भूपेन्द्र तिम्सिना, शनिश्चरे /    खोलाको सतह बढेर बस्ती भन्दा अग्लो भएपछि सतह घटाउन बारम्बार माग गरेका स्थानीयको पीडा सरकारले नसुन्दा मोरङको मधुमल्लाबासी वर्षेनी बाढीको चपेटामा परेर जनधनको क्षति व्यहोर्दै आएका छन् । जव वर्षा लागेर बाढीले क्षति पुर्याउँछ तब मात्र राहत स्वरुप तटबन्धमा हतार हतार केही काम हुन्छ । वर्षा सकिएपछि त्यो कुरा सेलाउने विडम्बना छ । यसबेलाको बाढीले वडा नम्बर ४ को खाँबेझोडाबाट दक्षिणतर्फको धप्पर टोल, मधुमल्ला ५ को माथिल्लो कmadhumalla ma badhiसेनी पूर्व र मधुमल्ला ५ बेतेनी पश्चिमबाट वक्राहा नूनसरी खोलो वस्तीमा पसेर ४, ५, ६, ७ र ८ का २ सय बढी घरपरिवार समस्यामा परेका छन् । १६ परिवारलाई अन्यत्र सारिएको छ भनें ३० वटा वढी घर मानिस बस्न नसकिने अवस्थामा पुगेका छन् । चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बग्दा बग्दै खोलो बस्ती भन्दा अग्लो बनेको छ । चुरेको फेदीको सो वस्तीमा चुरे संरक्षणका हिसावले जिल्ला विकास समितिले खोलाजन्य वस्तु निकाल्न नमिल्ने भएर ठेक्का लगाउने गरेको छैन । जसका कारण चुरेबाट लगातार माटो बगिरहेर खोलाको सतह बढेर ओपेक परियोजनाले बाँधेको माटोको बाँध भत्किदै बस्ती बगाउने स्थानीयलाई लगातार चिन्ता छ । त्यसदक्षिणको उर्लाबारीवासी समेत चिन्तित छन् । सोही अनुरुप केन्द्रमा समेत जानकारी गराएपनि सम्बन्धित निकाको बेवास्ताका कारण यसखाले विपत आएको सो क्षेत्रको खोला तटबन्धमा निरन्तर सक्रिय उर्लाबारीका समाजसेवी मानबहादुर श्रेष्ठको ठहर छ । उनले खोलाको गिट्ी, ढुंगा र बालुवा झिकेर मात्रै खोलाको प्रमुख संकट टार्न सकिने ठहर गर्दै जल उत्पन्न प्रकोप कार्यालय विराटनगर, चुरे समिति, विभाग, मन्त्रालयमा समेत निवेदन दिइएको स्मरण गरे । स्थानीयवासीको तर्फबाट आफ्नो अगुवाईमा ०७१ चैत ३ गते वक्राहा नूनसरी खोलाको ढुंगा, गिट्टी, बालुवा झिकी पाउँ भनेर राष्ट्रपति तराई मधेस चुरे संरक्षण समितिमा निवेदन दर्ता गराएको उनी बताउँछन् । त्यहाँबाट तत्काल चिठ्ठी लेखेर जिल्ला विकास समिति सहितका निकायमा पठाइएको थियो । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला विकास समिति सहितको सरोकारवालाहरुको वैठक बसेर निष्कर्ष निकाली चुरे समितिमा सिफारिस गर्नु भनेर समितिबाट पत्र आएको उनले प्रसंग ल्याए । ‘०७२ चैतताका विभागले चुरे संरक्षणका लागि गुरुयोजना बनाउने भनेर कन्सल्टेन्सी पठायो । उसले खोला र चुरे क्षेत्रको अवलोकन गर्यो । भूँइबाट मात्र नापजाँचमा समस्या भयो, स्याटालाइटबाट गर्नुपर्छ भनेर उ फर्किएपछि अवस्था जस्ताको तस्तै भयो । यस्तो संकटपूर्ण वस्तीको व्यथाप्रति बेवास्ता गर्नु सरकारको कहाँसम्मको लापरवाही हो ?’– श्रेष्ठले आक्रोसपूर्ण दुखेसो पोखे । जतिखेर पनि बाँध फुट्ने अवस्थाबाट मधुमल्ला २ को मलामी टहरादेखि उत्तर दक्षिण, ४ को पुरै, ५ को कसेनी, बेतिनी कत्ले, ६, ७ र ८ पुरै र ९ को चिसोपानी खण्डका समेत गरी करिव ५ हजार परिवार जोखिममा रहेका छन् । सो बाढीले उर्लाबारीलाई पनि जोखिममा पार्नेछ । उनीहरुको जनधनको सुरक्षाका लागि सरकारले खोलाको सतह हटाउन ढुंगा, गिट्टी र बालुवा झिकिहाल्नु पर्ने, व्यवस्थित बाँध बनाउनु पर्ने, बाँध क्षेत्र थप बलियो बनाउन वायोइन्जिनियरिङ प्रविधि स्वरुप विरुवा रोप्नुपर्ने र चुरे क्षेत्रमा माटो बग्नबाट रोक्न त्यहाँ बृक्षारोपण सहितका उपाय अपनाउनु टड्कारो आवश्यकता श्रेष्ठले औंल्याएका छन् । ‘यदि सरकारले तत्काल त्यसो गर्दैन भनें यहाँको प्रभावित वस्ती अन्यत्र सारेर यहाँ बृक्षारोपण गरेर वर्षेनी पीडा बल्झिइरहने वातावरण अन्त्य हुनुपर्छ ।’