राणाविरुद्ध लड्न गिरिजाप्रसाद कोइरालाले तमसुक गरेर लिएको बन्दुक फिर्ता नआएपछि त्यसका धनी साढे ६ दशकदेखि खोजिमा छन् ।२००३ सालमा जहानियाँ राणा शासनविरुद्ध नेपाली कांग्रेसले सशस्त्र आन्दोलनको घोषणा गर्यो । जनक्रान्तिकै लागि कांग्रेसले देशै भरिबाट हातहतियार र सेना एकट्ठा गर्न थाल्यो । क्रान्तिकै शिलशिलामा २५ पुस २००७ मा कांग्रेसका तत्कालिन पोलिटिकल कमिसनर गिरिजाप्रसाद कोइरालाले धरान जुद्धनगर (हालको नयाँबजार)का सूर्यनारायण श्रेष्ठको नाममा रहेको ‘एकनाले ५ फायर भाजर’ बन्दुक जनक्रान्ति सफल भएपछि फिर्ता दिने सर्तमा कवुलनामा गरी लिएर गए । त्यसको डेढ महिना नपुग्दै अर्थात ७ फागुन २००७ मा सशस्त्र क्रान्तिकै आडमा नेपालमा प्रजातन्त्र आयो ।प्रजातन्त्र आएसँगै कांग्रेसले छेडेको सशस्त्र आन्दोलन थामियो । जनक्रान्ती सफल भएता पनि लडाइँका लागि लगिएको सूर्यनारायणको बन्दुक सर्तअनुसार फिर्ता आएन । आज ६५ वर्षपछि पनि गिरिजाप्रसादले लगेको उक्त बन्दुक पाउने आसमा उनका दरसन्तान छन् । त्यसबेला कोइरालाले सूर्यनारायणका जेठा दाइ जयनारायणबाट मोरङ गोस्वारामा दर्ता नम्बर ४० रहेको बन्दुक र त्यसको २५ ओटा गोली भर्पाइमा हस्ताक्षर गरी बुझेका थिए । सूर्यनारायणका नाति, अर्थात २०३० सालमा राजाको सवारीमा बम प्रहार गरेको आरोप लगाएर मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोजनारायणले त्यो भर्पाइ उनको संग्रहालयमा सुरक्षित राखेका छन् । ‘बन्दुक फिर्ता पाउँ भन्दै बाजेले उतिबेलाका धेरै आईजीपीहरूलाई समेत पटक–पटक चिठी लेख्नु भयो, तर फिर्ता भएन ।’ त्यसरी लेखिएका पत्रका छाया प्रति देखाउँदै मनोजले भने ।तत्कालिन आईजीपीहरूलाई लेखिएका पत्रमा सूर्यनारायणले बन्दुक फिर्ता नदिने हो भने, ‘परेको मोल’ २५ सय भारु दिनु, भर्पाइ चाहिए त्यो पनि देखाउँला‘ भनी उल्लेख गरेका छन् । बन्दुक लिएको ४४ वर्षपछि अर्थात २०५१ सालको मध्यावधि निर्वाचनका बेला तत्कालिन प्रधानमन्त्रीसमेत रहेका कोइराला सहिद भीमनारायणको परिवारलाई भेट्न धनकुटा सदरमुकामस्थित घरैमा पुगे । मनोजले भने, ‘त्यसबेला पनि बाजेले गिरिजाबाबुसँग भर्पाइ देखाएरै बन्दुक माग्नु भयो ।’ भर्पाइ पढेर रोमाञ्चित भएका कोइरालाले तत्कालिन क्रान्तिका डरलाग्दा, रहस्यमय र केही रमाइला किस्सा सुनाए ।तर, बन्दुकका बारेमा कुनै प्रतिक्रिया दिएनन् ।
सूर्यनारायणले ‘माल’ नभए अहिलेको हिसाबमा सात लाख रुपियाँ दिनु भने । ‘त्यसपछि भने गिरिजाबाबु मज्जैले हाँस्नु भयो’ मनोजले विगत सम्झे । गिरिजाप्रसादले लिनुअघि, अर्थात २५ वैशाख २००७ मा मोरङ गोस्वाराले २ वर्षका लागि उक्त बन्दुकको दर्ता इजाजत नविकरण गरेको थियो । २०६६ वैशाखमा बन्दुकका मालिक सूूर्यनारायणको निधन भयो । त्यसयता पनि उनका नाति (सभासद् मनोहरनारायण श्रेष्ठका दाजु) मनोजले भेटेजति कांग्रेसका ठूला नेतासँग ‘फिर्ता’ पाउने आसामा बन्दुकको प्रसंग उठाउन छाडेका छैनन् । २ वर्षअघि धनकुटा आएका कांग्रेस महामन्त्री प्रकाशमान सिंहसँग पनि मनोजले कुरा राखे । त्यसबेला प्रकाशमानले ‘भर्पाइ हेर्दै इतिहास सुरक्षित राख्नु भएको रैछ, राम्रो गर्नुभो’ मात्रै भने । मनोज भन्छन्, “भित्री मनबाट बन्दुक पाउने आसा मरिसकेको छैन् ।”
स्रोत : नेपाल साप्ताहिक