इनरुवा / जिल्ला स्वास्थ्य कार्यालयले सुनसरी जिल्ला जापानिज इन्सेफलाइटिस रोगको जोखिमका रहेको भन्दै खोपको तयारी पूरा भएको जनाएको छ । १५ वर्ष मुनिका बालबालिकाका लागि लगाइने जापानिज इन्सेफलाइटिस विरुद्धको खोपको तयारी पूरा भएको जिल्ला स्वास्थ कार्यालयले जनाएको हो ।Japenese
पहिलो र तेस्रो चरणको खोप अभियान एकैसाथ जेठ २२ गतेदेखि ३० गतेसम्म र दोस्रो चरणको खोप अभियान असार ३ गतेबाट ११ गतेसम्म सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अभियानका लागि ४ सय स्वास्थ्यकर्मी र १२ सय ६५ जना महिला स्वयंसेविका परिचालित हुने स्वास्थ्य प्रमुख दिल्लीरमण अधिकारीले जानकारी दिए ।
जिल्लाका २ लाख ३७ हजार ५ सय ९ जना बालबालिकालाई लक्षित गरी तीन चरणमा अभियान सञ्चालनमा ल्याइने खोप अधिकृत पुण्यप्रसाद सिग्देलले पत्रकार सम्मेलनमा जानकारी गराए ।
सुनसरीमा ७ जनामा सङ्क्रमण रहेको भेटिएपनि सङ्क्रमितको सङ्ख्या बढी हुनसक्ने आशङ्कामा झापा र मोरङ सहित सुनसरीलाई जोखिमपूर्ण क्षेत्रमा रुपमा लिइँदै आइएको छ ।
यो रोग पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । क्युलेस जातको लामखुट्टेले चराचुरुङ्गीलाई टोकेपछि लक्षणविहीन अवस्थाको भाइरस सक्रिय हुन पुग्छ भने पुनः लामखुट्टेले पशुलाई टोक्दा सो भाइरस थप वृद्धिविकासको चरणमा पुग्ने गर्छ । सो क्रमको भाइरसयुक्त पशुलाई टोक्दा पूर्णरुपमा सङ्क्रमित बन्न पुगेको लामखुट्टेले मान्छेलाई टोकेलगत्तै जापानिज इन्सेफलाइटिसको सङ्क्रमण मानिसमा पैmलन पुग्दछ ।
रोगको रोकथामको एकमात्र विकल्प खोप लगाउनु मात्रै भएकाले बढीमात्रामा सङ्क्रमणमा पर्ने सङ्ख्यालाई आधारमानी १५ वर्षमुनिका बालबालिकामा खोप लगाउन लागिएको खोप अधिकृत सिग्देलको भनाइ छ । सो रोगको लक्षणहरुमा रुँघाखोकी लाग्ने, टाउको दुख्ने, वाक्वाकी आउने, अचेत हुने, स्मरण शक्ति हराउँदै जाने, शारीरिक अपाङ्गता समेत हुनसक्ने खालका हुने गर्दछन् ।