उत्तम नेपाल,भद्रपुर/ झापाका भद्रपुर तथा चन्द्रगढीका व्यापारी तथा सर्वसाधारणको प्रश्न छ, ‘भारतीय चिठ्ठा रोक्ने कुनै उपाय छैन ?’
भारतीय चिठ्ठाले सबै सम्पत्ति सकिएर घर–परिवारको बिचल्ली भएपछि उनीहरुले यस्तो प्रश्न गर्न थालेका हुन् । हरेक बिहान भारतबाट आउने एक समूहले भारतीय सय रुपैयाँमा २५ लाख भारतीय रुपैयाँ ‘लोट्री’ (चिठ्ठा) पर्ने भन्दै भद्रपुरका सुन व्यवसायी, भाँडा व्यापारीलगायत स्थानीयलाई चिठ्ठा खरिद गर्न लगाउँछ । यसरी उनीहरु दैनिक ५ लाख भारतीय रुपैयाँ सङ्कलन गरेर बिहान १० बजेसम्म फर्किने गरेको उनीहरु बताउँछन् ।
२० प्रति चिठ्ठा हुने एक बण्डलको भारतीय सय रुपैयाँ पर्छ । भारतको बङ्गाल राज्यअन्तर्गत उत्तरी क्षेत्रमा सञ्चालित मिजोराम स्टेट लट्रिज र नागाल्याण्ड स्टेट लट्रिज दिनमा ३ समय खेलाउने गरिएको छ । यो चिट्ठाले भद्रपुरका सयौँ व्यक्तिलाई नसा लगाइसकेको छ । दैनिक २५ लाखको चिठ्ठामा ए, बी, सी, डी जस्ता अङ्ग्रेजी वर्णमाला लेखिएको हुन्छ । कम्पनीले चिठ्ठा खरिदकर्ताले रोजेको अक्षर उसकै मोबाइलमा पठाइदिने गरेको हुन्छ । चिठ्ठाको नतिजाको जानकारीे www.lotterysambad.com मार्पत् थाहा पाउन सकिन्छ ।
चिठ्ठाको कारोबार भद्रपुर नगरपालिका कार्यालय वरपर, भन्सार छेउ, मोहपाल धर्मशालालगायतका स्थानमा बढी हुने गरेका छन् । भारतबाट आएको समूहले छरिएर गोप्य रुपमा चिठ्ठा बिक्री गर्छ । चिठ्ठापीडित एकजनाले आप्mनो नाम उल्लेख नगर्ने शर्तमा चिठ्ठाबारे समाचार लेखिदिन अनुरोध गरे । ‘यो खेलले गर्दा हालसम्म दश लाख रुपैयाँ गइसक्यो’, उनले भने, ‘मन मान्दैन । यो त नसा नै भइसक्यो ।’ घरपरिवार, व्यापार–व्यवसाय पूरै चौपट भएको उनको भनाइ छ । अर्का एक भाडा व्यापारीको पीडा पनि उस्तै छ । ‘चिठ्ठाले गर्दा दोकानको पूँजी नै खत्तम भयो’, ती व्यापारीले सुनाए, ‘चिठ्ठा देखेपछि किन्न मन लागिहाल्छ । उनीहरु नआए त यो बानी हटेर जाने थियो ।’
दशौं वर्षदेखि भारतीय चिट्ठा खेलेर घरजग्गासमेत स्वाहा पारेका एक व्यक्तिकी श्रीमतीले पनि नाम नबताउने शर्तमा यस्तै पीडा सुनाइन् । उनले प्रश्न गरिन्, ‘यो इण्डियाको चिट्ठा रोक्ने कुनै कानून छैन ?’ बरु जुवातास खेलेका भए कहिलेकाहीँ जित्थे होला भन्ने उनी बताउँछिन् । ‘घरमा खाना हुँदैन, केटाकेटीको स्कुलको फिस तिरेको छैन तर उहाँलाई दैनिक भारतीय चिट्ठा किन्न पैसा चाहिन्छ’, उनी भन्छिन्, ‘गरगहना सकिए, जग्गाजमिन सकियो । अब हामीलाई बेच्न मात्र बाँकी छ ।’ चिठ्ठा परेको आपूmलाई कहिल्यै थाहा नभएको उनी सुनाउँछिन् । ‘कहिलेकाहीँ ५–७ सय परेको सुनाउनुहुन्छ । परेको दिन टन्न खाएर लट्ठ भएर आउनुहुन्छ । यो भारतीय चिट्ठा मेरो सौताभन्दा खत्तम भयो ।’ उनले गुनासो गरिन् ।
