कुनै समय नेपालको कृषि उत्पादन क्षेत्र ९२ प्रतिशत रहेको भनिए पनि अहिले घटेर ६० प्रतिशतमा झरिसकेको छ । एकातिर चर्को आत्मनिर्भरताको कुरा, अर्कातिर चलिआएको शैक्षिक मार्गचित्रबीच तालमेल नहुँदा पढेर पनि गरिखान नसक्ने जनशक्ति थुप्रिरहेका छन् । शैक्षिक गुणस्तर भनेको पढेपछि गरिखान सक्षम व्यक्तिको कर्मसँग जोडेर हेर्नु आवश्यक छ । शिक्षा व्यावहारिक र व्यावसायिक भएन भन्ने रटान सुन्दै र घोक्दै आएकै छौँ तर यसका लागि गर्नुपर्ने कामको मार्गचित्र निर्धारण यतिखेरको खाँचो हो । शिक्षालाई उत्पादनसँग जोड्ने मूल बाटो भनेको माटोसँग जोडिएको शिक्षाको विकास र विस्तारबाट मात्रै सम्भव छ । अर्थात् आत्मनिर्भरताको कुरा शिक्षालाई कृषिसँग नजोडेसम्म कोरा गफ मात्रै हो । कृषि विषय कक्षा आठदेखि नै हाम्रो शिक्षा सैद्धान्तिक छ । गणित, विज्ञान र अङ्ग्रेजीका सूत्र, पाठ अनि अक्षर चिन्न र कण्ठ गर्नै भ्याई नभ्याई छ तर हाम्रै घर–आँगनमा भएको माटोमा कसरी बीउ लगाउने ? बीउ उम्रेपछि कसरी गोडमेल गर्ने ? अनि त्यो उत्पादनलाई कसरी घरमा भित्र्याउने र भण्डारण गर्ने भन्नेबारेको जानकारी जिल्ला कृषि विकास कार्यालयको चौघेरामा सीमित छ । कार्यालयमा भएको यो ज्ञान सजिलै विस्तारित पनि भएको पाइँदैन । विद्यालय शिक्षादेखि नै कृषि कर्मको परिचय, दिनहुँ खाने अन्न कसरी उत्पादन हुन्छ ? कसले गर्छ ? कहाँ गरिन्छ भन्नेबारेमा कृषि विषय थपेर कक्षा आठदेखि नै शिक्षालाई कृषिसँग जोड्नुपर्छ । कक्षा नौ–दशमा त्यसलाई थप बढाउन सकिन्छ । यी तीनवटा कक्षामा कृषि उत्पादन र वास्तविकताका बारेमा विद्यार्थीलाई सिकाउन सकिन्छ । बीउ तथा गोडमेल गर्ने तरिका, माटोका प्रकार र उत्पादनको क्षमता, सिँचाइ र पानीको स्रोतको प्रयोगका बारेमा पढाउन सकिन्छ । यति गर्दा व्यावहारिक ज्ञान लिँदै विद्यार्थीले पढ्न सक्छ र विद्यार्थीले यति पढ्दा कृषिका बारेमा धेरै कुरा जान्न सक्छ । यसले गर्दा विद्यालय शिक्षापछि पढ्नलाई ठूलो पैसा खर्च हैन, विद्यार्थी आपैंmले फलाएको अन्न बेचेर गर्जो टार्न सक्ने हुन्छ । कति डाक्टर चाहिने ? कति इन्जिनियर ? कति शिक्षक चाहिने भन्ने राज्यले निर्धारण गर्ने र बाँकी विद्यार्थी स्वआर्जन हुने शिक्षातिर लाग्ने हो भने सबै बीए–एमए गर्ने तर कसैसँग काम नहुने दुर्दशाको अन्त्य हुन्छ । हामी आत्मनिर्भर पनि हुन्छौँ, आवश्यक जनशक्तिको खाँचो पनि हुन्न । कृषि विज्ञानलाई सजिलो बनाऔ“ एसएलसीपछि करीब २ लाख रुपैयाँ खर्च गरेर कृषिका लागि माटो अनुसन्धान तथा जाँच गर्ने कोर्स जेटीए पढ्न सकिन्छ तर जेटीए अहिले सबै ठाउँमा छैनन् । सिटीइभिटीको यो कोर्स जिल्लाका प्राविधिक