अन्धकारमा बसिरहेका वाला, सिसुवा, ताम्कु र माङ्तेवा गाविसवासी आप्mनै परिश्रमले विद्युत् उत्पादन गरी उज्यालोमा बस्न थालेका छन् । सङ्खुवा र सिसुवा खोलाबाट श्रमदानबाटै पाँच स्थान गरी एक सय ९७ किलोवाट विद्युत् निकालेर उनीहरुले गाउँ नै उज्यालो बनाएका छन् ।
अहिले यहाँका दुई हजारभन्दा बढी परिवारले यो विद्युत् उपभोग गरेका छन् । दुर्गम गाविसका अझ विकट क्षेत्रमा यी गाउँ छन् । केही समय अघिसम्म अम्फी र राँको बालेर जीविका चलाउने स्थानीय अहिले उज्यालोमा बस्न थालेपछि जीवन नै परिवर्तन भएको महसुस गरेको बताउँछन् । सङ्खुवा खोलाबाट १७ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको छ । हिमालय नेचुरल फाइभर फाउण्डेशन (एचएनएफएफ), वैकल्पिक ऊर्जा केन्द्र र गाविसको लगानीमा स्थानीयले श्रमदान गरी विद्युत् उत्पादन गरिएको ताम्कुका चन्द्र राईले बताए । उत्पादित विद्युत्ले ताम्कु–१, ४, ५ र ७ नम्बर वडाका गाउँमा २४ सै घण्टा उज्यालो बनाएको छ ।
जिल्ला विकास समितिको १० लाख, एचएनएफएफको १२ लाख, गाविसको साढे १३ लाख र स्थानीयको श्रमदानबाट ४० लाखभन्दा बढी लगानीमा सोही खोलाबाट ३१ किलोवाट विद्युत् आयोजना उत्पादनको अन्तिम चरणमा पुगेको छ । उत्पादित विद्युत्ले ताम्कु–१, २, ३, ४ र ८ वडा पूरै उज्यालो बन्ने छ ।
विकट भएकाले सामग्री ढुवानीमा समस्या छ । हेलुवाबेसीदेखि सिसुवाखोलासम्म सामग्री ढुवानी गर्दा प्रतिकिलोग्राम ३० देखि ७५ रुपैयाँसम्म तिर्नुपर्छ । साँघुरो गोरेटो अनि ठूला र गह्रौँ सामान ढुवानी गर्न समस्या भएकाले ढुवानीमै बढी खर्च लाग्ने गरेको ताम्कुका कैलाश राईले बताए । केन्द्रीय प्रसारण लाइनले यस क्षेत्रलाई छुन अभैm असम्भव देखिएपछि आपूmहरुले विकल्प रोजेको उनले जनाए । राईले भने, ‘गरे के असम्भव छ ? मट्टितेल किन्ने खर्च बचत भयो । बालबालिकालाई पढ्नदेखि खाना पकाउनसमेत सहज भएको छ ।’
ताम्कु–७ र वालाबीचमा रहेको सङ्खुवाखोलामा ३० किलोवाट विद्युत् उत्पादन तयारीमा छ । गाविसको १३ लाख, एचएनएफएफको २५ लाख र स्थानीयको श्रमदानसहित ४० लाख लगानीमा आयोजना अन्तिम चरणमा छ । विद्युत् विस्तार गर्न २० किलोमिटरभन्दा बढी तार तानेर भए पनि वाला, सिसुवा र ताम्कुवासीले उज्यालो बालेका छन् ।
वैकल्पिक ऊर्जा, इको हिमाल, गाविस र जनश्रमदानमा सिसुवाखोलाबाट अर्को ६१ किलोवाट विद्युत् उत्पादन भएको छ । वाला–१, ७ र सिसुवाखोला–१,२,३,४ ताम्कु–१,२,३ ले डेढ वर्षयता यसबाट विद्युत् उपभोग गरिरहेका छन् । सिसुवाखोलाबाट ५८ किलोवाट विद्युत् आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको छ । सिसुवाखोला–५ चटेक्मामा पावरहाउस राखेर उत्पादन गरिने विद्युत्ले सिसुवाखोला–१ र २ बाहेक सबै वडामा विद्युत् पुग्ने छ । वैकल्पिक ऊर्जा केन्द्रले प्रतिकिलोवाट अढाइ लाखका दरले एक करोड ४५ लाख, एचएनएफएफले ५ लाख, गाविसले ३ लाख, जिविसले ५ लाख र श्रमदानबाट ५५ लाख गरी २ करोड लगानीमा विद्युत् उत्पादन शुरु गरिएको सिसुवाखोला गाविसका सचिव गोपीशमशेर राईले बताए ।
गाउँले उत्साह भएपछि गाविसले पनि दातासँग सहयोग खोज्न पहल गरेको ताम्कुका गाविस सचिव नेत्रबहादुर श्रेष्ठले बताए । मासिक तालिका नै बनाएर दुई महिनासम्म प्रत्येक परिवारले श्रमदान गर्ने गरेको सचिव श्रेष्ठले जनाए । सुगममा २० प्रतिशत पनि श्रमदान गर्न नमान्नेका लागि यहाँका स्थानीय उदाहरण बनेका छन् । उत्पादित विद्युत्बाट कुटानीपिसानीदेखि कम्प्युटर, प्रिन्टर र फोटोकपीसमेत गाउँमै चलाएर सदरमुकाम आउनुपर्ने हैरानीबाट मुक्त भएको ताम्कुका शिक्षक बुद्धि कुलुङले बताए । केन्द्रीय प्रसारणविना नै चार गाविसको प्रत्येक परिवारले विद्युत् उपभोग गर्न पाउने भएपछि गाविसले यस क्षेत्रलाई ‘पेल्ट्रिक सेटको गाउँ’ घोषणा गर्ने तयारी गरेको छ ।