छैन मावि दरबन्दी
धरान/२०६६ सालमा मावि अनुमति प्राप्त गरेको धरान–२७ स्थित ज्वालामुखी माविले २०६७ मा पहिलोपटक प्रवेशिका परीक्षा (एसएलसी) मा सहभागी हुँदा १९ दशमलव ४८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भए । कूल ४२ जना विद्यार्थीमा उत्तीर्ण यो प्रतिशत अन्य सामुदायिक विद्यालयको भन्दा धेरै माथि हो ।
तर, विद्यालयमा मावि दरबन्दीको अवस्था हेर्ने हो भने दयनीय छ । मावि शिक्षक जम्मा एकजना छन् । त्यो पनि राहतमा । शिक्षा ऐन २०२८ को नियमावली २०५९ लाई आधार मान्ने हो भने पनि मावि अनुमति प्राप्त विद्यालयले चारवटा दरबन्दी प्राप्त गर्नुपर्ने हो । यो प्रावधानअनुसार विद्यालयले नेपाल सरकारमार्पmत् जिल्ला शिक्षा कार्यालयबाट चारजना मावि दरबन्दी शिक्षक पाउनु पर्ने हो । तर, सात वर्ष लागिसक्दा पनि एकै शिक्षकबाट माविको काम चलाइरहनु परेको विद्यालयका प्रधानाध्यापक भरत खत्री बताउँछन् । यस विषयमा सूचना हकको ऐन–२०६४ अनुसार सूचना माग गरेपछि विद्यालयमा मावि दरबन्दी नभएको पत्ता लाग्यो ।
राहतमा भएका एक शिक्षक पनि सामाजिक विषयका छन् । अनिवार्य अन्य विषयका शिक्षकहरु प्रावि र निमावि साथै कर्मचारीले चलाइरहनु परेको छ । यिनै शिक्षकहरुबाटै एसएलसीको नतिजा हरेक वर्ष प्रतिशत वृद्धि मात्रै भएको छैन सामुदायिक विद्यालयबाटै विशिष्ट श्रेणीमा उत्तीर्ण भएको उदाहरण समेत देख्न सकिन्छ । ज्वालामुखीमा पढ्नको लागि धरान–१७ बाट ४५ मिनेट हिँडेर पनि विद्यार्थी पुग्ने गरेका छन् । कक्षा ७ मा अध्ययनरत् धरान–१७ फोकल्याण्ड टापुकी रिया बिक पढाइ राम्रो भएको कारणनै धरानको विद्यालय छाडेर त्यहाँ पढ्न गएको बताउँछिन् ।
उनको भनाइलाई पुष्टी गर्ने आधार हरेक वर्षको एसएलसी नतिजाले पनि प्रष्ट्याउँछ । २०६८ को एसएलसीमा २७ दशमलव ०८, २०६९ मा ३८ दशमलव ९, २०७० मा ४८ दशमलव ९३ र २०७१ मा २९ दशमलव ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ‘दरबन्दी नदिए पनि हामीले विद्यार्थीको पठनपाठनमा कुनै कसर बाँकी राखेका छैनौं’, प्रअ खत्री भन्छन् । खत्री २०७२ को नतिजामा पनि निक्कै आशावादी छन् । हाल ४ सय ४० विद्यार्थी अध्ययन गर्ने ज्वालामुखीमा मात्रै कर्मचारी, पिउन र बालविकास गरी १६ जना शिक्षक छन् । त्यसमध्ये मात्रै २ जना स्थायी छन् भने सबैजसो शिक्षक राहतमा छन् ।
प्राविबाटै काम चलाउदै
