मोरङ र सुनसरीको खेतीयोग्य जमिनमा सिँचाइ गरिरहेको सुनसरी मोरङ सिँचाइ योजनाअन्तर्गतका नहरहरु सरकारी बेवास्ताले जीर्ण भएका छन् । निर्माण तथा सुधारका लागि समयमै सरकारी पहलकदमी नहुँदा नेपालकै ठूलो सिँचाइ आयोजना उपयोगविहीन हुनुलाई कृषि क्षेत्रका लागि शुभ सङ्केत मान्न सकिँदैन ।
अघिल्लो वर्ष जेठ महिनामा इन्टेकमा पानी नआएपछि सुनसरी मोरङ सिँचाइ आयोजनाले इन्टेकभन्दा करीब १ किलोमिटर माथिसम्म अस्थायी बाँध निर्माण गरी पुलभन्दा केही परबाट थोरै पानी ल्याएको थियो । त्यो अस्थायी बाँध वर्षात्को बाढीले भत्काएर ६० मिटर लम्बाइ भएको फलामे गेटसहितको नयाँ इन्टेकको मुखसम्मै ढुङ्गा र बालुको बगर थुपारिदिएपछि समस्या सिर्जना भएको हो । यो सिँचाइ आयोजनाले पानी सुचारु गरिराख्नका लागि इन्टेकलाई माथि सार्नुपर्ने एक मात्र विकल्प देखिएको छ । यसका लागि सिँचाइ आयोजनाले सक्रियता देखाउनु जरुरी छ ।
आयोजनाले समयमै यसतर्पm ध्यान नपु¥याए सुनसरी र मोरङको करीब १ लाख २ हजार बिघा जमिनमा सिँचाइ सुविधाबाट कृषक वञ्चित हुने निश्चित भएको छ । यसले ६० प्रतिशत खेतीयोग्य जमिन बाँभैm रहने सम्भावना बढेकाले सरकारले यसतर्पm बेलैमा गम्भीर हुनु आवश्यक छ ।
हाम्रोजस्तो कृषिप्रधान देशमा कृषि क्षेत्रको विकास र उन्नतिविना अधिकांश देशवासीको जीवनस्तर माथि नउठ्ने निश्चित छ । देशका ७१ प्रतिशतभन्दा बढी नागरिक कृषिमै आधारित छन् । यस्तो अवस्थामा देश र देशवासीको प्रगति र उन्नति कृषिमै आधारित छ । त्यसकारण सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नु आवश्यक छ । त्यसो त कागजी रुपमा सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामै राखेको जनाए पनि कार्यान्वयनको तहमा नदेखिँदा कृषि क्षेत्रमा अपेक्षित विकास हुन सकेको छैन । यसर्थ, कृषि क्षेत्रको विकासका लागि नयाँ पूर्वाधार निर्माण तथा जीर्ण पूर्वाधारको मर्मत–सुधारमा बेलैमा ध्यान जानु अपेक्षित छ ।