लक्ष्मण कार्की
झिसमिसेमा आँखा मिच्दै उठ्यो, नित्य कर्म सक्ने वित्तिकै चोकतिर उक्लियो । टायरको जोरजाम गर्यो ।
मट्टितेल खन्यायो, पुल्ठो झोस्यो अनि नारा उराल्यो–‘प्रतिगमन मुर्दावाद ।’ धैलैमैलै भएर, टायरको गन्धे धुवाँमा रुमल्लिएर हतियारधारी आर्मी पुलिसलाई टेरपुच्छर नलाएर वितेका थिए ती दिनहरु ।
आर्मीको ट्यांक अघि सुत्ने साथीहरुको आँट, हतियारधारी पुलिसलाई इँट्टा हान्दै कीर्तिपुरको तीनकुनेको ओरालोमा धपाउँदाका क्षण सम्झँदा अहिले पनि जिउका सबै रौं ठडिन्छन् ।
विहान बिदा हुँदै गर्दा मानिसको चहलपहल मात्र बढ्थेन सँगै बढ्थ्यो पुलिस र आर्मीको तैनाथी पनि । खाने कुनै टुंगो हुन्थेन । कान्तिपुरमा पाठकपत्र लेख्ने फुर्सद चाहीँ प्राय मिलाइन्थ्यो ।
त्रिभुवन विश्वविद्यालको होस्टलमा राती सुत्न पनि डर मर्नु थियो । होस्टल आन्दोलनकारीको अखडा भयो भनेर पुलिसले धरपकड गर्नसक्ने सम्भावना त सामान्य कुरा साथीहरु राती नै आर्मीले होस्टलमा आगो लगाइदिन सक्छ भन्नेसम्मका लख काटिरहेका हुन्थे ।
काठमाडौं आएलगत्तै लगातार जसो पत्रकार महासंघको आन्दोलनमा सहभागी भइयो । ४ पल्ट त पक्राउ परियो र छोडिइयो । २०६२/६३ को जनआन्दोलन सुरु भइनसक्दै आन्दोलन भन्ने सुन्यो कि दौडिहालौं लाग्ने लत बसिसकेको थियो ।
के के नै भइहाल्ला भन्ने आश भन्दापनि पेशागत सुरक्षा र नागरिक अधिकार भन्ने कुराले मनलाई दायाँबायाँ हुनै दिन्थेन । कहिले न्युरोड कहिले बानेश्वर त कहिले सञ्चारग्राम पुगेर तत्कालीन शासन विरुद्ध चोर औंलो उचालिन्थ्यो । पक्राउ परेका अनुभव सुनाउँदा होस्टलमा कसैकसैले उडाउँथे, कसैले पत्याउँथेनन् ।गगन थापा, कृष्ण पहाडी, कृष्ण खनाल, प्रदीप गिरीलगायतका भाषण रामेश, रायन र रामकृष्ण दुवालका गीत हाम्रा लागि यस्तो यार्सागुम्बा थिए जसले जतिबेला जे गर्नु परेपनि तयार बनाउँथे ।
टाउकोमा रुमाल बाँधेर दाह्री पालेर छद्म भेषमा कीर्तिपुर पुग्ने गगन थापाको भाषण सुनेपछि लाग्थ्यो नारायणहिटीबाट शासकलाई लखेट्न कसैको सहारा चाहिंदैन । म एक्लै काफी छु ।
सुरक्षाकर्मीलाई बल्खु कट्न नदिने नीति अनुसार ठाउँठाउँमा अबरोध बनाइन्थ्यो । तर हामीले मरिमरि थुपारेका ढुंगा वा बिजुलीका पोल उनीहरुले मिलिक्कै पन्छाउँथे र सडक सफाचट बनाइहाल्थे । परबाट हामी हेर्दै मुर्मुरिन्थ्यौं ।
एकदिन भाषण गीत कविता सकिएपछि भीड पातलिंदै थियो । तर आन्दोलनका पदेन सदस्य जस्ता हामी घोक्रो फुलाएर नारा लाउँदै कीर्तिपुरबाट तिनकुनेतिर झर्दै थियौ । नारा केही उग्र भएछ क्यार पुलिसले एकाएक कटबास बर्साउन थाल्यो ।
भागाभागमा फलामे बारमा परेर पाखुरा दर्फरियो अनि काठमाडौ आउने वित्तिकै अति सस्तो ठानेर १ सय ९० मा किनेको जिन्सको पाइन्ट च्यातियो । हतारहतार सुइकुच्चा ठोकियो । हामी थोरै भएको फाइदा पुलिसले उठाइरहेको थियो । पुलिसले खेद्दै लग्यो तीनकुनेबाट टीयुतिर छिरेपछि हाम्रो भीड बाँडियो केही केटीको होस्टेलतिर छिरे । हामी हाम्रै होस्टलतिर घुस्रियौं । पुलिस ब्वाइज होस्टलमा छिर्ला भन्ने अनुमानमा हामी गेट लगाएर चनाखो हालतमा थियौं । तर पुलिसको बुद्धि उल्टो निस्कियो उनीहरु लेडिज होस्टलमा छिरे । जोगिन त्यहाँ छिरेका साथीले रामधुलाई भेटे ।
सुरक्षाकर्मी माइकमा कर्फ्यु लाग्ने चेतावनी दिन्थे हामी एक कानबाट सुन्थ्यौ र अझ तीव्र गतिमा त्यसलाई अर्को कानबाट बाहिर हुत्याइदिन्थ्यौ । सरकारी निषेधाज्ञाको धज्जी उडिरहेको थियो ।
