ऐलानी जग्गामा किर्ते नजर
- वैशाख ११, २०७३
- ब्लाष्ट खबर
भोजराज श्रेष्ठ
धरान÷ धरान–१४ विजयपुरका कृष्णकुमारी पोखरेलको परिवारले जग्गा यकिन नगरी ‘ऐलानी जग्गा’ सोध्दै २०४० पछि जङ्गल फाँडेर बसिरहेका धरान–२७ पटनालीमा झण्डै १८ घरपरिवार बसेको जग्गा आप्mनो भएको दावी गरेको रहस्य खुलेको छ ।
२०१५ सालदेखि बसोबास गरिरहेका स्थानीयले भगिरथ उपाध्याय दाहाल र सरस्वता उपाध्यायकी छोरी कृष्णकुमारीको जग्गाको नामोनिसान आपूmहरुलाई थाहा नभएको बताए । २०२७ सालको सर्वे नापी र २०४१ सालमा बैकुण्ठबहादुर चन्दको अध्यक्षतामा बनेको सुकुम्बासी आयोगले गरेको कित्ताकाटमा समेत उपस्थित नभएकाले घोपा ४ (क) मा पोखरेल परिवारको जग्गा नदेखिएको २०२७ सालको नापीमा प्रत्यक्ष सहभागी गोविन्द पोखरेलले बताए । ‘उनीहरु ऐलानी जग्गा कता पर्छ भन्दै सोध्दै आएपछि हामीले यहाँदेखि पर्छ भनेर देखाइदिएको थियौँ ।’ उनले भने ।
२०२७ सालको सर्वे नापीमा त्यस जग्गालाई ८ नम्बर कित्ता भनेर छुट्याइएको थियो । पोखरेल परिवार भने २०२७ सालको नापीमा छुटेका सबै जग्गालाई ८ नम्बर कित्ता भन्ने गरेको कृष्णकुमारीका माइला नाति निराजन पोखरेलले बताए । उनले आपूmहरुले ऐलानी जग्गा नसोधी सिधै भगिरथको जग्गा कता पर्छ भनेर सोधेको दावी गरे । तर, पञ्चायतकालमा विभिन्न समयमा अध्यक्ष बनेकाहरुले सो जग्गामा ठाडो जङ्गल रहेकोले पोखरेल परिवारको नभएको बताएका छन् ।
‘त्यो जङ्गल फाँडेर बसेको जग्गा हो, कसरी पोखरेल परिवारको हुन्छ ?’, २०३६ सालमा अध्यक्ष रहेका रत्नबहादुर कार्कीले भने, ‘त्यो जङ्गल घोषणा भएको ठाउँ हो ।’ हाल १८ घरपरिवार बसिरहेको सो क्षेत्रमा डेढ बिघाभन्दा बढी जग्गा छ । सो क्षेत्रमा रुख काट्दा पञ्चबहादुर राई र उनका दाइ बाटुलेलाई वन कर्मचारीहरुले पक्राउ गरेर थुनामा समेत हालेका थिए । ‘मेरो बुबालाई जङ्गल फाँड्दा पक्राउ नै गरेका थिए भन्ने सुनिन्छ ।’ छोरा दलबहादुर राई भन्छन् । यसलाई तत्कालीन अध्यक्ष कार्कीले समेत पुष्टि गरे । भन्छन्, ‘मैले नै गएर विराटनगरबाट छुटाएर ल्याएको हुँ ।’
२०२७ र २०४१ सालमा समेत नदेखिएका कारण उनीहरुको जग्गा यकिन गर्न गाह्रो भएको स्थानीय बताउँछन् । ‘हाम्रो प्रमाण बोल्छ’, निराजनले भने, ‘हामी त्यसै बोलिरहेका छैनौँ । पूर्वअध्यक्ष गोविन्द, मिनबहादुर राईलगायतले हामीलाई भनेका नै छन् । मसँग त्यसको रेकर्ड नै छ ।’ तर, पूर्वअध्यक्ष गोविन्द पोखरेलका अनुसार २०२७ सालअघि घोपा ४ (क) भन्ने नै थिएन । स्थानीयका अनुसार उनीहरुले तीन ठाउँमा जग्गा खोजी गरेका थिए । जग्गाको फिल्डबुकसमेत छैन ।
के थियो त त्यसअघि ?
सो क्षेत्रमा १९६२ सालमै फँडानी गरेर नन्दलाल दाहाल बसेको बताइन्छ । त्यसपछि १९७० मा नापी दर्ता भएको अग्रजहरुको भनाइ छ । त्यसबीचमा २००० सालअघि हैजा र औलोका कारण त्यहाँबाट सबै मान्छे बसाइँ सरे जसको नाम नन्दपुर मौजा राखिएको छ । त्यस बेला रैती नम्बरहरु हुन्थे । मौजाका नाममा मालपोत बुझाउने प्रचलन थियो ।
त्यस बेला एक–दुई परिवारबाहेक अधिकांश बसाइँ सरे । गोविन्द पोखरेलका अनुसार २०१५ सालमा आउँदा त्यस क्षेत्रमा आवादी नै थिएन । २०२७ सालसम्म आइपुग्दा बस्ती थारै बाक्लियो । त्यसै बेला नापी हुँदा भगिरथका मान्छेहरु कोही पनि देखिएनन् । २०४१ सालमा पनि पोखरेल परिवारको कोही देखिएन । ‘कृष्णकुमारीले खोज्न सकेनन् भने उनका पिताले त खोज्न सक्थे नि ?’ पूर्वअध्यक्ष गोविन्द भन्छन् ।
२०१६ सालमै बकसपत्र गरिदिएको कागजमा जग्गा छुट्याएको भनेर आएका छन् तर त्यस बेला जग्गाको कित्ता नम्बर नै नहुने गरेको उनी बताउँछन् । २०२७ सालमा सर्वे नापी भएपछि मात्रै घोपा ४ (क) बनेको हो ।धरानको मालपोत कार्यालयका प्रमुख फडिन्द्र भट्टराईले फिल्डबुकमा समेत जग्गा नदेखिएपछि नयाँ नापीको व्यवस्था नगरुञ्जेल मालपोतले केही गर्न नसक्ने बताए । उनले नापी कार्यालयले यसमा केही गर्न नसक्ने जनाए । प्रमाण भएको अवस्थामा मात्रै नयाँ नापीले जग्गा खोजी गर्न सक्ने आधार हुने उनको भनाइ छ ।