भद्रपुरका अधिकांश नागरिक यति बेला यस्तै समस्यामा परेका छन् । कुनै निश्चित पेशा नभएका व्यक्तिहरूले समूह बनाएर वा एक्लै दैनिक तीन समयकै चिट्ठा खेल्ने गरेका छन् । चिट्ठा बेच्न आउने एक भारतीयका अनुसार भद्रपुर चन्द्रगढीमा मात्रै दैनिक ५ लाखभन्दा बढीको चिट्ठा बिक्री हुने गरेकोे छ । उनले भने, ‘हामीलाई अग्रिम अर्डर गरेर मगाउँछन् । हामीलाई पनि नेपालमा बिक्री गर्ने अधिकार छैन ।’ चिट्ठा परिहालेमा भारतकै देवीगञ्ज, खोरीबारीलगायत ठेगाना देखाएर चिट्ठाको रकम दिने गरिएको उनले जनाए । उनले आपूmहरु चिट्ठा बिक्रेता भएको जनाउँदै बेचेअनुसार कमिशन आउने बताए । ‘बेचेको चिट्ठामा परिहाल्यो भने पनि कमिशन आउँछ ।’ उनले भने ।
सीमामा बसेका सशस्त्र तथा नेपाल प्रहरीले समेत चिठ्ठा बिक्रेतालाई पक्राउ गरेको पाइँदैन । एकै अनुहारका व्यक्ति सधैँ दुई–तीन घण्टाका लागि भद्रपुर आउने र फर्किने गरेको देख्तासमेत प्रहरीले उनीहरुमाथि निगरानी नगरेका कारण यसमा दुवै प्रहरीको मिलोमतो हुनसक्ने स्थानीयको अनुमान छ । भारतको गलगलियाका मुसलमान समुदायले पनि चिठ्ठाको लतमा घरजग्गा सकेको एक भारतीयले बताए ।
झापाका प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद ज्ञवालीले तत्काल प्रहरी परिचालन गरी चिठ्ठा कारोबारीलाई नियन्त्रणमा लिइने बताए । यो विषय स्थानीय प्रशासन र नेपाल प्रहरीको क्षेत्रमा भए पनि सशस्त्र प्रहरीले यसबारे तत्काल सबै नाकामा निर्देशन दिने सशस्त्र प्रहरी बलको भद्रपुर सीमा सुरक्षा कार्यालयका एसपी शान्तिकुमार कार्कीले बताए । झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आपूmलाई यस विषयमा जानकारी नआएको बताए । अब तत्काल सुरक्षा निकायलाई जानकारी गराइने उनले जनाए ।
नेपालको कानूनमा विदेशी मुलुकबाट कुनै चिट्ठा नेपालभित्र बिक्री–वितरणका लागि ल्याउने, झिकाउने, बिक्री वितरण गर्ने, त्यसरी ल्याई बिक्री–वितरण भएको चिट्ठाबाट प्राप्त भएको आम्दानी विदेश पठाउने गरेमा बिगो जफत गरी बिगोबमोजिम जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । तर, कानून कार्यान्वयन गर्ने निकायले यसतर्पm ध्यान पु¥याउन सकेका छैनन् ।
सर्वसाधारणको सदाचार तथा आर्थिक हित कायम राख्न चिट्ठा बिक्री–वितरण र सञ्चालनमा नियन्त्रण गर्न चिट्ठा ऐन, २०२५ ल्याइएको थियो । सो ऐनको दफा २ मा नेपाल सरकारले अनुमति दिएकोमा बाहेक कसैले चिट्ठाको खरिद–बिक्री गर्ने काम गर्न वा गराउन पाउँदैन । कुनै चिट्ठा खोल्न, छाप्न वा प्रकाशित गर्न, कुनै चिट्ठा बिक्री–वितरण गर्ने वा विज्ञापनका लागि दिने, कुनै चिट्ठासम्बन्धी विज्ञापन छाप्ने, प्रकाशित वा बिक्री–वितरण गर्ने वा सो कामको लागि आपूm साथ राख्ने, नेपाल सरकारले तोकिदिएकोमा बाहेक विदेशी मुलुकबाट कुनै चिट्ठा वा त्यस्तो विज्ञापन नेपालभित्र बिक्री–वितरणका लागि ल्याउने वा झिकाउने वा बिक्री–वितरण गर्ने वा त्यसरी ल्याई बिक्री–वितरण भएको चिट्ठाबाट प्राप्त भएको आम्दानी वा त्यस्तो चिट्ठाको बिक्री–वितरणसम्बन्धी कुनै लगत नेपालबाहिर पठाउने वा चिट्ठासम्बन्धी काम गर्नको लागि कुनै घरजग्गा प्रयोग गर्ने वा प्रयोगमा दिनेलाई बिगो जफत भई बिगोबमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।