–उनले अर्काे उपाय जोडे । उता मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राय र स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले भनें आफुहरुले खोलाको सतह घटाउने निर्णय गरेपनि स्थानीयले खोलाजन्य सामग्री ननिकालेको जवाफ दिन्छन् । जिविसबाट ५ लाख रुपैयाँ त्यसका लागि निकासा भएको समेत जिविसका एक कर्मचारीले बताए । ‘जिविसले खोला ठेक्का वापतको रकम वर्षेनी दिने गरेको ५ लाख रकमलाई सतह घटाउन दिएको भनेर भन्नु कतिसम्मको छलछामको कुरा हो ? यहाँ खोलाजन्य वस्तु निकाल्ने निर्णय भएर कोही पनि आएकै छैन ।’– मधुमल्लाका अगुवा बुद्धिलाल निरौलाले जिकिर गरे ‘सरकारी निकायले जे जे भनेर आफु पन्छिन खोजेपनि यहाँका बासिन्दाको हविगत र खोलोको सतह घटाउन सवै तयार रहेको कुरा यहाँ आएर बुझ्दा छर्लङ्ग हुन्छ ।’ उनले सोमबार रातीदेखि ३ ठाउँमध्ये वडा नम्बर ४ को लुङ्गेली टोलमा पसेको खोलो फर्काउन नसकिएको जनाउँदै मधुमल्ला २ को मलामी टहरा र त्यसको पश्चिम र दक्षिणबाट बाँध फुटाउने लागेको जनाए । वडा नम्बर ६ र ८ को सिमाना हिलेडाँगीको मास्तिरबाट ठूलो भाग बनाएर खोलो वस्तीमा छिर्न ठिक्क परेको समेत बताउँदै सम्बन्धि निकायले साँच्चैको चासो नदिने हो भनें उर्लाबारीसम्मका बासिन्दाको उठिवास हुने उनको ठहर छ । वर्षेनी खोलो वस्तीमा पस्ने क्रममा ०७२ असार १५ गते राती ४ नम्बरको शान्ति टोल र ५ को कसेनीबाट बाँध फुटाएर खोलो वस्तीमा पस्दा  १ सय ५० घर परिवार विस्थापित भएका थिए । बाढीले मधुमल्ला ५ स्थित दलबहादुर थापाको घरै बगाउँदा ४ वर्षीय छोरा शिशिरको ज्यान गएको थियो । सो वस्तीभन्दा पूर्वतर्फको बस्तीलाई पिरोलिइरहेको नूनसरी खोलालाई ओपेक परियोजनामार्फत ०५४ देखि ३ वर्ष समय लगाएर पश्चिमको बक्राहामा मिसाउने काम भएको थियो । त्यहाँ माटोको बाँध बाँधिएको थियो । बाँधमा केहीमात्रामा तारजाली लगाइएको थियो । तर निरन्तररुपमा ठूलै योजना आवश्यक पर्ने भएकाले बाँधको व्यवस्थितपनमा समस्या बन्दै गयो । यसबर्ष त्यहाँ बाँस रोप्ने अभियान चलाएपनि खोलो अग्लो भएर बाँध भत्काइ छाड्यो । त्यसबेला व्यवस्थित ड्याम समेत नबनेको र बनाएको ड्याम पनि भत्किदै गएकाले बस्ती जोगाउन समस्या परेको स्थानीय भीमबहादुर खड्काको भनाई छ । बक्राहाको दुबै खोला किनारमा तारजाली सहितको डिल उठाउने भनेपनि कहीँ कहीँमात्र तारजाली लगाएकाले भत्किने ठाँउ सजिलो बनेको उनको ठहर छ । अहिले आएर बक्राहा पहिले नूनसरी खोला भएकै ठाँउमा पस्ने र बस्ती उठाउने अवस्था भएको छ । उनी भन्छन् ‘पहिले यो डिल ८ फिट जति अग्लो थियो, अहिले खोलो यो भन्दा अग्लो भयो । ’ बेलैमा सरकारले तारजाली सहितको व्यवस्थित ड्याम तयार गरी  बालुवा हटाउने उपाय अपनाउन सक्नु पर्छ र मात्र यो बस्ती जोगिन्छ ।’ यसैवीच, वुधबार विराटनगरमा बसेको दैवि प्रकोप उद्धार समितिको अगुवाईको वैठकले बक्राहा नूनसरी खोलाको सतह होचो पार्न केन्द्रीय दैवी प्रकोप उद्धार समितिमा रकम माग गर्ने लगायतको निर्णय भएको मोरङ ९ का सांसद डिगबहादुर लिम्बूले बताए । ‘खोलाको सतह होच्याउने कुरा उठाइरहिएको हो, बजेट अभावले हुन सकेन भन्ने कुरा आयो । त्यही भएर केन्द्रमा पुन माग पहल गरिने भो ।’– उनले भने ।