कोशी अञ्चल यातायात व्यवस्था कार्यालयमा दलालहरुको बिगबिगी रोक्न प्रहरी परिचालन गरिएको समाचार सार्वजनिक भएको छ । यातायात व्यवस्था कार्यालयमा दलालहरुको झमेलामा नपर्ने सवारी साधनका धनीहरु कोही छैनन् । थोरै रकममा हुने काममा पनि दलालहरुका कारण उपभोक्ताहरुले धेरै तिर्नुपर्ने समस्या नौलो भने होइन । कार्यालयमा दलालहरु हावी हुँदा सेवाग्राहीहरुले सहज रुपमा सेवा पाएका थिएनन् । कार्यालयको ढोकामै नपुगी दलालहरुले घेरेर सेवाग्राहीहरु हैरान हुन्थे ।
कर्मचारीहरुसँगको मिलोमतोमै दलालहरुको व्यवसाय मौलाएको थियो । दलालसँग सम्पर्क नगरी आपैmँ सेवा लिन खोज्ने सेवाग्राहीले सेवा नै पाउँदैनथे । त्यहाँको वातावरण नै त्यस्तै बनाइएको थियो । दलालविना जाने सेवाग्राहीको फायल नै भेटिँदैन थियो । अन्त्यमा सेवाग्राहीहरु दलालकै शरणमा जान बाध्य हुन्थे । फोटोकपी गर्नेदेखि फारम भर्ने र हरेक शाखासम्म दलालहरुको सञ्जाल पैmलिएको हुन्थ्यो । यसबाट हरेक सेवाग्राही पीडित थिए ।
त्यसो त यो अव्यवस्था यातायात व्यवस्था कार्यालयमा मात्र होइन, सेवाग्राहीहरुको अत्यधिक चाप हुने हरेक सरकारी कार्यालयमा व्याप्त छ । सरकारले प्रवाह गर्ने सेवालाई सहज र सुलभ बनाउने जिम्मेवारी बोकेको जिल्ला प्रशासन कार्यालयमा पनि दलालको बिगबिगी छ तर प्रशासनले यो बेथितिलाई रोक्न खासै चासो देखाएको पाइँदैन । कार्यालय परिसरमा कुनै नौलो मान्छे देख्नेबित्तिकै दलालहरु शिकारी कुकुरजस्तै झम्टिन पुग्ने स्थितिले सेवाग्राही आजित भए पनि यसलाई रोक्न सम्बन्धित निकाय गम्भीर देखिएको छैन । मालपोत कार्यालयमा यस्तै अवस्था छ ।
अहिले कोशी अञ्चल यातायात व्यवस्था कार्यालयमा दलाललाई रोक्न प्रहरी परिचालन गरिएको समाचार आएको छ । यो राम्रो कदम हो । यसले सेवाग्राहीलाई धेरै सहज हुने छ तर यो कार्यलाई सस्तो लोकप्रियता आर्जन गर्ने माध्यम मात्र बनाइनु हुँदैन । दलालको सहयोगविना नै सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने अवस्था सिर्जना गरिनुपर्छ र यस्तो वातावरण यातायात व्यवस्था कार्यालयमा मात्र होइन, सबै सरकारी कार्यालयमा हुनु अपेक्षित छ ।