धरान ।  पत्रकार सन्तोष काफ्लेमाथि आक्रमणमा संलग्न आरोपितलाई कुटपिट तथा अङ्गभङ्गमा मुद्दा दायर भएको छ ।
धरान–१२ स्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूको सङ्घर्ष समितिका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । पीडित काफ्लेले ६ जनामाथि शुक्रबार उजुरी हालेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । इप्रका धरानले पत्रकार काफ्लेमाथि आक्रमण गर्नेमध्ये चारजनालाई बिहीबार केही घण्टापछि नै नियन्त्रणमा लिएको थियो । समितिले बिहीबार ११ बजे गर्न लागेको पत्रकार सम्मेलनमा ढिला गरी आएको भन्दै पत्रकार काफ्लेमाथि साङ्घातिक आक्रमण गरेका थिए । आक्रमणमा संलग्न समितिका अध्यक्ष तुलसीबहादुर विक, सचिव नरेश साही ठकुरी, दीपक राई र सङ्गीता राईलाई पक्राउ गरिएको थियो ।

पीडित पत्रकार काफ्लेले थप दुई जनाको नाम उजुरीमा उल्लेख गरेपछि उनीहरूलाई पनि पक्राउका लागि अदालतबाट आदेश ल्याइसकेको डिएसपी न्यौपानेले बताए । ‘६ जनाविरुद्ध उजुरी दिनुभएको छ, हामीले थप २ जनालाई पक्राउ गर्नका लागि अदालतबाट आदेश पनि ल्याइसकेका छौं, उनीहरू चाँडै पक्राउ हुन्छन्’–उनले भने । पत्रकार काफ्लेको आँखा तथा नाकमा गम्भीर चोट लागेको छ । आँखाको आँशु बग्ने नली च्यातिएकाले थप उपचारको लागि उनलाई विराटनगर आँखा अस्पतालमा लगिएको छ । ‘शल्यक्रिया गरियो, आँशु बग्ने दुई वटा नली लगाउनु प¥र्यो’ पीडित पत्रकार काफ्लेले भने ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १४ को कुटपिट वा अङ्गभङ्गसम्बन्धी कसूरको दफा १९२ को उपदफा ४ मा अङ्गभङ्ग गरेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । उपदफा ५ मा कुनै एउटा अङ्ग बेकम्मा पारी दिएको भए आधा सजाय अर्थात् ५ वर्ष कैद हुने र अङ्गभङ्ग भएको खत निको भई काम लाग्ने भएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको डिएसपी न्यौपानेले बताए ।

काफ्लेमाथि भएको आक्रमणको चौतर्फी रूपमा विरोध भएको छ । विभिन्न सङ्घ–संस्थाहरूले विज्ञप्ति जारी गर्दै घटनाको ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । पीडितहरूकै समाचार सङ्कलनका लागि पुग्दा उल्टो हातपात गरिनु निन्दनीय कार्य भएको भन्दै आपत्ति जनाएका छन् ।

dafa