‘डाक्टर साहेब- सुन्नुस् न । मेरो बच्चालाई रातभर घ्यारघ्यार हुने गर्छ । के गरुँ ?’ बालबालिकासम्बन्धी यस्ता गुनासा लिएर वीपी प्रतिष्ठानको ओपीडी र इमर्जेन्सीमा आउने अभिभावक प्रशस्तै हुन्छन् । यो निमोनियाको लक्षण हो । आखिर घ्यारघ्यार वा निमोनिया के हो ? निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको खराबी हो जसमा फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वास–प्रश्वासमा बाधा पुग्दछ । ब्याक्टेरिया र भाइरसले निमोनिया गराउँछ । बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरुमध्ये निमोनिया मुख्य रोग हो । यसको सङ्क्रमण सबैभन्दा बढी २ वर्षमुनिका साना बालबालिकालाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो ।
विश्वभर वर्षेनी ५ वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ । नेपालमा ५ वर्षमुनिका ३५ लाख बच्चाहरुमध्ये ५६ सय जनाको मृत्यु हुन्छ । विश्वमै निमोनियाबाट ज्यान गुमाउनेमध्ये ९८ प्रतिशत बालबालिका नेपालजस्तो कम विकासोन्मुख देशका पर्दछन् । आँखाले देख्न नसकिने सूक्ष्म जीवाणु प्रत्येक मानिसको नाक र घाँटीमा हुन्छन् । यी जीवाणुहरु फोक्सोभित्र पसेपछि यसको सङ्क्रमणले निमोनिया गराउँछ ।
सूक्ष्म जीवाणुहरुमध्ये पनि ५० प्रतिशत जति निमो कोकस र हेमो फाइलस इन्फ्लुयन्जा (हिब.बी) को कारण निमोनिया हुने गर्दछ भने आधा जति अन्य सूक्ष्म जीवाणु, फङ्गसको कारण हुन्छ । सरसफाइको कमी, खाना पकाउँदा र धूमपान गर्दाको धुँवा, धुलो र चिसोको वातावरण बढी भएका सबै ठाउँका बालबालिका तथा बूढाबूढीहरुमा यसको सङ्क्रमण बढी हुनसक्छ । साथै खोप नपाएका बच्चाहरुमा रोग प्रतिरोध क्षमता विकसित नहुने हुँदा निमोनिया हुने जोखिम रहन्छ ।
निमोनियाका लक्षणहरु के–के हुन् ?
शुरुमा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने र हल्का ज्वरो आउने, साधारण रुघाखोकी लाग्ने र पछि छिटो–छिटो सास फेर्ने वा सास फेर्न गाह्रो हुने हुन्छ । ज्वरो १०२ डिग्रीभन्दा माथि हुन्छ । कडा निमोनिया भएमा बच्चा खान–पिउन नसक्ने, सुस्त वा बेहोश हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ र कसै–कसैमा सास फेर्दा अस्वाभाविक आवाज सुनिने पनि गर्दछ ।
बच्चालाई स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था
निमोनियाको उपचार एन्टिबायोटिक र सरल तरिकाबाट गर्न सकिन्छ । शिशुहरुमा विशेषतः नवजात शिशुहरुलाई भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । बच्चाले छिटो–छिटो सास फेरेमा, बच्चाको कोखा हानेमा, बच्चाले झोल खाने कुरा खान नसकेमा, बच्चाले आमाको दूध चुस्न नसकेमा, २ महिनामुनिको बच्चालाई ज्वरो आएमा वा हातखुट्टा शिताङ्ग भएमा, बच्चा ज्यादै कुपोषित भएमा । समयमै उपचार नगरे बिरामीको स्वास्थ्य अत्यन्त बिग्रने हुँदा माथि उल्लेख गरिएका लक्षणहरू देखिनेबित्तिकै अस्पताल जानुपर्छ ।
निमोनिया लग्न नदिने उपायहरु
बच्चालाई न्यानो तर हावा आउन–जान सक्ने कोठामा राख्नुपर्छ । न्यानो लुगा लगाइदिनुपर्छ, सकभर भान्सा कोठामा राख्नु हुँदैन । धुँवा, धुलो र मट्टितेलको खारबाट जोगाउनुपर्छ । चिसोपानीले नुहाइदिनु हुँदैन । धुलो र फोहोर वातावरणमा खेल्न दिनु हुँदैन । जन्मेको एक वर्षभित्रै सम्पूर्ण खोपको मात्रा दिइसक्नुपर्छ । बालबालिका भएको ठाउँमा धूमपान गर्नु हुँदैन । जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । त्यसपछि पोषिलो र ताजा खानेकुरा पनि थप्नुपर्छ । बालबालिकालाई पानीमा भिज्न दिनु हुँदैन ।
(लेखक धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत् बालरोग विशेषज्ञ हुन् ।)