मावि अनुमति प्राप्त गरेपनि दरबन्दी नहुँदा अहिले विद्यालयले प्रावि र केही निमावि शिक्षकबाट काम चलाइरहेको छ । विद्यालयले हरेक वर्षको विद्यालय सुधार योजनामा मावि दरबन्दी कायम गराउने भनेर उल्लेख गरेका हुन्छन् । तर, जिशिकाले दरबन्दी नदिँदा विद्यार्थीहरु प्रावि र निमाविका शिक्षकको सहायतामै एसएलसी दिनुपर्ने बाध्यताबाट गुज्रिरहेका छन् । ‘कर्मचारी पनि आपैंm, शिक्षक पनि आपैंm भएर काम चलाइरहेका छौं’, शिक्षक भक्तविलास पोखरेल भन्छन् । उनी पनि प्रावि तहका शिक्षक हुन् । तर, उनले निमावि मात्रै हैन, माविसम्मका विद्यार्थीलाई पढाइरहेका छन् । त्यति मात्रै हैन, उनी कर्मचारीको कामसमेत गरिरहनु परेको बताउँछन् । भन्छन्, ‘कर्मचारीले गणित विषय पढाउने गरेका कारण उनको काम हामीले गरिरहेका छौं ।’ शिक्षक पोखरेलले मात्रै हैन, प्रावि द्वितीयका प्रअ खत्रीले समेत कर्मचारीको काम गरिरहेका छन् ।
छैन चासो जिशिकाको
सुनसरीका कतिपय सामुदायिक विद्यालयमा ८ जनासम्म मावि शिक्षक छन् । जहाँ एउटा मावि शिक्षकलाई २ घण्टी मात्रै पर्ने गरेको छ । तर, ज्वालामुखीले बारम्बार दरबन्दीको लागि पहल गर्दासमेत एउटा शिक्षकसमेत दिन सकेको छैन । ‘ठूलाठालूहरुकै बोलवालाको कारण हामी निरीहभैंm छौं’, प्रअ खत्री भन्छन्, ‘बारम्बार भन्दा पनि सुनुवाई हुँदैन ।’
विद्यालयले राजनीतिक कारणले दरबन्दी पाउन नसकेको हो कि भन्ने लागेपछि क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष निर्वाचित सांसद भीम आचार्यलाई समेत भनिएको थियो । उनले पनि हुन्छ भन्दै टाउको हल्लाइदिएको कारण अहिलेसम्म दरबन्दी त के थप शिक्षक समेत प्राप्त हुन सकेको छैन । जिशिकाले चाहेको खण्डमा दरबन्दी मिलाउन सक्छ । तर, ठालूहरुको मात्रै सुन्ने प्रवृत्तिका कारण पनि सुनसरीको दुर्गममा पर्ने यस्ता विद्यालयमा दरबन्दीमा आउने गरेको छैन ।
जानकारी नै छैन जिशिकालाई
जिल्ला शिक्षा कार्यालय सुनसरीलाई विद्यालयले मावि दरबन्दी माग गरेको विषयमै थाहा नभएको पाइयो । जिशिअ खगेन्द्रप्रसाद सुवेदी भन्छन्, ‘दरबन्दी दिने काम जिशिकाले गर्दैन । शिक्षा समितिले गर्छ । शायद त्यो विद्यालय नयाँ भएर पनि दरबन्दी नपाएको होला ।’
जिशिअ सुवेदीले २०६५ सालदेखि नयाँ मावि दरबन्दी नआएकाले पनि दिन नसकिएको हुनसक्ने अनुमान लगाए । जुन अनुमानबाटै पनि जिशिकालाई ज्वालामुखी माविमा दरबन्दी मागको विषयमा ज्ञान नभएको स्पष्ट हुन्छ । नयाँ दरबन्दी नआएकाले पुराना दरबन्दी भएका विद्यालयबाट काटेर पठाउनु पर्ने भएपनि सबै शिक्षा समितिको क्षेत्राधिकार हुने भएकाले केही गर्न नसक्ने उनी बताउँछन् ।
यता शिक्षा समितिका संयोजक स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले जिशिकाले हालसम्म यस विद्यालयको दरबन्दी बारेमा जानकारी नगराएको बताए । ‘जिशिकाले कम्तीमा यस्तो समस्या छ भनेर ल्याउनु प¥यो नि’ उनी भन्छन्, ‘तर, अहिलेसम्म ल्याएको थाहा छैन ।’