रिंगरोडमा आएर नाराजुलुस गर्ने र फर्किने काम पनि थालिएको थियो । एकदिन त कीर्तिपुरबाट हिंड्दै त्रिपुरेश्वरसम्म आइयो र फर्किइयो पैदलै । सरकारले प्रेस र एम्बुलेन्सलाई पनि पास दिएको थिएन ।
त्यहि दिन निषेधाज्ञा तोड्न रिंगरोडमा भेला हुने कार्यक्रम थियो । ९ बजेतिर दशौ हजारको टोली हिंड्यो । टोलीको बिचतिरबाट हेर्दा आँखाले न अगाडिको लस्करको टुप्पो देख्थ्यो न पछाडिको फेद नै भेटाउँथ्यो । थानकोटतिरबाट सलहजस्तै मानिसको ताँती थपिंदो थियो ।
रिङरोडमा आर्मी बन्दुक ताकेर बसिरहेका थिए । भीड उग्र बन्दै थियो । आर्मी भन्ने शब्दै अल्लि हच्काउने खालको भएकाले पनि भीडले आँट गरिरहेको थिएन ।
तर अञ्जान लामा दाई एक्लै कांग्रेसको झण्डा बोकेर रिङरोडमा दौडिएपछि के चाहियो र ? एकदुई पल्ट आँखा झिम्क्याइ नसक्दै मानिसले हुरुरु रिंगरोड भरियो । आर्मी पुलिस फड्के किनाराको साक्षी जस्तो भए ।
कलंकी चोकमा काँधमा चम्माउँदो फुली लगाएको ज्याङ्गो शरीरको हतियारधारी प्रहरी अफिसरको छातीमा नाम लेखिएको थियो दुर्जकुमार राई । उनलाई ६ कक्षा पढ्दा मैले गौखुरी उच्चमावि मोराहाङ तेह्रथुमको खेल मैदानमा देखेको थिए ।
सबैले दोर्जे भनेर चिन्ने उनको टीमले त्यो बेला जिल्लामै कहलिएको हाम्रो स्कुलको टिमलाई हत्तुहैरान बनाएको थियो । देब्रे हातले चट्याङ परेजस्तो भलिबलको सट हान्ने दोर्जेले दाहिने हातले हान्दा मानिस ठहरै हुन्छ रे भनिन्थ्यो ।
भीड संयमित थियो । आकाशमा सेतो हेलिकोप्टरले फन्को लगायो । भीडको आँखामा खुसार्नी परेजस्तो भयो । कसैले पारस कसैले ज्ञानेन्द्र नै त कसैले कमल थापा आएको भने ।
लगत्तै गोली चल्यो । मानिसको भागाभाग भयो । हामी कीर्तिपुर तिरकै दिशामा हान्नियौ । तर भिड पनि हार मानिहाल्ने अवस्थामा थिएन । गोली नै हो भन्ने अल्लि पछि मात्र थाहा भयो । किनभने आन्दोलनका क्रममा पुलिसले अश्रु ग्यास त कति हान्थ्यो, हान्थ्यो । त्यस्तै हो कि भन्ने ठानियो सुरुमा त ।
टियर ग्यासबाट बच्ने हाम्रो आफ्नै काइदा थियो । गोजीमा प्याज र टुथपेष्ट बोक्ने । जसले अश्रु ग्यासलाई निस्तेज बनाइदिन्थ्यो । कोहीकोही त पुलिसले आफुतिर हानेको अश्रु ग्यास च्याप्प समाएर उतै हुर्याउने गरिका अनुभवी भइसकेका थिए ।
आफैंले हानेको अश्रुग्यासको लोला भेटेपछि पुलिस रालसिंगान निकालेर खोक्दै भाग्थे । उनीहरुको इम्युन पावर हाम्रो जस्तो अश्रुग्यास पचाउने भइसकेको थिएन क्यार ।
कीर्तिपुरतिर लागे पनि अल्लि अघि गएपछि मन मानेन । आन्दोलन छोडेर केको घर जान्छ ? कलंकीतिरै यू टर्न भइयो । एउटा घरको पेटीमा २ जना ढलिरहेका भेटिए । गोली नै लागेछ भन्ने भयो ।
गाडीको चकमन्न छ । एम्बुलेन्सलाई पनि पास छैन । हामी चार पाँच जनाले ओल्टाइपल्टाइ गर्यौं । छेवैको घरमा गोली लागेर ढलेको देखेपछि उनीहरुको हंसले ठाउँ छोडेको रहेछ । पानी छ्यापेको केहीबेरमा उनीहरु बौरिए ।
इतिहासले दोश्रो भने पनि जीवनका लागि त्यो पहिलो आन्दोलन थियो । आन्दोलन सकियो । मुलुकमा लोकतन्त्र नाम राखिएको ब्यवस्थाको जगजगी छ ।
राम्रो नराम्रो जे छ हामीले भोगिरहेकै छौ । १० बर्ष नाघि सक्दा यसले न त उत्तम भयो भनेर दंग पर्ने न त खत्तमै भयो भनेर विरोध गर्ने खै कस्तो हो कस्तो पहिचान बनाइरहेको छ ।
एउटै कामना छ ।
शब्दकोशमा लोकतन्त्रको पर्यायबाची शब्द खोज्दै फेरि आन्दोलनको मुठ्ठी कस्ने दिन नआओस् । लक्षण गतिलो त छैन तैपनि आशा गरौ लोकतन्त्र पत्रु नबनोस् ।
लेखकलाई ट्वीटरमा भेट्न सकिन्छ ।