विजयपुर÷ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार व्यवस्थापिका संसद्मा आगामी आर्थिक वर्ष २०७३÷७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
संविधानसभाबाट संविधान जारी भएपछिको यो पहिलो बजेट हो । बजेटले संविधान कार्यान्वयनका विषयमा जोड दिएको छ । वर्तमान सरकारले कस्तो बजेट ल्याउने हो भन्ने विषयमा विभिन्न अड्कलबाजी भएका थिए । धेरैले बजेटलाई राम्रो तर चुनौतीपूर्ण भनेर प्रतिक्रिया दिएका छन् ।
धरानका व्यवसायी तथा अर्थविश्लेषक कृष्णकुमार अग्रवालले बजेट विगतको हिसाबमा राम्रो भए पनि कार्यान्वयनको ठोस आधार नभएसम्म उत्कृष्ट भन्न नसकिने प्रतिक्रिया दिए । ‘बजेटले समेटेका धेरै क्षेत्रहरु राम्रा छन् तर कार्यान्वयन हुन सक्ने आधारहरु देखिएका छैनन्’, अग्रवालले भने, ‘बजेट सफल कार्यान्वयन हुने हो भने उत्कृष्ट पनि हुन सक्छ ।’ बजेटका अनुसूचीहरु आएपछि यसबारे स्पष्ट भन्न सकिने उनले जनाए । ‘अहिलेका लागि बजेट आशाजनक छ ।’ उनले भने । आयकर छुट भएकोले यसबाट महङ्गीमा पिल्सिएका नागरिक र साना करदाताहरुलाई ठूलो राहत पाउने बताउँदै अग्रवालले भने, ‘बन्द–हड्दाल, तोडफोडबाट भएको क्षति सम्बन्धित पक्षलाई तिराउने योजना महत्वाकाङ्क्षी र चुनौतीपूर्ण छ । कार्यान्वयन भयो भने यो निकै ठूलो उपलब्धि हुन्छ । कृषियोग्य जमीनको विषयमा सरकारले ल्याएको योजनाले कृषकहरुलाई निकै ठूलो राहत दिन्छ ।’
पूर्वाञ्चल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष टङ्क दुलालले पनि बजेटको विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन् । ‘निजी क्षेत्रले उठाएका केही विषय सरकारले सम्वोधन गर्ने प्रयास गरेको छ । पब्लिक लिमिटेडमा दर्ता भएका उद्योगहरुलाई १५ प्रतिशत आयकर छुट दिने कुरा राम्रो हो, कार्यान्वयनमा तदारुकता देखाउनुपर्छ’, उनले भने, ‘विराटनगर र राजविराजका विमानस्थलको स्तरोन्नति गर्ने, विद्युत् उत्पादनमा ल्याइएको १० वर्षे कार्ययोजना पनि उचित छ । यस्ता राम्रा विषयलाई जतिसक्दो चाँडो सम्भव बनाउनु जरुरी छ ।’ औद्योगिक क्षेत्रलाई बन्दमुक्त क्षेत्र बनाउने र सम्बन्धित पक्षबाट क्षति भराउने निर्णय राम्रो भएको दुलालको भनाइ छ । समग्रमा बजेटले पूर्वाञ्चलका मुद्दाहरुलाई प्रादेशिक संरचनामा जोड दिएको बताउँदै उनले भने, ‘ऊर्जालाई फोकस दिएको छ । कृषि र पर्यटन प्रवद्र्धन गर्ने कुरा राम्रो भए पनि कार्यान्वयन भएदेखि बजेट राम्रो छ । कार्यान्वयनमा थुप्रै आशंका छन् ।’
–इटहरीबाट बाबुराम सुवेदी