नाम निरज थापा, ठेगाना धरान–१५, राष्ट्रियता ‘तिब्बती’ । धरानस्थित इलाका प्रशासन कार्यालयबाट २०७२ फागुन २ गते लिएको एमआरपीमा यस्तो भेटियो । नेपाली नागरिकको राष्ट्रियता ‘तिब्बती’ भएर आउनु स्वाभाविक मान्न सकिँदैन । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागबाट भएको यो गम्भीर त्रुटी सामान्न मान्न सकिँदैन ।
धरानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख जयराम श्रेष्ठले नेपाली राष्ट्रियतालाई तिब्बती भएर १०÷१२ वटा राहदानी आएको बताएका छन् । ‘मानवीय त्रुटी’ भनेर उनले सहज जवाफ दिएपनि यसलाई सामान्यरुपमा लिन मिल्दैन । गल्ती २÷३ वटामा हुनु स्वाभाविक वा मानवीय त्रुटी मान्न सकिएला तर यतिका सङ्ख्यामा राष्ट्रियता नै फेरिनुलाई पराराष्ट्र मन्त्रालयको एमआरपी विभागका कर्मचारीको नियतमा शङ्का उत्पन्न भएको छ ।
परराष्ट्र मन्त्रालयबाट जारी भएको राहदानीमा जिल्ला वा इलाका प्रशासकले हस्ताक्षर गरेपछि मात्र सम्बन्धित व्यक्तिले राहदानी पाउने प्रावधान छ । नागरिकता अनुसार एमआरपी छ÷छैन भनेर नहेरी हस्ताक्षर गर्नु प्रशासकको पनि गम्भीर कमजोरी हो । यसले सरकारी कामकारवाही कसरी हुने गरेको छ भन्ने कुराको पनि पुष्टी गरेको छ । हचुवाको भरमा काम गर्दाको परिणाम एउटा नेपाली नागरिकको राष्ट्रियता फेरिएको छ । इलाका प्रशासकले यसलाई सामान्यरुपमा लिनु हुँदैन ।
निरज थापाको एमआरपीमा भएको कमजोरी प्रशासनले सुधार्ला तर आगामी दिन अन्यको राष्ट्रियता परिवर्तन हुने विषयमा सम्बन्धित निकाय गम्भीर बन्नु पर्छ । कर्मचारीले नुनको सोझो मात्र गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ । एउटा नेपाली नागरिकको राष्ट्रियतामाथि नै खेलवाड गर्ने दोषी निकाय वा व्यक्ति पहिचान गरी कारवाहीको दायरामा ल्याउनु पर्छ । भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन राज्यले गम्भीर हुन जरुरी छ ।