हुँदा यादवको दुईवटा जस्ताले छाएको घर, एउटा जस्ताले छाएको गोठ पूर्णरूपमा जलेर नष्ट हुनुका साथै दुईवटा बाख्रा, खाद्यान्न तथा लत्ताकपडा गरी ११ लाखको क्षति भएको हो भने दशरथ मुखियाको २ लाख रुपैयाँसहित ५५ तोला चाँदी, ३ वटा बाख्रा, खाद्यान्न तथा लत्ताकपडा गरी २५ लाखको क्षति भएको छ ।

सशस्त्र प्रहरी बल बिओपी लाहीबाट सइ पवनकुमार यादवको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोली, नेपाल प्रहरी, स्थानीयवासी तथा इनरुवा र इटहरीबाट आएको दमकलले एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । यसैबीच आगलागी पीडितलाई कोशी गाउँपालिकाले ५० केजी चामल, ५ केजी भुजा, ५ केजी चिउरा, ५ केजी तेलसहित राहत वितरण गरेको छ ।