surya-tobacco सरकारले चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमूलक चित्रसहितको स्वास्थ्य सन्देश छाप्नु पर्ने व्यवस्था कार्यन्वनमा ल्याएको एक वर्ष भैसकेको छ । तर अझै पनि नेपालका चुरोट तथा सूर्तीजन्य पदार्थका उत्पादकहरुले उक्त नियम पालना गरेका छैनन् । उत्पादकहरुले नियमको ठाडो उल्लंघन गर्दै दादागिरी देखाएकै कारण नेपाली बजारमा नेपाली कम्पनीका धेरै उत्पादनहरु कानुन विपरितका फेला पर्न थालेका छन् । सरकारी कानुनलाई अटेर गर्नेमा सबैभन्दा धेरै सूर्य नेपाल कम्पनी भेटिएको छ । सूर्य नेपालले आफ्ना सबै २३ वटा उत्पादनमा कानुन अनुसार ९० प्रतिशत भागमा चित्रात्मक सन्देश छापेको छैन । तर, विदेशी उत्पादनले भने सरकारको उक्त कानुनको पूर्ण पालना गरिएको भेटिएको छ । ‘सूर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चित्रात्मक सन्देश, जीवन बचाँउ र पैसा जोगाऔँ’ भन्ने विषयमा एक्सन नेपालद्धारा राजधानीमा मंगलबार आयोजित कार्यक्रममा नेपाली उत्पादकहरुले कानुनको अटेरी गरि उत्पादन गरेका उत्पादनहरु सार्वजनिक गरिएको हो । । कार्यक्रममा जेठ महिनामा उत्पादन मिती भएका चुरोटका बट्टामा कानुनको पालना नभएको सार्वजनिक गरिएको छ । एक वर्ष अगाडी नै नियम कार्यान्वयनमा आए पनि सूर्य नेपालले बजारमा ल्याएका चुरोटले सरकारी नियमको ठाडै उल्लंघन गरिएको भेटिएको छ । दुई महिनाअगाडी कानुन अनुसार ९० प्रतिशत चित्र नछाप्ने उद्योगका उत्पादनलाई सरकारले धमाधम छापा मार्दै सिल गर्न थालेपछि केही उद्योगीले कानुनअनुसार नै चित्रसहित उत्पादन गर्न थालेका थिए । तर, सूर्य नेपालले भने अफ्ना उत्पादन नै बन्द गरेको थियो । चैत र वैशाख महिनाका उत्पादन बजारमा नपठाएको सूर्य नेपालले जेठ महिनामा बजारमा पठाएका चरोट पनि कानुन विपरित पाइएको हो । आन्तरिक राजस्व कार्यालयका अनुसार नेपालमा एक सय ७५ थरिका चुरोट तथा सुर्तीजन्य पदार्थको बिक्री हुँदै आइरहेका छन् । यीमध्ये सूर्य टोबाको बाहेक अरुले मापदण्डअनुसार चित्र छापेका छन् भने नियम नमान्नेमा गुट्खा, पराग लगायतका सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीहरुसमेत देखिएका छन् ।  हालसम्म पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने ८ वटा उद्योगले मात्र नियम मानेका छन् । नियमअनुसार चुरोट तथा सूर्तीजन्य पदार्थको बट्टा तथा प्याकेटमा ९० प्रतिशत चित्रात्मक सन्देश छाप्नुपर्ने व्यवस्था छ । यसअघि सरकारले ७५ प्रतिशत भागमा चित्रात्मक सन्देश छाप्नुपर्ने व्यवस्था गरेको थियो । स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ९ ले चुरोट तथा सुर्तीजन्य पदार्थको हरेक बट्टामा अनिवार्य रुपमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाविपरीत काम गर्नेलाई ५० हजारसम्म जरिवाना गरी सबै उत्पादन जफत गर्ने व्यवस्था छ । ऐनलाई कार्यान्वयनमा ल्याउन मन्त्रालयले २०६८ सालमै कात्तिक १८ गते लागु हुने गरी सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका ल्याएको थियो । उक्त निर्देशिकालाई मन्त्रालयले २०७१ मा परिमार्जन गर्दै ९० प्रतिशत भागमा अनिवार्य चित्रात्मक सन्देश राख्ने व्यवस्था गरेको थियो । उक्त नियम गत वर्षको जेठदेखी कार्यान्वयनमा आएको हो ।

