भोजराज श्रेष्ठ,
धरान / मे १ (आइतबार) मा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइरहँदा धरान–२१ का २५ वर्षीय कुमार खड्का सिमेन्ट मुछ्ने तयारीमा थिए । सँगै बालुवा हाल्ने तयारीमा थिए, जीवन सम्बाहाम्फे । डोको बोकेर बसेकी थिइन् धनकुमारी बस्याल ।
यी तीनजना फरक–फरक भूगोलबाट आए पनि पेशाले यिनीहरुलाई जोडेको छ । खड्का खोटाङबाट धरान झरेका हुन् भने सम्बाहाम्फे धरानकै हुन् र बस्याल धनकुटाबाट आएकी हुन् तर पेशा एउटै–मजदुरी । यिनीहरुबीच फरक छ त केवल असमान ज्यालाको । दिनरात मजदुरी गरेर जीविकोपार्जन गर्ने यी तीनलाई अन्तर्राष्ट्रिय मजदुर दिवसबारे सुइँकै थिएन । मानौँ, यिनीहरुका लागि मजदुर दिवस भनेको काम, काम र काम हो । मजदुर दिवसको भेउ नै नपाएका उनीहरुका लागि दिवस न पर्व बनेको थियो, न त उल्लास नै ।
परिवारको भरणपोषणका लागि काम गर्नु उनीहरुmajadurको दैनिकी हो । ‘खै मे १ भनेको के हो, थाहा छैन ।’ सम्बाहाम्फे बोले । उनीहरु सबैजसो मजदुर दिवसबारे अनभिज्ञ देखिए । ‘हामीलाई कामसँग मात्रै मतलब हुन्छ । यो मे १ ले के गर्छ र ?’ बस्यालले प्रतिप्रश्न गरिन् । मजदुरी एउटै गरे पनि असमान ज्यालाको शिकार बस्याललाई मे १ भन्दा पनि सरकारले समान तलबको व्यवस्था गरिदिए बेस हुन्थ्यो भन्ने लाग्छ ।
अन्तर्राष्ट्रिय मजदुर दिवसमा संसारभर सार्वजनिक विदा हुन्छ । नेपालमा पनि दिइन्छ तर ज्यालादारी मजदुरी गर्नेहरु न विदा मान्छन्, न उनीहरुले विदा पाउँछन् । नेपालमा सन् १९६३ देखि मजदुर दिवस मनाउन थालिए पनि हालसम्म सच्चा मजदुरहरुले यो दिवसको अनुभूति गर्न पाएका छैनन् । नेपालमा २०६४ सालदेखि सार्वजनिक विदा दिन थालिएको यो दिवस मजदुरले महसुस नै गर्न पाएका छैनन् ।
एउटै काम गर्नेले फरक–फरक ज्याला पाउँदा पनि चासो नराख्ने सरकारले अन्तर्राष्ट्रिय मजदुर दिवस मानेर पनि उपलब्धि नहुने देख्छन् उनीहरु । सम्बाहाम्फेले दैनिक ५ सय थाप्दा खड्का र बस्याल ४ सय थाप्छन् । सडकमा ¥याली र जुलुस निकालेर मे १ लाई स्वागत गरिन्छ । कतिपयका लागि स्थानीय निकाय र सरकारी तथा गैरसरकारी संस्थाहरुबाट बजेट निकासा गर्दै बजेट सक्ने पर्व हुन्छ  ।
तर, खड्काहरुजस्ता लाखौँ मजदुरलाई थाहै नभई बित्छ मजदुर दिवस । ‘खै जानेर पनि के गर्नु होला र ?’, प्रतिप्रश्नको शैलीमा खड्काले भने, ‘काम नगरी तलब पाइँदैन, पेटमा चारो पस्दैन ।’ खड्काजस्ता मजदुरहरुको दिनचर्या यसरी नै बित्छ । बिहान उठ्यो, दिनभरि काम ग¥यो । बेलुका कोठा गयो, भात पकायो, खायो र सुत्यो । यही दिनचर्याबाट मजदुरको जीवनका घडीपलाहरु बित्छन्, इहलीला समाप्त हुन्छ तर मजदुरहरुको सुरक्षाको ग्यारेण्टी लिने सरकारले भने मजदुरको सुरक्षामा ध्यान दिएको पाइँदैन ।