शिक्षालयहरुमा मात्र पढ्न पाइन्छ । यो पढ्न कतिलाई ऋण गर्नुपर्ने अनि जग्गा बेच्नुपर्ने बाध्यता पनि छ । तर, जेटीए पढ्ने विद्यार्थीलाई कक्षा १० सम्म अलिकति पनि ज्ञान दिने कुरा हाम्रो पाठ्यक्रममा छैन । त्यसैले कृषि र माटोका बारेमा छुट्टै किताब नै पढाउन शुरु गर्नुपर्छ । आधारभूत तहमै पढाउन शुरु गर्दा जेटीए र कृषि विज्ञान विषय पढ्नेलाई निकै सजिलो हुन्छ । त्यसका साथै अहिले कृषि विज्ञान पढ्ने विद्यार्थीले भौतिक, रसायन र जीव विज्ञान पढ्नैपर्ने बाध्यता छ । यी विषयसँगै कक्षा ११ मा अङ्ंग्रेजी र गणित त छँदैछ । कक्षा ११ र १२ मै किन यति ठूला विषय पढ्ने त ? यसलाई अहिले केही अंश मात्र राखेर स्नातक र स्नातकोत्तर तहमा यी विषय राख्दा हुन्छ । यसरी हामी नेपालको कृषिका बारेमा विद्यार्थीलाई पर्याप्त रुपमा ज्ञान दिन सक्छौँ । त्यसमा पनि एसएलसीमा राम्रो अङ्क, अझ विशिष्ट श्रेणी र प्रथम श्रेणीमा पास भए मात्रै कृषि विज्ञान पढ्न सकिन्छ भन्ने भ्रम पैmलाइएको छ । यसैले विषयलाई सहज बनाउन पाठ्यक्रम विकास केन्द्र र शिक्षा मन्त्रालयले काम गर्न जरुरी छ । अहिले सीमित कृषि विज्ञान क्याम्पस विस्तार गर्नु आवश्यक छ । केही ठाउँमा नमुनाका रुपमा कृषि क्याम्पस खोलौँ । सकिन्छ भने हरेक निर्वाचन क्षेत्रमा कृषिका विषयमा पढाइ हुने विद्यालय खोल्न जरुरी छ । कम्तीमा यति भयो भने स्नातक र स्नातकोत्तरका प्रमाणपत्र झोलामा हाल्दै विद्यार्थीले खाडी भासिनुपर्ने स्थिति आउँदैन । उसले जानेको कुरा आफ्नै गाउँघरमा सिक्न सक्छ र अगाडि बढ्न सक्छ । कृषिलाई अहिले पनि तल्लो तहका बेरोजगार मानिसले गर्ने पेशा नभई हामी सबैले वैज्ञानिक र व्यावसायिक पेशाका रुपमा विकास गर्न सक्छौँ । विविधताअनुसार पाठ्यक्रम नेपालको हावापानीमा विविधता छ । फापर, कोदो, जौलगायत अति पौष्टिक आहारको उत्पादन हाम्रो माटोमा हुन्छ । कोदो र फापरको ढिँडो तथा रोटी खान शहर–बजारमा विदेशी पर्यटक होटेल खोज्दै हिँड्छन् । यसलाई शिक्षासँग जोडेर उत्पादन वृद्धि गर्ने हो भने कमाइ र रोजगारीको खाँचो हुँदो रैछ र ? हिमालमा फल्ने कोदो, फापर, जौलगायतका अन्न तराईमा फल्दैन । यो विषयको ज्ञान हिमालकालाई मात्र दिए पुग्छ । त्यसैले हिमाली भेगका मानिस र अझ विद्यार्थी र शिक्षकलाई कोदो, फापर, जौलगायतका बीउ, बाली, यसका विशेषता, लगाउने तरिका, गोडमेल, पानी, समय सबै कुरा भएको पाठ्यक्रम बनाएर हिमाली भेगका विद्यालयमा पढाउनुपर्छ । यसका साथै पशुबाली पनि हिमालमा गर्न सकिन्छ । जस्तोः चौरी, भेडाबाख्रा लगायत । यी जनावरलाई कसरी हुर्काउने, यसका उन्नत जातलाई कसरी आयात गर्ने भन्ने विषयमा