सरकारले २०६२ सालदेखि राष्ट्रिय धान दिवस मनाउन थालेको छ । मध्य असारलाई ठूलो पर्वको रुपमा कृषकले धानखेतमा पुगी बेठी लगाउने, ठूलो धान रोपाइँ गरेर मनाउने असार १५ लाई सरकारले धान दिवसको रुपमा मनाउँदै आएको छ । गत बुधबार सरकारले धान दिवस मनाएर औपचारिकता पूरा गरेको छ । कृषिमन्त्रीले  गमलामा धान रोपेर धान दिवस  मनाए । कहिल्यै हिलोमा नपस्नेहरुले पनि खेतमा पसेर धान दिवस मनाए । यतिखेर धान दिवस औपचाारिकतामा मात्र सीमित भएको छ । मानो रोपेर मुरी उब्जाउने बेला शहरमा बस्नेहरुले फोटो खिच्नका लागि हिलोमा पस्ने र फेसबुकमा स्टाटस लेखेर प्रफुल्लित हुने शृङ्खला वर्षेनी दोहोरिरहेको छ । मन्त्रीले समेत गमलामा धान रोपेर धान दिवस मनाउनुलाई कृषिमा आधुनिकता र विकासको छनक मान्न देखिँदैन ।  भाषणमा कृषि क्रान्तिको  कुरा गर्ने तर कृषकका जल्दाबल्दा समस्यामा रमिते बन्ने प्रवृत्तिले कृषि उन्नति हुन नसकेको यथार्थ हो । धान दिवस अब औपचारिक कार्यक्रम गरेर होइन, कृषकका सिँचाइ अभाव, बीउबिजनका समस्या टारेर धान दिवसलाई सार्थक बनाउनु अपेक्षित छ । कृषकका समस्याप्रति सरकार जिम्मेवार नबन्दा कृषक निराश बनेका छन् । उनीहरुको निराशालाई समाधान गर्नु आजको आवश्यकता हो । धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको सुनसरी, मोरङ, झापालगायतका क्षेत्रमा सिँचाइको अभावमा पर्याप्त धान रोपाइँ हुन सकेको छैन । मल तथा सिँचाइको अभावमा धान खेती साँघुरिँदै गएको छ । यसतर्पm गमलामा धान रोप्ने कृषिमन्त्रीको ध्यान जानुपर्छ । कृषिमा आधुनिकीकरण गरी उत्पादन बढाउन सरकारले प्याकेज कार्यक्रम ल्याउनुपर्छ । कृषि क्षेत्रमा सरकारको ठोस नीति हुनु वाञ्छनीय छ । दीर्घकालीन कृषि योजना बनाएर धानमा नेपाललाई आत्मनिर्भर बनाउनु  जिम्मेवार निकायले भूमिका निर्वाह गर्नुपर्छ ।