गोकुल पराजुली
विराटनगर/ अदालतबाट अपराधी करार भएरपनि लामो समयसम्म कैद तथा जरिवाना भुक्तान नगरी फरार भएका अपराधीहरु धमाधम पक्राउ पर्न थालेपछि मोरङमा फरार अपराधीहरु आपैmं अदालत जाने क्रम बढेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला, इलाका र प्रहरी चौकी तहमा विशेष संरचना निर्माण गरी फरार भएका अपराधीहरुको खोजीलाई तीब्र बनाएपछि ७५ दिनमा २ सय ३७ जना फरार अपराधी पक्राउ गरेको थियो । धमाधम फरार अपराधीहरु पक्राउ पर्न थालेपछि फरार अपराधीहरु आपैmं अदालतमा हाजिर भएर सजाय स्वीकार गर्न थालेका हुन् ।
अघिल्लो साता २७ जना फरार अपराधी अदालतको सम्पर्कमा पुगेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्दीप भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार प्रहरीले पक्राउ गरेको खण्डमा सामाजिक रुपमा बदनाम हुने, बढी हल्ला हुने आदि डरले वर्षौंदेखि फरारको रुपमा समाजमा लुकेका व्यक्तिहरु अदालतमा पुगेर पैmसला अनुसारको सजाय भोग्न तयार भएका हुन् ।
अदालतबाट ज्यान मार्ने उद्योग गरेको, हत्या गरेको, डकैती गरेको, जबर्जस्ती करणी तथा मानव बेचविखन गरेको जस्ता जघन्य अपराधमा सजाय सुनाइएका व्यक्तिहरु फरार अपराधीको सूचीमा थिए । त्यसबाहेक देवानी मुद्दामा सजाय भएका, ठगी गरेका आदि मुद्दाका फरारहरुले पनि कैद वा जरिवाना नतिरी लुकेर बस्दै आएका सबैको विवरण तयार पारेर जिल्ला प्रहरी कार्यालयले पक्राउ अभियानलाई तीब्रता दिएको थियो ।
मोरङका एसपी भण्डारीले भने, ‘मैले मोरङको कार्यभार सम्हालेको एक सातापछि करीब तीन साता लगाएर फरारहरुको तथ्याङ्क सङ्कलन गरें र पक्राउ अभियान थालें, शुरुको दश दिनमा १ सय ४२ जना फरार अपराधी पक्राउ गर्न हामी सफल भयौं । दुई महिनाको अवधिमा २ सय ३७ जनालाई पक्राउ गरेर अपराध गरेर छुट पाउन सकिँदैन भन्ने सन्देश दिन सफल भएका छौं ।’
फरार अपराधीहरु पक्राउ गर्ने कार्य चुनौतीपूर्ण रहेको एसपी भण्डारीले बताए । उनको अनुभवमा फरारहरुको पहिचानमा समस्या हुने गरेको छ । लामो समयदेखि फरार रहेर समाजमा स्थापित भइसकेका व्यक्ति पक्राउ पर्दा समाजले पनि सहजरुपमा नपत्याउने गरेको उनको अनुभव छ । त्यसबाहेक अदालतले चुस्त–दुरुस्त तथ्याङ्क नराखिदिँदा पनि समस्या भएको उनी बताउँछन् । फरार अपराधी पक्राउ गर्ने क्रममा ४० जना सजाय काटिसकेका व्यक्तिलाई पनि पक्राउ गरिएको थियो । पछि उनीहरुलाई छाडिएको थियो । एसपी भण्डारीले अदालतले सजाय भुक्तान गरेको पूर्जी दिएपनि आप्mनो तथ्याङ्क अपडेट नराख्दा उनीहरुलाई पक्राउ गर्नुपरेको बताए ।
फरार अपराधीहरु पक्राउ गर्न प्रशस्त स्रोत, साधन, संयन्त्र आदिको व्यवस्थापन गर्न धेरै खर्च हुने गरेको छ । त्यसका बाबजुद पनि समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध गर्ने मनोवृत्ति घटाउन यस प्रकारको अपरेशन गरिएको हो । मोरङ प्रहरीको नेतृत्व गर्दै एसपी सन्दीप भण्डारी आएपछि जिल्लाको सीमा क्षेत्रमा हुने चोरी, तस्करी निरुत्साहित भएको छ । भण्डारीले विगतमा भैmं तस्करीको सामान बरामद गर्ने तर तस्करीमा संलग्नलाई पक्राउ नगर्ने क्रममा फेरबदल ल्याएका छन् । आपराधिक क्रियाकलापमा संलग्न धेरैजसो व्यक्ति यस अवधिमा पक्राउ परेका छन् । यो अवधिमा साइकल, रिक्सा, गाडी तथा अन्य माध्यमबाट चोरी तस्करी गर्ने १३ सय ९२ जनालाई पक्राउ गरी मनोविमर्श कार्यक्रममार्पmत् उनीहरुलाई पेशा परिवर्तन गर्न सहयोग गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै भन्सार जाँचपास गराएर आएका ट्रकहरु विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा पठाउँदा १ करोड ५० लाख मूल्य बराबरको तस्करी भएको भन्दै कारवाही भएको थियो । त्यसमा संलग्न ८ जना पनि पक्राउ परेका थिए ।
कालाबजारी नियन्त्रणका क्रममा इन्धन तस्करी गर्दागर्दै विराटनगरको धिताल पेट्रोल पम्पबाट इन्धसहित ६ जना पक्राउ परेका थिए । उनीहरुमाथि लागेको कालोबजारीको मुद्दा अहिलेपनि चलिरहेको छ । अभियुक्तहरु धरौटीमा छुटेका छन् ।
अवैध हातहतियार तथा ओसारपसार, लागूऔषध ओसारपसार, ढुङ्गागिट्टी, काठ तस्करी आदिमा संलग्न ७० भन्दा बढी व्यक्ति पक्राउ गरी कारवाही गरेको एसपी भण्डारीले बताए ।
फरार अपराधी पक्राउ गर्ने अभियान सफलतापूर्वक सञ्चालन गरेको मोरङ प्रहरीले अब पुराना मुद्दाहरुको अनुसन्धान शुरु गरेको छ । भण्डारीले भने, ‘अब हामीले लामो समयसम्म नखुलेका फाइलहरु खोल्न थालेका छौं । ज्यान मार्ने उद्योग, हत्या, बलात्कार जस्ता जघन्य अपराधमा परेका तर अनुसन्धान नभएका मुद्दाका फायलहरु खोल्ने काम भइरहेको छ ।’ मोरङ प्रहरीमा त्यस्ता मुद्दाको सङ्ख्या करीब ३ सय रहेको उनले बताए ।