Untitled-2 copyधरान /  भौगर्भिक जाँच र वातावरण परीक्षण विना हुने गरेको विकास निर्माणले पहिरो बढाउँदै लगेको छ । इन्जिनियरिङ भूगर्भविद् डा. रञ्जनकुमार दाहालले १९९३ देखि २०१२ सम्म गरेको अध्ययनमा काठमाडौं(मुग्लिन, तनहँु(गोर्खासम्मको भूभागमा १० हजार भन्दा बढी साना ठूला पहिरोहरु फेला पारेका थिए । त्रिभुवन विश्वविद्यालयको वातावरण केन्द्रीय विभागले एक वर्ष लगाएर भर्खरै मकवानपुरदेखि सप्तरीसम्म १० जिल्लामा गरेको अध्ययनमा ३ हजार ५ सय भन्दा बढी सानाठूला पहिरो फेला पारेका थिए । यही अध्ययनले नै पनि नेपालमा पहिरोको अवस्थाबारे चित्रित गर्छ । भौगर्भिक जाँच, वातावरण परीक्षणको अभाव, जथाभावी वनजंगलको विनास, विकास निर्माण कारण नेपालमा हरेक वर्ष पहिरो जान थालेको विज्ञहरुको निश्कर्ष छ । इन्जिनियर भुगर्भविद् डा. दाहाल भन्छन् ‘मानव सिर्जित कारणले गर्दा नै बढी पहिरो जान्छ ।’ उक्त अध्ययनमा चुरेक्षेत्रमा तीन किसिमका पहिरो पहिचान गरिएको थियो । १ हजार वर्गमिटरसम्मलाई सानो, १ हजारदेखि १० हजार वर्गमिटरसम्मलाई मझौला र १० हजार वर्गमिटरमाथिलाई ठूला पहिरो भनेर पहिचान गरिएको थियो । विगतमा पनि पहिरोको समस्या धेरै नै भएको तर, मिडिया कभरेज र विभिन्न कारणले पछिल्लो समय पहिरो एक हदसम्म बढेको भूगर्भविद् डा. दाहाल बताउँछन् । ‘विगतमा पहिरो जाँदै नजाने भन्ने थिएन् ।’ उनी भन्छन् । पछिल्लो समय विकास निर्माणको नाममा हुने गरेको अस्वस्थ्य प्रतिस्पर्धाले पनि पहिरो बढाइरहेको छ । वातावरण परीक्षण विना हुने गरेको विकास निर्माणको उदाहरण हेर्न धरान(२१ को कन्यापुरदेखि तेलनपुरसम्मको बाटो हेरेपुग्छ । यही कुरालाई मध्यनजर गरेरै होला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २०७२ सालमा पहाडी क्षेत्रहरुमा वातावरणीय अध्ययन नगरी डोजर नचलाउन निर्देशन दिएको थियो । अख्तियारले यो निर्देशन दिनु भन्दा ५ वर्ष अघि नै २२ असार २०६७ मा स्थानीय विकास मन्त्रालयले स्थानीय सडक निर्माण गर्दा जिल्ला यातायातको गुरुयोजना अनुसार वातावरणीय तथा प्राविधिक दृष्टिले उपयुक्त भए मात्र काम गर्नु भनेर निर्देशन दिएको थियो । तर, यी निर्देशनको अवज्ञा हुने गरेको छ । अहिले निर्माण भइरहेको पहाडी ग्रामिण सडकहरुमा यो निर्देशन पूर्ण रुपमा अवज्ञा हुने गरेको छ । जसका कारण पहाडी क्षेत्रहरुमा पहिरो गएको उदाहरणहरु प्रसस्तै भेट्न सकिन्छ । पहिरोको विभिन्न कारणहरु मध्ये परम्परागत खेति प्रणालीलाई बिर्सेर नयाँ तरिकाले खेतिपाति हुन थालेको छ । जसको कारण पहाडी क्षेत्रमा त्यसको प्रत्यक्ष असर पर्न थालेको विज्ञहरु बताउँछन् । ‘गाउँघरमा खेति गर्ने परम्परा जुन थियो । अहिले त्यो परिवर्तन भएको छ । बाउबाजेले भिरालो क्षेत्रमा कोदो लगाउने चलन थियो । पछिल्ला दिनमा पानी लगाएर खेति गर्ने प्रक्रिया सुरु गर्यौं ।’ डा. दाहाल भन्छन् । अहिले हरेकदिनजसो पहिरो जाने गरेको समाचारहरु आउन थालेका छन् । यसको केही कारण मध्ये १२ बैसाख २०७२ को विनासकारी भूकम्प पनि एक मान्छन् विज्ञहरु । ‘भूकम्पको कारण हल्लिइराखेको हुन्छ । र, त्यो ठाउँमा पानी परेपछि पहिरो जान थाल्छ ।’ अर्का भूगर्भविद् ललितकुमार राई भन्छन् । राईका अनुसार सुख्खा माटोमा पानीले भिजेपछि ‘वेट’ बढ्ने बित्तिकै एकआसपमा टाँसिएको बसेको माटोमा पानीले लुब्रिकेन्टको काम गर्ने गरेको छ । जसले गर्दा पहिरो जान्छ । पहिरो विज्ञहरुका अनुसार नेपालमा हालसम्म १७ हजार भन्दा बढी साना ठूला पहिरो गइसकेको दाबी गरेका छन् । चुरे क्षेत्रमा हुने वन विनासले गर्दासमेत पहिरो जाने गरेको छ । चुरे क्षेत्रको भूबनौटसमेत कमजोर र कान्छो पहाड भएकाले पनि पानी पर्ने बित्तिकै जथाभावी रुपमा पहिरो जान थाल्ने विज्ञहरु बताउँछन् । बाढीपहिरो विज्ञ बसन्तराज अधिकारीले केही दिन अघि एक कार्यक्रममा नेपाल बाढी पहिरोको उच्च जोखिममा रहेको बताएका थिए । उनले भनेका थिए ‘’पहाडी क्षेत्रमा सडक निर्माण गर्दा भौगर्भिक जाँच नगरिकनै गरिएको, प्राय धेरै बस्तीहरु भीरपाखामा हुने भएकाले पहिरोले नोक्सान गर्ने सक्ने सम्भावना धेरै छ ।’ पहिरो रोक्न यसो गर्न सकिन्छ ठूला या साना पहिरोहरुलाई रोक्नको लागि १९८० को दशकमा व्रिटिस इन्जिनियरहरुले धरान(धनकुटाको सडकबाट सिकाएको बायो इन्जिनियरिङ प्रविधि प्रयोग गरी पहिरो व्यवस्थापन गर्न सकिने कुरा भूगर्भविद् डा. दाहाल बताउँछन् । बायो इन्जिनियरिङ भनेको साधारण भूक्षय र पातलो पत्र भएको माटोको ठाउँमा हुने साना पहिरोहरु रोकथाम गर्न रुखविरुवा र स सना टेवा पर्खाल र गेवियन पर्खाल प्रयोग गरिने सस्तो पहिरो रोकथाम प्रविधि हो । ‘अम्रिसोहरु, बाँसहरु रोप्न सकेमा पहिरो रोकथाममा केही टेवा पुग्छ ।’ भूगर्भविद् राई थप्छन् ‘यो बायो इन्जिनियरिङ प्रविधि अन्तर्गत पर्छ । पहिरो व्यवस्थापन गर्नको लागि यो भन्दा अर्को सस्तो बिकल्प हुन नसक्ने उनको तर्क छ । र, पहाडी क्षेत्रहरुमा बाटो, सडक निर्माण गर्दा भौगर्भिक जाँच, वातावरणको अध्ययन एकदमै जरुरी छ । अन्यथा पहिरो जानबाट कसैले पनि रोक्न नसक्ने तर्क विज्ञहरुको छ । बायो इन्जिनियरिङ प्रयोग गरेर सन् २००० मा जान थालेको कृष्णभीरको पहिरोलाई सन् २००७ मा रोकथाम गरिएको थियो । तर, बायो इन्जिनियरिङलाई निरन्तर फलो गर्न नसकेमा त्यसले प्रभावकारी रुपमा काम गर्न नसक्ने तर्क विज्ञहरुको छ ।