शिक्षक त सबै हुन सक्छन। सफल शिक्षक ती हुन्छन जो परिस्थिति र बालमनोविज्ञानलाई बुझेर शिक्षण गर्दछन् । सफल शिक्षकले २ वटा कुरालाई प्रेम गर्न सक्नुपर्छ । पहिलो, आफूले पढाउने विषयलाई अनि दोस्रो विद्यार्थीलाई ।

शिक्षकले कक्षाका प्रत्येक विद्यार्थीलाई सहभागी हुन जरुरी छ । प्रत्येक विद्यार्थीलाई उनीहरू सक्षम छन भनेर महसुस गराउन जरुरी छ । शिक्षकले अपनत्वको भाव सञ्चार गर्न जरुरी छ ।

विद्यार्थीलाई उत्प्रेरित गर्ने, तिमी सक्छौ भनेर हौस्याउने, उनीहरूसँग उनीहरूको सोखबारे जानकारी लिने, उनीहरूको नाम सम्झने, उनीहरूको विचार, सोच बुझ्ने, सपना सुन्ने, जन्मदिन मनाउने यी सब कुराले शिक्षक अनि विद्यार्थीबीच सम्बन्ध स्थापित गर्न सक्छ ।

शिक्षकले कक्षाको अन्तिम बेन्चमा बसेका विद्यार्थीलाई अगाडिबाट गएर ‘पढाएको बुझ्दै छौ ? नबुझे सोध है’ भनेर सोध्नाले मात्र पनि त्यो विद्यार्थीको त्यो विषयमा रुचि बढ्छ । तर, शिक्षक अगाडिको कुर्सीबाट हल्लिँदैनन् । यी साना कुरा होइनन्, यी कुराले असफल कहलिएको विद्यार्थीलाई विषयमा रुचि बढाउन मद्दत गर्छ ।

शिक्षकमा तीन ओटा गुण हुन जरुरी छ । पहिलो, शिक्षक कक्षामा स्वाभाविक र सरल हुन जरुरी छ । अति महत्वाकाङ्क्षी र बनावटी शिक्षकले कहिल्यै विद्यार्थीलाई रिझाउन सक्दैनन्

दोस्रो कुरा, सफल शिक्षकले कहिले पनि केन्द्रमा आफूलाई राख्दैनन् । सधैँ केन्द्रमा विद्यार्थीलाई राख्ने गर्छन् । उनीहरूले शिक्षाको पहिलो केन्द्र विद्यार्थी भन्ने बुझेका हुन्छन् । पढाउनु भनेको औषधि घोटेर पिलाउनु होइन । यो त निरन्तर प्रक्रिया हो ।

शिक्षकमा हुनुपर्ने तेस्रो गुण भनेको सरल तरिकाले बुझाउन सक्ने क्षमता हो । यदि शिक्षकले कुनै पनि विषयलाई सरल ढङ्गबाट बुझाउन सक्दैन भने, त्यसको एउटै मात्र कारण हो शिक्षक आफैँले बुझेको हुँदैन । त्यसकारण सफल शिक्षक ती हुन जसले बुझेका छन् र बुझाउने क्षमता राख्दछन् ।