शत प्रतिशत भागमा घिनलाग्दा र डरलाग्दा चित्रात्मक सन्देश

सरकारले कानुन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन नसक्दा चुरोट कम्पनीहरुको दादागिरी बढेको कार्यक्रममा बताइएको छ । कार्यक्रममा विश्व स्वास्थ्य संगठनले तय गरेको नीति अनुसार चुरोट तथा सूर्तीजन्य पदार्थको शत प्रतिशत भागमा घिनलाग्दा र डरलाग्दा चित्रात्मक सन्देश छाप्ने कानुन बनाउने तर्फ अगाडी बढ्न विज्ञहरुले सुझाब दिएका छन् । द युनियनको एसिया प्यासेफिक क्षेत्रका सूर्तीजन्य पदार्थ नियन्त्रणका रिजनल एड्भाइजर तारासिंह बमले अष्ट्रेलियाले शतप्रतिशत भागमा चित्रात्मक सन्देश छाप्ने व्यवस्था गरिसकेको र भारतले पनि तयारी गरेका कारण नेपालले पनि त्यही अनुसार अगाडी बढ्नु पर्ने बताए । ‘चुरोट उद्योग भनेको वैध रुपमा मानिसको हत्या गर्ने उद्योग हुन’ उनले भने, ‘त्यसकारण यस्ता मानिसको ज्यान मार्ने उत्पादनलाई निरुन्तसाहित गर्दै जान अब प्लेन प्याकेजिङमा जानै पर्छ ।’ उनले चुरोट तथा सूर्ती जन्य पदार्थका कारण नेपालमा मात्र १५ हजारको ज्यान जाने गरेको बताए । कार्यक्रममा नेपाल प्रहरीका एआइजी प्रतापसिंह थापाले कानुन विपरित जानेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताए । ‘जरिवाना तिर्नुपर्ने कानुन व्यवस्था विपरित जानु भनेको अपराध नै हो,’ उनले भने, ‘त्यसकारण कानुन विपरित अपराध गर्नेलाई नियमअनुसार कारबाही गर्नुपर्छ ।’ उनले प्रहरीले उक्त कानुन कार्यान्वयनमा ल्याउन सहयोग गर्ने बताए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले उक्त कानुन कार्यान्वयनमा ल्याउन सबैको सहयोगको आवश्यकता रहेको बताए । उनले कानुन कार्यान्वयनमा ल्याउनु पर्ने स्वास्थ्य मन्त्रालयले नै पर्याप्त सहयोग नगर्दा कानुन पूर्ण रुपमा कार्यान्वयनमा आउन नसकेको बताए । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख विक्रम सिंह थापाले उपत्यकाका विभिन्न स्थानमा प्रहरी टोली खटाएर सार्वजनिक स्थानमा धुप्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याइरहेको बताए । उनका अनुसार काठमाडौंमा गरिएको कारवाहीका क्रममा हालसम्म ७ लाख रुपैयाँ जरिवाना उठेको छ । ‘सार्वजनिक स्थानमा चुरोट तान्नेलाई कारवाही गर्न सुरु गरेको ७ महिनाको अवधिमा ७ लाख भन्दा बढी जरिवाना उठेको छ,’ उनले भने, ‘हामी जरिवाना उठाउनेसँगै चेतनामुलक कार्यक्रम पनि सँगै चलाइरहेका छौँ ।’ उनले जरिवानका लागि काट्नुपर्ने चिट छपाईका लागि स्वास्थ्य मन्त्रालयले सहयोग नगर्दा समस्या भएको समेत गुनासो गरे । कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले विकसित देशमा घिनलाग्दा र डरलाग्दा चित्र छापेका कारण चुरोट तथा सूर्ती खानेको संख्यामा उल्लेख्य कमी आएकाले नेपालमा पनि कानुन अनुसार चित्र छापिनु पर्ने बताए । उनका अनुसार नेपालमा पनि ७५ प्रतिशत चित्र राख्दा चुरोट सेवन गर्नेको संख्या क्रमश घटेको र नयाँ युवाले चुरोट खान आँट नगरेका कारण सरकारले कानुन संसोधन गरेर ९० मा पुर्याएको थियो । उनले ९० प्रतिशतको व्यवस्थालाई पनि बढाएर शतप्रतिशत पुर्याउनुपर्ने बताए ।स्वास्थ्यखबर बाट