सरकारसँग सम्झौता भएको दुई महिना बित्न लाग्दासमेत भूकम्पपीडितहरुले पुनःनिर्माणका लागि अनुदान रकम पाउन सकेका छैनन् । पुनःनिर्माण प्राधिकरणले बैङ्कसँग सम्झौता गरे पनि त्यसअनुसार बैङ्कले अनुदान वितरण नगरेपछि पीडितले अनुदान रकम पाउन नसकेका हुन् । प्राधिकरणले हालसम्म ३६ हजार २ सय ८७ पीडित परिवारसँग यसबारे सम्झौता गरिसकेको छ । यीमध्ये केही परिवारले रकम पाए पनि अधिकांशले रकम नपाउँदा उनीहरुले घरको जगसमेत हाल्न नपाएको समाचार सार्वजनिक भएको छ । हालसम्म भूकम्प प्रभावित १० जिल्लामा सम्झौताको काम भइरहेको छ ।
भूकम्प गएको एक वर्षपछि गत वैशाख १२ गते एकैपटक ३ सय ८३ गाविसका भूकम्पपीडितहरूको नाम स्थानीय निकायमा प्रकाशित गरी सरकारले अनुदान सम्झौताको प्रक्रिया अघि बढाएको थियो । सरकारले ३ लाख ९ सय ६१ परिवारको सूची प्रकाशित गरी पहिलो किस्ता रकम उपलब्ध गराउने प्रक्रिया शुरु गरेको हो । १२ गतेअघि दोलखाको सिँगटी र ८ जिल्लाका ८ गाविसमा मात्रै अनुदान सम्झौताको प्रक्रिया अघि बढाइएको थियो । सबैभन्दा पछिल्लोपटक प्रक्रिया अघि बढाइएको पनि एक महिना बितिसक्यो तर पहिले र पछिल्लोपटक सम्झौता भएका पीडितले पनि घरको जग निर्माणका लागि रकम पाएका छैनन् ।
सरकारले पूर्ण रूपमा घर क्षति भएको परिवारलाई तीन किस्तामा २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ तर यो निर्णय काजगमै सीमित हुँदा भूकम्पपीडित टहरामै बस्न बाध्य छन् । पीडितले पुस–माघको जाडो टहरामै बिताए । अब वर्षायाम पनि शुरु भइसकेको छ । सरकारले वर्षायाममा पीडितका लागि छानाको व्यवस्था मिलाइसक्ने आश्वासन दिएको भए पनि त्यो आश्वासन पूरा हुने सङ्केत पाइएको छैन । सरकारको कछुवा चालले समयमै पीडितको घर बन्ने सङ्केत पाइँदैन । प्राधिकरणको व्यवस्थापकीय र समन्वय गर्ने कार्यक्षमता अभावका साथै अन्य विभिन्न कारणले सम्झौता भइसकेका पीडितले पहिलो किस्ताको रकम पनि पाउन सकेका छैनन् । यही गति कायम रहने हो भने पीडितको घर बन्न अभैm धेरै समय लाग्ने देखिएको छ ।
यो विषयमा सरकारसँगै सम्बन्धित अन्य निकायहरु पनि संवेदनशील हुनु आवश्यक छ । अनुदान वितरणको जिम्मा पाएको बैङ्कहरुले रकम वितरणमा ढिलाइ गर्दा पनि यो कामले गति लिन नसकेको हो । जाडो याम थोत्रो पाल र टहरामा बिताउन बाध्य भएका पीडितहरुले वर्षायाम पनि टहरामै बिताउनुपर्ने अवस्था सिर्जना भएको छ । यस विषयलाई सबैले गम्भीरतापूर्वक लिनु अपेक्षित छ ।