नेपाली गोर्खा सैनिक भन्नेबित्तिकै विश्वभर बहादुर सेनाको रुपमा लिइन्छ । विश्वभर सुरक्षा गार्ड राख्नु परे नेपाली पूर्व सेनालाई नै रोज्ने गरिन्छ । गोर्खाको मान र सम्मान विश्वभर छ । अफगानिस्तानमा अन्तर्राष्ट्रिय समुदाय रहने धेरैजसो स्थानलाई गोर्खा सैनिकबाट पहरेदारी गरिएको छ । दुर्भाग्य ती गोर्खाली चढेको गाडी अफगानिस्तानमा सोमबार बिहान आत्मघाती बम आक्रमणमा प¥यो । १२ नेपालीको ज्यान गयो । यस घटनाले आम नेपालीलाई मर्माहित बनाएको छ । भएको जागिर छाडेर तथा पेन्सन पकाएर धन कमाउन विदेसिएका ती युवामाथि कहालीलाग्दो आततायी आक्रमणले उनीहरुको परिवारमात्र विक्षिप्त बनेको छैन, सिङ्गो मुलुक मर्माहित भएको छ । विश्वभर सुनाम कमाएका गोर्खाहरु नै चढेको गाडीलाई आतङ्ककारीले किन निशाना बनाए भन्ने बारेमा नेपालको पराराष्ट्र मामिला हेर्ने निकाय पनि गम्भीर हुन जरुरी छ । २०६१ भदौ १६ मा इराकमा १२ नेपाली कामदार मारिएपछि सरकारले त्यहाँ जान प्रतिबन्ध लगाएको थियो । तर वैधानिक रूपमा नेपाली कामदार जान रोकिएपनि अवैध बाटोबाट नेपाली जाने क्रम रोकिएको छैन । घटना सेलाएलगत्तै वैदेशिक रोजगार व्यवसायीको दबावमा सरकारले अफगानिस्तानलाई आङ्शिक रूपमा खुल्ला गरेको हो । अफगानिस्तानमा धेरै नेपाली धेरै पारिश्रमिकको लोभमा परेर सुरक्षा गार्डका रुपमा कार्यरत् छन् । उनीहरु सुरक्षित घेरामै रहेर काम गर्दै आएपनि बस्ने र काम गर्ने स्थानमा आउने–जाने बाटोमा सुरक्षा चुनौती छ । व्यवसायीको चर्को दबावमा सरकारले अफगानिस्तानलाई आङ्शिक रूपमा खुल्ला गर्नु राम्रो मान्न सकिँदैन । राज्यले राम्रो अध्ययन नै नगरी जोखिमपूर्ण मुलुकमा कामदार पठाउनुको नियति अहिले देशले भोग्नु प¥यो । आवधिक सूचना लिने, त्यहाँको सुरक्षा स्थिति र नेपाली कामदारको अवस्था बुझ्ने काम सरकारी निकायले कहिल्यै गरेको पाइँदैन । दबावको भरमा निर्णय गर्ने परिपाटीले नेपाली कामदारले समस्या भोग्नुपरेको यथार्थ हो । यस्ता गम्भीर दुर्घटना हुन नदिन सुरक्षाविज्ञबाट विस्तृत अध्ययन गरेर कामदार पठाउन रोक्ने वा खुला राख्ने भन्ने निर्णय सरकारले लिनु पर्छ । कुनै दलाल वा एजेन्टको व्यक्तिगत स्वार्थमा जोखिमपूर्ण क्षेत्रमा नेपाली कामदारलाई जान नदिनु वाञ्छनीय छ ।