इटहरी / तरहरा क्षेत्रमा एकपछि अर्को गर्दै सुन–चाँदी व्यापारीहरूले बचतकर्ताहरूको पैसा फिर्ता गर्न नसकेर हात उठाउन थालेका छन् ।
बचतकर्ताहरूको करोडौं लिएर व्यापारीहरू फरार भएपछि अहिले तरहरा क्षेत्रका बचतकर्ताहरूमा रुवाबासी मच्चिएको छ । बचतकर्ताहरूको पैसा फिर्ता दिन नसक्ने भन्दै सञ्चालकहरूले हात उठाउन थालेका हुन् । तरहरा क्षेत्रमा सबैभन्दा धेरै बचतकर्ता डुबाउने सुमन गिरी अहिले तरहरा छोडेर काठमाडौं बस्दै आएका छन् ।

बचतकर्ताहरूको आँखा छल्दै गिरी काठमाडौं फरार भएका हुन् । तरहरा क्षेत्रका सर्वसाधारण बचतकर्ताहरूको करोडौं रकम तिर्न नसकेर उनी काठमाडौंमा लुकीछिपी बस्दै आएको बचतकर्ताहरूले गुनासो गरेका छन् । आफन्त र स्थानीयको बचत फिर्ता गर्न नसकेपछि सस्तो जग्गालाई महँगो मूल्यमा मूल्याङ्कन गरेर दिए पनि अझै बचतकर्ताहरूले पैसा फिर्ता पाएका छैनन् ।
कुनै समय जनताको पैसा खेलाउन पाएर मालामाल भएका सुन व्यवसाय अहिले ओरालो लाग्ने क्रममा छ ।

इटहरी तथा तरहरा क्षेत्रका सुन पसलहरू अहिले आर्थिक सङ्कटमा गुज्रन थालेका छन् । सुन पसलमा राखेको पैसा फिर्ता लिन पुग्नेहरू दैनिक रित्तोहात फर्कन बाध्य छन् । तरहराका पुराना सुन व्यवसायी गजमेर ज्वेलर्सका सञ्चालक दीपक गजमेर पनि अहिले फरार छन् । बचतकर्ताहरूलाई उनले पनि करिब ३ करोडभन्दा बढी फिर्ता गर्न सकेका छैनन् ।

सुन पसलमा राखेको रकम अहिले पसलेहरूले फिर्ता दिन नसकेपछि अधिकांश सर्वसाधारण रुष्ट हुन थालेका छन् । एक वर्षअगाडि सिआईबीले सुन पसलमा छापा मारेसँगै बचतकर्ताले सुन पसलमा पैसा राख्नु हुँदैन रहेछ भन्दै धमाधाम राखेको पैसा निकाल्न थालेपछि अहिले सुन व्यवसाय नै सङ्कटमा पर्न थालेको हो । तरहरामा रहेको सिंहदेवी ज्वेलर्स बचतकर्ताको करिब १५ करोड फिर्ता गर्न नसकेर बन्द हुन पुगेको छ भने सञ्चालक दीपक गजमेर परिवारसहित अहिले झुम्का कारागारमा छन् ।

इटहरीमा करिब १ सय ४२ सङ्घमा दर्ता रहेका सुन पसल छन् । त्योबाहेक करिब ५० वटा अरू छन् । सुन–चाँदी व्यवसायी सङ्घ तरहराका अध्यक्षसमेत रहेका दीपक गजमेर नै हाल थुनामा छन् । सर्वसाधारणको करोडौं रकम तिर्न नसकेपछि उनी अहिले झुम्का कारागारमा कैदी जीवन बिताउँदै छन् । उनी मात्र होइन, अहिले तरहरा क्षेत्रका व्यवसायीहरू टाट पल्टने अवस्थामा पुगेका छन् । धेरैजसो भाग्न थालेका छन् । तरहरामा मात्र सङ्घमा दर्ता भएका ४१ वटा सुन पसल छन् । अधिकांश सुन व्यापारीले बचतकर्ताको नाममा जम्मा भएको रकम जग्गा तथा अन्य व्यवसायमा लगानी गर्दै आएको व्यवसायीहरू स्वीकार्छन् ।

एक वर्षअगाडि नै बचतकर्ताको पैसा फिर्ता गर्न नसकेर मनकामना ज्वेलर्स तरहराका सञ्चालक रमेश गजमेरले आफ्नै घरमा आत्महत्या गरे । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि उनले आत्महत्या गरेको स्थानीय बताउँछन् । लामो समयसम्म बचतकर्ताहरूको पैसा फिर्ता गर्न नसकेपछि उनले आत्महत्या गरेको परिवारजन पनि स्वीकार्छन् ।

अवैध कारोबार धेरै
ल्हासामा सुन छ, कान मेरो बुच्चै, जनजीवनमा चलेको यस उखानले नेपाली बजारमा आउने सुनको प्रमुख स्रोत चीनको ल्हासा नै हो कि भन्ने देखाउँछ । तर, यथार्थ अर्कै छ । नेपाली बजारमा वैध रूपमा कारोबार हुने सुन अन्य मुलुकबाट आउँछ । त्यही तस्करी गरी आएको सुन पसलहरूसम्म पुगेर कारोबार हुँदै आएको थियो । कुन पनि सुन पसलले बचतकर्ताहरूको पैसा सुन पसलमा राख्न नपाउने कानूनी प्रावधान भए पनि अधिकांश सुन पसलहरूको धन्दा यसरी नै चल्दै आएको थियो । सुन पसलहरूले महँगंो ब्याजमा पैसा लिँदै आएका थिए । तर अहिले बचतकर्ताहरूले सुन पसलमा पैसा राख्दा समस्या हुने भन्दै धमाधाम बचत फिर्ता मागेपछि सुन पसलेहरूको उठीबास हुन पुगेको छ ।

जनताको पैसा डुब्दै
वित्तीय अपराधविरुद्ध पूर्वमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सुन पसलहरूमा छापा मारेसँगै बचतकर्ताहरूले रकम डुबेको थाहा पाए । गैरकानूनी वित्तीय कारोबार गर्ने सुन–चाँदी पसलमा राखेको पैसा फिर्ता नपाउँदा अधिकांश बचतकर्ताको बिल्लीबाठ हुन पुगेको बचतकर्ताहरू बताउँछन् । बचतकर्ताले महँगो ब्याजको प्रलोभनमा पारेर सङ्कलन गरेको पैसा सुन–चाँदी व्यवसायीले घरजग्गा र सुन–चाँदी खरिद बिक्रीमा उपयोग गर्दै आएका थिए । जसका कारण सुनसरीमा मात्र बचतकर्ताहरूको अर्बांै रुपैयाँ जोखिममा पुगेको छ ।