रविन भट्टराई
ताप्लेजुङ/ गत वर्ष गएको विनाशकारी भूकम्प र त्यसपछिका स–साना परकम्पका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएका ताप्लेजुङका ११ वटा विद्यालयमा हालसम्म अस्थायी टहरा (टिएलसी) मै पठनपाठन भइरहेको छ ।
क्षतिग्रस्त ती विद्यालयका भवन समयमै निर्माण नभएकाले भूकम्प गएको वर्ष दिन बित्दासमेत अस्थायी टहरामै पठनपाठन भइरहेको हो । आर्थिक वर्ष सकिनै लाग्दा गएको भूकम्पका कारण भत्किएका ती विद्यालयको पुनःनिर्माणका लागि नयाँ बजेट पर्खनुपरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । त्यसपछि पनि नाकाबन्दीलगायतका कारण निर्माण सामग्री समयमै निर्माण स्थलमा पुग्न नसक्दा ढिलाइ भएको कार्यालयको भनाइ छ ।
कार्यालयका अनुसार भूकम्प गएको करीब १० महिनापछि गत माघमा मात्रै क्षतिग्रस्त विद्यालय भवन निर्माणको सम्झौता भएको थियो । ढिलाइ हुनुमा नाकाबन्दीका कारण समयमै निर्माण सामग्री ढुवानी नहुनु र जिल्लाका कतिपय क्षेत्रमा यातायातको पहुँच नहुनु मुख्य कारण रहेको जिल्ला शिक्षा कार्यालयका इञ्जिनियर अजयकुमार यादवले बताए । पूर्ण रुपमा क्षति पुगेका ११ विद्यालयमध्ये तीनवटा रिड नेपालको सहयोगमा निर्माण भइरहेका छन् भने बाँकी विद्यालयका भवन जिल्ला शिक्षा कार्यालयको कुल १ करोड ५० लाख ५० हजार रुपैयाँको बजेटमा निर्माण भइरहेका छन् ।
सम्झौताअनुसार आगामी जेठभित्रै निर्माण सम्पन्न गर्ने योजना भए पनि निर्माण सामग्री ढुवानीमा समस्या, वर्षालगायतका कारण समयमै निर्माण सम्पन्न हुने–नहुने निश्चित छैन । वर्षाको समयमा ती विद्यालयका अस्थायी टहरामा पठनपाठनमा समस्या आएको बताइएको छ । दिनहुँ वर्षासहितको हावाहुरी, असिनालगायतका कारण पठनपाठनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।
वैशाख १२ र त्यसपछिका परकम्पका कारण क्षतिग्रस्त ताप्लेजुङका १ सय १७ विद्यालयमध्ये ११ विद्यालयमा पूर्ण रुपमा क्षति पुगेको थियो भने ४५ मा अधिक क्षति र ६१ वटामा सामान्य क्षति भएको थियो । पूर्ण रुपमा क्षति पुगेकाबाहेक अन्य विद्यालयको मर्मत गरी पठनपाठन नियमित गरिएको बताइएको छ ।