पथरी / प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो लिम्बूले प्रदेशको नाम पहिचानकै आधारमा राखिने सरकारको तयारी भइरहेको बताएका छन् ।
मोरङ पथरीशनिश्चरे किरात याक्थुङ चुम्लुङ नगरसमितिले आयोजना गरेको चासोक तङ्नाम कार्यक्रममा बोल्दै आर्थिक मामिला मन्त्री लिम्बूले सो कुरा बताएका हुन् । प्रदेशको नामकरणको बारेमा आगामी हिउँदे अधिवेशनले छलफल गरेर टुङ्गो लगाउने तयारी भएको उनले बताए ।

मन्त्री आङ्बोले संविधान संशोधन गरेर प्रदेशको सङ्ख्या वृद्धि नभएसम्म लिम्बुवान सम्भव नहुने बताएका थिए । पथरीशनिश्चरे नगरको १० नम्बर वडामा आदिवासी सङ्ग्रहालय निर्माण गर्न सरकारले रकम छुटाएको बताए ।

कार्यक्रममा प्रदेश सांसद् सूयर्माराज राईले सत्ता पक्षीय सांसद्हरू प्रदेशको नाम किरात राख्न चाहने र किरातलाई नमान्ने बीच द्वन्द्व भएको कारण अनिर्णयको बन्दी बनाउँदै आएको आरोप लगाए । समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य लोकसागर साम्बाले प्रदेश १ को नाम किरात लिम्बुवानको लागि पहल गर्न अर्थमन्त्री आङ्बोलाई आग्रह गरेका छन् ।

चासोकको अवसरमा आयोजित पुरुषतर्फ भलिबल खेल विजेता १ नम्बर प्रदेश प्रहरीलाई ५५ हजार, उपविजेता काङ्बा समाजलाई ३५ हजार, महिलातर्फ विजेता दीपज्योति भलिबल क्लब मोरङलाई ३५ हजार, उपविजेता एभरेष्ट बोर्डिङ स्कुल पथरी मोरङलाई २५ हजार नगद, ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको थियो ।