केही दिनयता तापक्रम बढिरहेको छ । यसको बढी असर तराईमा परेको छ । अत्यधिक गर्मीका कारण तराईका जिल्लाहरुमा जनजीवन अस्तव्यस्त हुन थालेको छ । यसबाट सबैभन्दा बढी विपन्न वर्ग आक्रान्त भएको छ । अत्यधिक गर्मीले काम गर्न सक्ने अवस्था नहुँदा उनीहरुको जीवनयापनमै समस्या पर्न थालेको छ । दैनिक मजदुरी गरेर आप्mनो र परिवारको पेट पाल्नेहरु यसबाट पीडित भएका छन् । तराई क्षेत्र यो याममा गर्मीको चपेटामा वर्षेनी पर्ने गरेको छ ।
गर्मीका कारण तराई क्षेत्रमा विभिन्न रोगको सङ्क्रमण पनि पैmलिरहेको समाचार प्रकाशमा आएको छ । अस्पतालहरुमा बिरामीहरुको सङ्ख्या बढिरहेको छ । खासगरी वृद्धवृद्धा, बालबालिका र अशक्तहरु यसको मारमा परेका छन् । पछिल्ला केही वर्षमा ‘ग्लोबल वार्मिङ’ को कारणले गर्दा पृथ्वीको तापक्रम बढ्ने क्रम अस्वाभाविक रुपमा बढिरहेको विज्ञहरुको भनाइ छ । यसबाट मुक्तिको उपाय पर्यावरणीय सन्तुलन नै हो । बढ्दो औधोगिकीकरण र यातायातका साधनहरुको चापले ग्याँस र धुँवाको उत्सर्जन बढ्दा पर्यावरणीय सन्तुलनमा नकारात्मक प्रभाव बढिरहेको छ ।
यसैको प्रभावले पृथ्वीको तापक्रम बढिरहेको छ । यसप्रति बेलैमा सचेत हुनु आवश्यक छ । पर्यावरणीय सन्तुलनका लागि मानव समुदायको भूमिका महत्वपूर्ण हुन्छ । प्राकृतिक स्रोतको अनावश्यक दोहन र वनजङ्गलको विनाशले पारिस्थितिक प्रणालीमै असर परेर प्राकृतिक चक्र नै असन्तुलित हुन थालेको छ । यसबाट मुक्तिका लागि मानव समुदायले नै अभियान सञ्चालन गर्नु आवश्यक छ । यसको पहिलो शर्त नै वातावरण संरक्षण हो । वातावरण संरक्षणमा सबैको सक्रियताले प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सक्छ ।
वातावरण संरक्षणका लागि सरकारले पनि जनचेतनामूलक कार्यक्रम वर्षैभरि सञ्चालन गर्नु आवश्यक छ । सार्वजनिक खाली जग्गाहरुमा वृक्षारोपण र प्रदूषण नियन्त्रण गर्ने अभियान पनि सँगसँगै लैजानुपर्छ । यसबाहेक यो याममा तराईका अस्पतालहरुमा बिरामीहरुको चाप बढी हुने भएकाले यसका लागि स्वास्थ्य चौकीहरुमा आवश्यक औषधिहरुको जोहो सरकारले बेलैमा गर्नु अपेक्षित छ । कार्यालय सहयोगीहरुले नै स्वास्थ्यकर्मीको भूमिका निर्वाह गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकार गम्भीर हुनुपर्छ । आप्mना नागरिकहरुको जीवनरक्षा गर्नु राज्यको दायित्व हो । यसप्रति राज्य संवेदनशील हुनुपर्छ ।