[caption id="attachment_3015" align="alignright" width="206"] डा. अरुणकुमार सिंह[/caption]
परिचय/
‘विश्व सुर्तिरहित दिवस’ ३१ मे २०१६ का दिन अर्थात् आज मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सदस्य राष्ट्रको संलग्नतामा सन् १९८७ देखि यो दिवस मनाउन थालिएको हो । विश्वमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनबाट प्रत्येक ६ सेकेन्डमा एक व्यक्तिकोे ज्यान जाने गरेको छ । हरेक वर्ष लगभग ६० लाख मान्छे यस्ता पदार्थकै सेवनबाट अकालमै मरिरहेका छन् । मृतकमध्ये ५४ लाख मान्छे यस्ता पदार्थको प्रत्यक्ष सेवक हुन् भने ६ लाख अरूले गरिदिएको धूमपान वा सुर्तीजन्य पदार्थको खेती, उत्पादन र बेचबिखनसँग संलग्न छन् । धूमपानले हुने भयावह मृत्युको तथ्याङ्क सन् २०३० सम्म ८० लाख पुग्ने अनुमान गरिएको छ ।
सुर्ती जलनबाट उत्पादित धु“वामा के हुन्छ ?
स्वास्थ्यमा प्रतिकूल असर पार्ने तत्व सुर्ती जलाउँदा निस्किने धुँवामा ४ हजार र सुर्तीका पातमा ७ हजार पाइन्छन् । यीमध्ये ५० वटा क्यान्सर रोगका लागि जिम्मेवार छन् । सुर्तीको धुँवामा पाइने टार, पोली–न्युक्लिएर अरोमेटिक हाइड्रोकार्बन, बिटा नेप्थाइलिन, एन–नाइट्रोसोनो र निकोटिन बेन्जोपाइरिन, निकिल, आर्सेनिक, पोलोनियम–२१० नाइट्रोसामाइन, हाइड्राजिन, भिनाइलक्लोराइडजस्ता सुर्तीको
धुवाँमा पाइने तत्व क्यान्सरका मुख्य कारक हुन् भने फिनोल, क्रिसोल, क्यारेकोल इन्डोल र कार्बाजोलजस्ता पदार्थ क्यान्सर गराउने सहयोगी तत्व मानिन्छन् ।
धुँवामा पाइने कार्बन–मोनोअक्साइड, हाइड्रोजन साइनाइड, अमोनिया, बिटाडिन, बेन्जिन, क्याडमियमजस्ता तत्व पनि मुटु तथा रक्तसञ्चार, स्नायु तथा नाडी, पेट तथा रगतका रोग उत्पन्न गर्ने तत्व हुन् । सुर्ती तथा सुर्तीको जलनबाट उत्पादित धँुवामा पाइने ल्युकिमिया गराउने बेन्जिन, फोक्सोको क्यान्सर गराउने रेडियोएक्टिब पोलेनियम–२१० भन्दा बढी अत्यन्त हानिकारक तत्व हुन्छ ।
धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले के हुन्छ ?
धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने मान्छेले प्रत्येक हप्ता एक दिन बराबरको आयु घटाइरहेको हुन्छ । मुख, गिँजा, श्वासनली, दाँत तथा फोक्सोको क्यान्सर, ल्युकेमिया (रगतको क्यान्सर), पेट, मृगौला, प्याङ्क्रियाज, ठूलो आन्द्रा, मुत्रथैली र पाठेघरको क्यान्सरको सम्भावना हुन्छ । त्यस्तै मुटु तथा रक्तनलीसँग सम्बन्धित रोग, स्ट्रोक प्यारालाइसिस, अन्धोपन, गिँजा सुन्निने, दम–खोकी, न्युमोनिया, सिओपिडी, रक्तनली साँघुरिने, स्नायु तन्तुको क्षय, श्वास प्रणालीका दीर्घरोग, हड्डी खिइने र भाँच्चिने, नपुङ्सकता र बाँझोपन बढ्ने, थकान, अनिद्रा, अपच, मानसिक असुन्तलनजस्ता रोगको खतरा बढेर जान्छ । गर्भवतीले धूमपान गरेमा अपाङ्ग तथा मृत, प्रिटर्म बच्चा जन्मने सम्भावना रहन्छ ।
धूमपान र सुर्तीजन्य पदार्थ त्याग्न के गर्ने ?
धूमपान र सुर्तीजन्य पदार्थ त्यागेर स्वथ्य जीवन बाँच्ने चाहना सबैको हुन्छ तर नशामुक्त हुन धेरै व्यक्ति असफल छन् । यसका लागि दृढ सङ्कल्पको आवश्यकता पर्छ । यस्ता पदार्थलाई छोड्दा धेरैलाई छट्पटी लाग्ने, औडाहा हुने, टाउको दुख्ने, काम छुट्ने, चक्कर लाग्ने, छाती तथा पेटमा भारीपन बढ्ने, निद्रा नपर्ने, टोलाउने, स्मृतिको क्षमतामा ह्रास आउने र व्यावहारिक भ्रष्टताका लक्षण देखा पर्छ ।
धूमपान र सुर्तीजन्य पदार्थ कसरी रोक्ने ?
सुर्तीजन्य पदार्थको उत्पादन तथा बेचबिखनमा कडाइ गर्नैपर्छ र यी पदार्थको उपलब्धतालाई कठिन बनाउनुपर्छ । बेचबिखन गर्न साधारण प्याकिङ गर्नुपर्ने, विज्ञापनमा रोक लगाउनुपर्ने र परेको खण्डमा अत्यन्त धेरै कर लगाएर बेच्नुपर्छ, ताकि यसको सेवनले हुने मृत्यु र रोग दुवैलाई कम गराउन सकियोस् ।
धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने हरेक अभिभावकले विश्व सुर्तिरहित दिवसको दिन वाचा गरौँ– आप्ना बालबालिकालाई धूमपानको धुँवाबाट हुने नोक्सानबाट समयमै बचाउँने छौँ । यसतर्पm सर्वसाधारण र सरकारको ध्यान जानु आजको आवश्यकता हो ।
(लेखक धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ हुन् ।)