विद्यार्थीलाई ज्ञान दिन सकिन्छ । त्यस्तै पहाडी भेगमा प्रायः फलपूmल र पशुबाली हुन्छ । पहाडमा मकै, गहुँसँगै केही ठाउँमा धान र प्रायः फलपूmल बाली पनि हुन्छ । पहाडमा नगदे बाली उत्पादन गर्नलाई त्यसबारे थाहा पाउन कहाँ जाने भन्ने अन्योल अहिले पनि छ । जुम्लाको स्याउले प्रायः राम्रो बजार भाउ नपाएरै कुहेर जान्छ । अनि भारत र चीनबाट आयात गरिएको स्याउ खाएर भएको रुपैयाँ बाहिर पठाउँछौँ । यसका लागि फलपूmल र अन्नबाली तथा पशुबालीको पाठ्यक्रम बनाएर पहाडी भेगका विद्यालयलाई दिनुपर्छ । यस्तै तराईमा धान, मकै र गहुँ प्रशस्तै हुन्छ । यसका साथै नगदे बालीमा उखुलगायत अन्य बाली पनि हुन्छ । तर सिँचाइ, विषयवस्तुको बारेमा पर्याप्त ज्ञान नभएरै हामीले सकेजतिको अन्न उत्पादन गर्न सकेका छैनौँ । त्यसैले तराईमा अन्नबाली र नगदेबालीका बारेमा पाठ्यक्रम बनाएर विद्यालयमै पठनपाठन शुरु गरे हाम्रो उत्पादन बढाउनुका साथै उत्पादकत्व पनि बढ्छ । प्राविधिक जनशक्ति परिचालन नेपालमा सयौँ कृषिविज्ञहरु छन् । यसका साथै कृषि विषय पढेका, बाली विषय पढेका र कृषिमै अनुसन्धान गरेका धेरै वैज्ञानिकहरु छन् तर सबै पलायनको बाटोमा छन् । कृषि अनुसन्धान केन्द्र (नार्क) मै कार्यरत् वैज्ञानिकहरु समेत अहिले पलायनको बाटोमा छन् । दिनहुँ २ हजार नेपाली विदेशिएसँगै कृषिविज्ञ र वैज्ञानिकहरु समेत पलायन भइरहेका छन् । निम्न, मध्यम र उच्च तहका गरी करीब ९० प्रतिशत कृषिविज्ञहरुमा ३० प्रतिशत विज्ञ विदेशतिर गइसकेका छन् भने नेपालमा ६० प्रतिशत विज्ञहरु पनि के गर्ने भनेर रुमल्लिइरहेका छन् । यसलाई सरकारले समयमै रोक्न सक्नुपर्छ । यसका लागि नेपालमा नयाँ मोडलबाट कृषिको विकास र शिक्षा दिन अहिले भएका कृषिविज्ञहरुलाई देशभर खटाउनुपर्छ । त्यो भनेको सङ्घीय संरचनामा देश गइसकेकोले हरेक प्रदेशमा कृषिविज्ञहरु राखेर अनुसन्धान र त्यहाँ हुनसक्ने बाली उत्पादनको सम्भावनालाई अगाडि ल्याउनुपर्छ । सरकारले ल्याएको दीर्घकालीन कृषि योजना कार्यान्वयनमा निकै समस्या देख्छु । कृषिलाई शिक्षा र सम्मानजनक रोजगारीसँग नजोडेसम्म यी सबै कुरा काम नलाग्ने हुन्छ । त्यसैले कृषि पेशालाई पहिला त शिक्षाकै माध्ययमबाट सम्मानजनक, व्यावसायिक र वैज्ञानिक बनाउन सक्नुपर्छ । सरकारले कुनै नीति नल्याएसम्म यो पेशालाई सम्मानजनक ठाउँमा पु¥याउन सकिन्न । कृषि हाम्रो इज्जत हो भन्ने कुराको अनुभूति गराउने नीति ल्याएर विद्यालय शिक्षादेखि नै पढाउन शुरु गर्नुपर्छ । ‘एग्रिकल्चर फर एरिड ट्रपिक्स’ अथवा ‘सुख्खा क्षेत्रका लागि कृषि’ भन्ने विषयलाई हामीले गम्भीर रुपमा योजना बनाएर उत्पादकत्व बढाउन सक्छौँ ।